PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतले लगायो म्याक्स ७३७ मोडेलको बोइङ विमानमा रोक, नेपालमा असर पर्ने



भारतले लगायो म्याक्स ७३७ मोडेलको बोइङ विमानमा रोक, नेपालमा असर पर्ने
फोटो:GETTY IMAGE

नयाँ दिल्ली : भारतले म्याक्स ७३७ मोडेलको बोइङ विमान उडाउन प्रतिबन्ध लगाएको छ।

आइतबार इथियोपियाबाट केन्याको नैरोबीका लागि उडेको इथियोपियन एयरलाईन्सको म्याक्स ७३७ मोडेलको बोइङ विमान उडेको केही मिनेटमै दुर्घटना भएको थियो। दुर्घटनामा विमानमा सवार एक नेपाली सहित १५७ जनाकै मृत्यु भएको थियो।

विमानमा ३५ देशका नागरिकहरु सवार थिए भने केहीले संयुक्त राष्ट्रसंघको राहदानी प्रयोग गरेका थिए।

मंगलवार राती बसेको भारतीय वायु सेवा निगमको आकस्मिक बैठकले भारतीय एयरलाइन्स कम्पनीहरुले प्रयोग गरिआएको म्याक्स ७३७ मोडेलको बोइङ विमान 'ग्राउन्डेड' गर्ने निर्णय गरेको बताइएको छ। आइतबार भएको दुर्घटनामा मृत्यु हुनेमा चार भारतीय समेत थिए।

भारतीय समय अनुसार आज दिउँसो ४ बजे सम्म सबै म्याक्स बोइङ विमान ग्राउन्डेड गराइनेछ। भारतको स्पाइस जेटसँग सो मोडेलका १२ विमान रहेको भने जेट एयरसँग ५ विमान रहेको छ।

यात्रु र विमान चालकदलका सदस्यहरुको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको भन्दै भारतले बोइङ विमान ग्राउन्डेड गर्ने निर्णय गरेको हो।

भारतले विमानमा प्रतिबन्ध लगाएसँगै नेपालमा समेत त्यस निर्णयले असर पर्ने बताइएको छ। 

२०१७ बाट व्यवसायिक उडान सुरु गरेको उक्त अमेरिकी बोइङ विमान पाँच महिनामा दुईपटक दुर्घटनामा भएपछि सो मोडेलको विमानको सुरक्षालाई लिएर प्रश्न उठेको हो।

सिंगापुर,चीन इथियोपिया, इन्डोनेसिया, बेलायत, आयरल्यान्ड,जर्मनी , केमन टापुको केमन एयरलाइन्स लगायतले पनि वोइङ ७३७ म्याक्स ८ विमानको उडान रोकेको छ।

विश्वभर सो मोडेलको ३५० विमानहरुले व्यवसायिक उडान गरिरहेको छ। बोइङले उक्त विमानहरु गत वर्षमात्रै निर्माण गरि बेच्न थालेको थियो।

तर निर्माण भएको एक वर्षभित्र सोही मोडेलका दुई विमान दुर्घटना भएपछि बोइङलाई ठूलो धक्का लागेको छ।

पछिल्लो पाँच महिनामा ७३७ म्याक्स ८ मोडेलको विमान दुईपटक दुर्घटना भइसकेको छ। गत अक्टोबरमा लायन्स एयरको सोही मोडेलको विमान दुर्घटना भएको थियो। दुर्घटनामा विमानमा सवार १८९ जनाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell