PahiloPost

Jun 27, 2019 | १२ असार २०७६


रानीपोखरी पुनर्निर्माण: काठमाडौँ महानगरपालिका 'निकम्मा' साबित भएपछि भक्तपुरको हातमा आएको जिम्मेवारी


सहयोग रञ्जित

रानीपोखरी पुनर्निर्माण: काठमाडौँ महानगरपालिका 'निकम्मा' साबित भएपछि भक्तपुरको हातमा आएको जिम्मेवारी

भक्तपुर वडा नम्बर १ भारभाच्वका महिलालाई हतारहतार बिहानको काम सकाएर १० बजेसम्म काठमाडौँ पुग्न पर्ने हतारो छ। शिवरात्रीका दिनदेखि दैनिक रूपमा उनीहरूको भक्तपुर - काठमाडौँ यात्रा सुरु भएकाले बिहानदेखि भ्याइ–नभ्याई हुन थालेको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावमा भक्तपुर नगरपालिकाले उनीहरूलाई विशेष काम दिएको छ। त्यो हो, काठमाडौँको रानीपोखरी (न्हू पुखु) पुनर्निर्माणमा सहयोग गर्ने।

पहिलो दिन उनीहरूले रानीपोखरीमा रहेका झारपात जलाएका थिए। अहिले उनीहरू रानीपोखरीको वरिपरि रहेका माअप्पा (पातलो इट्टा) ले बनेका पर्खालहरूमा उम्रेका घाँस काट्न व्यस्त छन्। माटो पन्छयाउँदै छन्। पानी निकास हुने स्थान पनि पत्ता लगाउँदैछन्।

भक्तपुरका पोखरीहरुमा पानी जम्मा गर्न सिपालु यी महिलाहरू अहिले रानीपोखरी ब्युताउँने महत्त्वपूर्ण जिम्मेवारी काँधमा लिएर काममा जुटेका हुन्।

'सफा नगरी काम सुरु गर्न मिल्दैन। पहिला जसरी बनाइएको थियो त्यसरी नै पोखरी निर्माण गर्ने हो,' भक्तपुर भारभाच्वकी ५० वर्षीया सरस्वती भैलले रानीपोखरीमा उम्रेका झारपात र माटो हटाउँदै भनिन्। उनका अनुसार अहिले पुरानो पर्खालको स्वरूप पहिचान गर्ने काम भइरहेको छ। उनीसँगै काम गर्दैछन् भारभाच्वकै ३० देखि ५० वर्ष उमेरका करिब ४० महिला।

सबैको एउटै उद्देश्य- भक्तपुरको भाजु पुखु (भाज्या पोखरी) सँगै काठमाडौँको रानीपोखरी निर्माण गर्ने।

रानीपोखरी पुनर्निर्माणमा भक्तपुरबाट टोलीको नेतृत्व भने कृष्णप्रसाद दुमरुले गरिरहेका छन्।

२०५७/५८ सालदेखि भक्तपुरको भाजु पुखु निर्माणमा सक्रिय रहेका दुमरु भाजु पुखु जिर्णोद्धार र पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत हुन्। उनलाई अजय स्थापितले नेतृत्व गरेको रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले सहयोग गरिरहेको छ।

भक्तपुरको भाजु पुखु, सिद्ध पोखरी लगायतका पोखरीमा काम गर्दा सफल रूपमा पानी अड्याउन सिपालु भइसकेका उनीहरू आखिर कसरी आइपुगे त रानीपोखरी पुनर्निर्माण गर्न?

 

सेनाको प्रवेश रोक्न भक्तपुरको अगुवाइ

२०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण काठमाडौँको रानीपोखरीबीचमा रहेको मन्दिर भत्कियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ माघ २ गते रानीपोखरी पुनर्निमार्णका लागि शिलान्यास गरिन्। तर, रानीपोखरी पुनर्निर्माणले फिटिक्कै गति लिन सकेन।

कहिले रानीपोखरीमा 'क्याफे' बनाउने चर्चा चल्यो त कहिले रानीपोखरीमा 'कंक्रिटका संरचना' बनाइएको खबर सार्वजनिक भयो। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठबीचको द्वन्द्व पोखरीको अवस्था जस्तै सार्वजनिक भयो। रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौँ महानगरपालिका र सरकार रानीपोखरी घाँसे मैदान बन्दासम्म मौन रहे।

गत साउन महिनाको सुरुवातमा रानीपोखरीको पुनर्निर्माण गर्ने जिम्मेवारी एकाएक नेपाली सेनालाई दिने समाचार बाहिरियो।

सेनालाई पुनर्निर्माणको जिम्मेवारी दिने खबर बाहिरिएसँगै त्यसको कडा विरोध भयो।  

यसैबीच, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साउन १३ मा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकाका मेयरहरुलाई बोलाई संयुक्त बैठक गरे।

बैठकले काठमाडौं उपत्यकामा अवस्थित पुरातात्विक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका संरचनाहरु पुनर्निर्माणमा जनसहभागिता जुटाइ गर्ने निर्णय गर्‍यो। त्यही बैठकले सम्पदाहरुको पुनर्निर्माण गर्दा ऐतिहासिक प्रमाणहरु अध्ययन गर्दै परम्परागत शैलीमा नै पुनर्निर्माण गर्ने निर्णय गर्‍यो।

नगर प्रमुखहरुलाई बोलाएर सम्पदा पुनर्निर्माणका सम्बन्धमा जनसहभागितलाई प्राथमिकता दिने भक्तपुर नगरपालिकाले सुरु गरेको अगुवाइ अन्तत: काम लाग्यो। काठमाडौं महानगरपालिकाले रानीपोखरीको पुनर्निमार्णको जिम्मेवारी सेनालाई नदिने भयो।

भक्तपुरका मेयर सुनिल प्रजापति भन्छन्, 'हाम्रो सम्पदाहरुको पुनर्निर्माण गर्ने काम सेना वा ठेकेदारलाई दियो भने हाम्रो औचित्य नै समाप्त हुन्छ। त्यसैले मेयरहरुलाई बोलाएर ऐतिहासिक प्रमाण संकलन गरी जनताको सहभागितामा पुनर्निर्माणको काम गरौं भनेर भनेका थियौं।'

त्यसपछि रानीपोखरी पुनर्निर्माणका धेरै प्रयास भए। तर, त्यसले मूर्तरुप लिन सकेन। अनि शहरको मध्य भागमा रहेको रानीपोखरी पुनर्निर्माण सबैभन्दा जटिल मुद्दा बनिरह्यो।

यसैबीच सरकारले माघ १४ गते काठमाडौं महानगरपालिकालाई दिएको रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सुम्पियो।

प्राधिकरणलाई अधिकार दिए पनि काष्ठमण्डप पुनर्निर्माणको जस्तै 'उपभोक्ता मोडेल'मा जाने कि ठेक्का दिएर रानीपोखरी पुनर्निर्माण गर्ने भन्ने प्रश्न खडा भयो।

अन्तत: प्राधिकरणले चरणवद्ध रुपमा रानीपोखरी पुनर्निर्माण गर्ने तयारी गर्‍यो।  

'प्राधिकरण रानीपोखरी बनाउने विषयमा फेरि विवाद खडा गर्न चाहँदैन। स्थानीय तहले आफ्नो मातहतमा रहेको सम्पदा निर्माण गरोस् भन्ने हाम्रो इच्छा थियो। तर, त्यसो भएन। भक्तपुरले पहिलाका पोखरीहरु ब्युताउँने प्रयास गरिरहेको छ। परम्परागत शैलीमा रानीपोखरीमा पानी अड्याउने काममा उनीहरुमा निहीत दक्षतालाई प्रयोग गर्दै रानीपोखरी पुनर्निर्माणमा सहयोग गर्न भक्तपुर नगरपालिकासँग सहकार्य गर्न प्रस्ताव गर्‍यौं,' राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले भने।

काठमाडौँका ६० जनालाई पानी जम्मा गर्ने शैलीको तालिम दिएर भक्तपुरका ४० जनासँगै करिब १०० जना लगाएर रानीपोखरीको काम अघि बढाउने तयारी प्राधिकरणले गरिरहेको समेत उनले बताए। यसले पोखरी बनाउने शिल्पीको संख्या पनि बढाउने छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भाजु पुखु निर्माणको अवस्थाबारे स्थलगत अवलोकन समेत गरेका थिए। भाजु पुखु निर्माण गरिरहेको भक्तपुर नगरपालिकालाई रानीपोखरी पुनर्निर्माणमा सहयोग गर्न ज्ञवाली आफैँले प्रस्ताव गरेका थिए।

हाल नेपाल भरी बन्दै गरेका ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माणमा भक्तपुरको सक्रिय सहभागिता छ। रानीपोखरी सेनालाई दिने निर्णय हुँदा सचेत भएको भक्तपुर नगरपालिका रानीपोखरी पुनर्निर्माणमा आफै सहभागी हुने अवसर किन गुमाउथ्यो र?

यसै पनि, धेरै मानिसलाई भक्तपुरमा समेत रानीपोखरी रहेको थाहा छैन। हाल सो पोखरी सेनाको नियन्त्रणमा छ। नगरपालिकाले सेनासँग सहकार्य गर्दै सर्वसाधरणका लागि पोखरी खुल्ला गराउने प्रयास अहिले पनि गरिरहेको छ।

भक्तपुरको रानीपोखरी काठमाडौंको भन्दा ४० वर्ष अघि बनेको बताइन्छ। 

आफ्नै रानीपोखरी खुल्ला गर्न संघर्ष गरिरहेको नगरपालिका प्रमुख प्रजापतिले ज्ञवालीको प्रस्ताव सहर्ष स्वीकारे।

काठमाडौंको रानीपोखरी सबै नेपालीको साझा पोखरी भन्दै भक्तपुरले सहयोग गर्न पाउँदा सबै भक्तपुरवासीले गर्व महसुस गरेको उनले बताए। भने, 'काठमाडौंको रानीपोखरी भक्तपुरको पनि सम्पत्ति हो। हामी इमान्दारितापूर्वक काम गर्छौं। सक्दो जनशक्ति उपलब्ध गराएर रानीपोखरी पुनर्निर्माणमा सहयोग गर्छौं। अनुशासित र व्यवस्थित तरिकाले रानीपोखरी पुनर्निर्माणमा सघाउँछौं।'

उनले चाहिएको खण्डमा मन्दिर र पुल पुनर्निर्माणमा सहयोग गर्न नगरपालिका तयार रहेको बताए।

उनले यसो भन्नुमा एउटा संयोग छ। त्यो हो भाजु पुखु र रानीपोखरीको बनावटको शैली।

प्रताप मल्लले वि सं १७२७ मा आफ्नो छोरा चक्रवतेन्द्रको मृत्युपछि आफ्नी रानीको मन बुझाउन बनाएको भनिएको रानीपोखरी र भक्तपुरको भाजु पुखु एकै पटक बन्दै गर्दा र भक्तपुरको मानिसहरु रानीपोखरीको पुनर्निर्माणमा सहभागी हुँदा इतिहासका पानाहरु फेरि पल्टिए।

 

रानीपोखरी र भाजु पुखुको कनेक्सन

काठमाडौँ उपत्यकाभित्र मल्लकालमा धेरै सम्पदाहरुको निर्माण भए। आफ्नै दाजुभाइबीच राजनीतिक मात्र नभइ कला, संस्कृति र सम्पदा निर्माणमा समेत प्रतिस्पर्धा थियो। त्यही प्रतिस्पर्धाका आधारमा नेपाल मण्डल सभ्यता विकास भएको बताउँछन् संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ।

प्रताप मल्लले काठमाडौँमा निर्माण गरेको रानीपोखरी र भक्तपुरमा बनेको भाजु पुखु त्यही प्रतिस्पर्धाको उपज रहेको उनको तर्क छ। पाटनमा रहेको पिम्बहा: पुखु पनि यसैको उदाहरण हो।

पहिला रानीपोखरीको अनुकरण गर्दै भक्तपुरमा भाजु पुखु निर्माण भएको विश्वास गरिएको थियो। तर, उत्खननका क्रममा रानीपोखरी भन्दा भाजु पुखु ५०० वर्ष पुरानो भएको फेला परेको बताउँछन् श्रेष्ठ।

'प्रताप मल्लले भक्तपुर आक्रमण गर्दा यहाँका पोखरीहरु भत्काएका थिए। भक्तपुरको रानीपोखरीमा क्षति पुर्‍याउने उनी नै थिए। त्यसमा सायद भाजु पुखु समेत थियो। पछि उनैले काठमाडौंमा भाजु पुखुको नक्कल गर्दै रानीपोखरी बनाए,' उनले भने।

भक्तपुरमा निर्माण हुँदै गरेको भाजु पुखु

मल्ल कालमा राजापछि सबैभन्दा शक्तिशाली हुन्थे प्रधानमन्त्री कायस्थहरु। तिनै कायस्थहरु मध्ये भाजु कायस्थले बनाएको पोखरी हुँदा त्यसको नाम भाजु पुखु रहन गएको श्रेष्ठको दावी छ। १७३८ सालमा गएको भूकम्पमा भाजु पुखुमा रहेको जलेश्वर मन्दिर पनि भत्किएको हुन सक्ने उनी बताउँछन्।

यस्तै १२ औं शताब्दीमा बनेको भाजु पुखुको अर्को किम्बदन्ती पनि रहेको छ।

रानीपोखरी पुनर्निर्माणमा भक्तपुरबाट अगुवाइ गरिरहेका कृष्ण प्रसाद दुमरु भाजु पुखु एक रातमा बनेको कथन सुनाउँछन्। बीचमा रहेको थुम्का खन्न नसकेर पोखरी निर्माण अलपत्र रहेको उनको तर्क छ। तर, त्यसको आधार भने प्राप्त भएको छैन। यसो त सिद्ध पोखरीको पानी बढी भएर पानी संचय गर्न भाजु पुखुको निर्माण भएको किम्बदन्ती पनि छ।

२०५७/५८ सालमा नै भाजु पुखुको जिर्णोद्धार सुरु भएको थियो। तर, त्यसपछि जनप्रतिनिधि नहुँदा काम हुन सकेन। एक वर्ष अघि स्थानीय सरकार बनेपछि पुन: भाजु पुखु ब्युताउने प्रयास सुरु भएको नगर प्रमुख प्रजापति बताउँछन्।  

भाजु पुखुको बीच भागमा उत्खनन् गरिँदै

त्यसका लागि दुमरुको नेतृत्वमा उपभोक्ता समिति समेत गठन गरियो। उत्खनन् गर्दै जाँदा बीच भागमा बुट्टेदार इट्टा भेटियो। त्यसैले एकै रातमा पोखरी बनेको कुरा कथनमात्रै रहेको दुमरु बताउँछन्।

'भाजु पुखु अनुसन्धानको विषय हो। त्यसैले गत वर्ष नै हामीले यहाँ कालो माटो बिछयाइ सकेका थियौं। त्यसपछि पानी रहन्छ कि रहँदैन भन्ने परीक्षण गर्‍यौं। सिद्ध पोखरी र भाजु पुखुमा पानीको सतह परीक्षण गरेको आधारमा पानी जम्मा हुने निधो भयो,' उनले भने।

पुखुमा पानी जम्मा हुने निश्चित भएपछि ५ महिना अघिदेखि भाजु पुखु निर्माणले थप गति लिएको थियो। हाल पुखुमा पुल बनिसकेको छ।

रानीपोखरीमा जस्तै दैनिक करिब ४० जना स्थानीय भाजु पुखुमा पनि काम गर्दैछन्। पुखुको बीच भागमा उत्खनन् गर्दै पुराना अवशेषहरुको पहिचान गर्दैछन्।

बीचमा रहेको थुम्को उत्खनन् गर्दै जाँदा पुरानो शैलीमा निर्मित जग समेत फेला परेको छ। त्यस्तै मन्दिरको आकार समेत फेला परेको छ।

भाजु पुखुको बीचमा भेटिएको काठ

दुमरु भन्छन्, 'भाजु पुखुको बीचमा भूकम्प प्रतिरोधात्मक रूपमा राखिएको काठ पाइयो। बुट्टेदार इट्टामा 'बो सल्ला' (उड्ने घोडा) कुँदिएको पाइयो। 'बो सल्ला' शिखर शैलीमा बनेको मन्दिर भित्र प्रवेश गर्ने ढोकामा राख्ने चलन छ। यसैबाट त्यहाँ शिखर शैलीमा मन्दिर रहेको पुष्टि हुन्छ।'

भाजु पुखु निर्माणको क्रममा पहिला 'शिखर शैलीको मन्दिरमा चारैतिर बुर्जा' रहेको अनुमान गरिएको थियो। तर, पछि पश्चिमबाट पूर्व हुँदै भित्र जाने स्थानमा मात्रै 'बुर्जा' रहेको तथ्य फेला परेको बताउँछन् दुमरु।

काठमाडौंको रानीपोखरीमा बन्ने मन्दिरको शैली पनि अब ग्रन्थकुट (शिखर) शैलीमा नै बन्दैछ। पहिलाको रानीपोखरी भन्दा पृथक।

१९९० सालमा गएको भूकम्पमा रानीपोखरीमा क्षति पुग्यो। पछि जुद्ध शमशेरले त्यसको जिर्णोद्धार गरेको रानीपोखरीको जग उत्खनन् गर्दा मन्दिरमुनिका भर्‍याङमा फेला परेको 'श्री ३ जुद्ध १९९१' कुँदिएका इट्टाहरुले प्रस्ट पार्छ।

जुद्ध शम्शेरले गुम्बज शैलीमा रानीपोखरी पुनर्निर्माण गरेका थिए। काठमाडौं महानगरपालिकाले गुम्बज शैलीमा मन्दिर बनाउने भएपछि त्यसको विरोध भएको थियो।

प्रमुख प्रजापति भन्छन्, 'पर्सियाका राजकुमार वाल्डेमरले नेपाल भ्रमण गर्दा बनाइएको रानीपोखरीको चित्रले वास्तविक रानीपोखरीको चित्रण गर्छ। पुरानो प्रमाण नभेटिएको भए विवाद नै हुँदैन थियो। तर, प्रमाण भएसँगै पुरानै शैलीमा बनाउँदा राम्रो। हामीले उहाँहरुलाई यसबारे जानकारी गरेका छौं।'

देशको सम्पदाले इतिहास बोकेको हुन्छ भन्दै उनले हाल देशमा धेरै नारा सुनेको तर नयाँ पुस्तालाई के दियौं भनेर नसोचिरहेका बताए। भने, 'धरहरा पुनर्निर्माण होइन नव निर्माण भइरहेको छ। एउटा स्थानमा भएको सम्पदालाई अन्तै बनाउनुलाई पुनर्निर्माण भन्न मिल्दैन। इतिहास र सम्पदा जोगाउने हो भने जस्ताको त्यस्तै पुनर्निर्माण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ। सम्पदाको ज्ञान नै नभएकाहरुले पुनर्निर्माण गर्दा सम्पदाको महत्व घट्न सक्छ। भक्तपुर त्यसप्रति जहिल्यै सचेत रहन्छ।'

पुनर्निर्माण प्राधिकरणले ग्रन्थकुट (शिखर) शैलीमा नै मन्दिर पुनर्निर्माण गर्ने निर्णय गरिसकेको छ। मन्दिर र पुलको काम भने ठेक्का मार्फत् गरिने बताइएको छ। भक्तपुरबाट आएकाहरुले हाल पर्खाल निर्माण, पहिचान र पोखरीमा पानी जम्मा गर्ने काम गर्नेछन्। 

बालुवा, सुर्की र चुनाको प्रयोग गरी मसला तयार गरिँदै

रानीपोखरीको बीचमा रहेको बाल गोपालेश्वर मन्दिरको निर्माणमा आधुनिक सामाग्रीको प्रयोग गरिने छैन। पानी अड्याउन पुरानै शैलीमा कालो माटो बिछयाइनेछ भने माटो, बालुवा, सुर्की र चुनाको प्रयोग गरी मन्दिर र पुल निर्माण हुनेछ।

रानीपोखरीमा पानी कहाँबाट अड्याउने भन्ने विषयमा विवाद भने कायमै छ। पहिला सातवटा ढुंगेधाराबाट रानीपोखरीमा पानी पठाउने गरिएको कथन छ। भोटाहिटी सब वे उत्खनन् गर्दा भेटिएको ढुंगेधाराले त्यस कथनलाई प्रमाणित गर्छ। यस विषयमा अनुसन्धान हुनै बाँकी छ।

अहिले भने प्राधिकरणले रानीपोखरीमा पानी भर्न 'बोरिङ गरेर पानी राख्ने' वा 'मेलम्चीको एउटा लाइनबाट पानी ल्याउने' विषयमा छलफल गरिरहेको छ। तर, मेलम्ची वा बोरिङबाट नभइ प्राकृतिक रुपमा नै पानी जम्मा गर्ने प्रविधिबारे अनुसन्धान गर्न सम्पदाविद्हरुले जोड दिँदै आएका छन्।

हाल रानीपोखरीका केही भागमा स्वत: पानी रसाइरहेको पनि देख्न सकिन्छ।

दुमरुका अनुसार पोखरीको उत्तर भागमा प्राकृतिक रुपमै पानी जम्मा भइरहेको छ। यस्तै उत्खनन् गरिएको क्षेत्रमा पानी रसाइरहेको देख्न सकिन्छ। यसबारे अनुसन्धान गर्न सके प्राकृतिक रुपमा तुलनात्मक रुपमा पानी जम्मा गर्न सक्ने उनी बताउँछन्।

प्राधिकरणले अर्को वर्षको भाइटिकासम्म रानीपोखरी पुनर्निमाण सकाउने लक्ष्य लिएको छ। भाजु पुखुको निर्माण पनि चाँडै सकाउने नगरपालिकाको योजना छ।

एउटै शैलीमा बन्ने भए पनि काठमाडौं र भक्तपुरमा बन्दै गरेको प्रतिस्पर्धाका प्रतीक पोखरीमा केही भिन्न्ता रहनेछ।

रानीपोखरीको अवस्थाबारे जानकारी दिँदै कृष्णप्रसाद दुमरु

आकारमा भक्तपुरको भाजु पुखु काठमाडौंको रानीपोखरीभन्दा सानो छ। तर, भाजु पुखुको संरचनामा केही विशेषता छ।

दुमरुका अनुसार 'भाजु पुखुमा उत्तर हेरेर पुलबाट भित्र आउने हो। तर, मन्दिरको बनोट भने पूर्व हेरेर भित्र जाने रहेको छ। रानीपोखरीमा यो विशेषता छैन। रानीपोखरी प्रवेश गर्न र मन्दिर प्रवेश गर्न एउटै दिशा अर्थात् पूर्वको बाटो प्रयोग हुन्छ।'

पुनर्निर्माणमा सबैभन्दा विवादित र समस्याबाट गुज्रिएको रानी पोखरीमा पानी भरिने अवस्था आउन अझै समय लाग्छ। तर, चौरमा परिणत भइसकेको पोखरी बन्नका लागि केही आधार भने तय भएको छ। कामै नभइ अलपत्र परेको ठाउँमा काम गर्नेहरुको भिडले भने आशाको सञ्चार गराएको छ। आशा गरौं - रानीपोखरीले छिट्टै स्वरुप लेवस्।



रानीपोखरी पुनर्निर्माण: काठमाडौँ महानगरपालिका 'निकम्मा' साबित भएपछि भक्तपुरको हातमा आएको जिम्मेवारी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट