PahiloPost

Sep 19, 2019 | २ असोज २०७६


ह्योल्मो पहिचान झल्काउने 'नाम्ग्याल घोसुम' ब्युताउँदै हेलम्बुमा उठ्यो तेम्बाथाङ एकीकृत बस्ती


सहयोग रञ्जित

ह्योल्मो पहिचान झल्काउने 'नाम्ग्याल घोसुम' ब्युताउँदै हेलम्बुमा उठ्यो तेम्बाथाङ एकीकृत बस्ती

२०७२ बैशाख १२ गतेको भूकम्पले हेलम्बुको तेम्बाथाङका घर पनि सबै भत्किए। घर भत्किएपछि जेनतेन जस्तापाताको छाप्रो बनाएर बस्न बाध्य भए त्यहाँका स्थानीय।

नयाँ घर नबनाई नहुने बाध्यता। तर आर्थिक अवस्था कमजोर।

सरकारले दिने भनिएको तीन लाख रुपैयाँ घर बनाउन आवश्यक सामग्री ढुवानीलाई नै नपुग्ने देखियो। अझ मुख्य समस्या थातथलोमा पुन: घर बनाउन जोखिम थियो।

धुर्मुस सुन्तलीले एकीकृत बस्ती बसालेको खबर सुनिन थालियो। तेम्बाथाङका स्थानीयले पनि छरिएर रहेका घरलाई एकीकृत गर्दै नमूना एकीकृत बस्ती बसाल्ने योजना बनाए। त्यसपछि, सिङगे लामाको नेतृत्वमा तेम्बाथाङ एकीकृत बस्ती विकास केन्द्र स्थापना भयो।

केन्द्रले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा एकीकृत बस्ती निर्माणका लागि प्रस्ताव गर्‍यो। एक वर्ष स्थानीयहरुले आफ्नै पहलमा बस्ती बसाल्न प्रयासहरु गरे। प्राधिकरण र स्थानीयहरुबीच छलफल चल्दै गर्दा अक्सफाम र जनहित ग्रामीण सेवा समितिले एकीकृत बस्तीको प्रस्तावबारे थाहा पाए।

भौगोलिक अवस्था जटिल। मौसमको चुनौती उस्तै। तैपनि ती संस्थाहरुले तेम्बाथाङमा एकीकृत बस्ती बसाल्न सहयोग गर्ने निधो गरे।

२०७४ माघ २५ गते एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु भयो। 

**

एक वर्षअघि सुरु भएको एकीकृत बस्ती निर्माण सम्पन्न हुने संघारमा रहँदा हामी केही दिन अघि तेम्बाथाङ पुग्यौ। त्यसैक्रममा तेम्बाथाङमा बनिरहेको एकीकृत बस्ती निर्माणको नेतृत्व गरिरहेका सिङगे लामालाई देखाउँदै जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भने, 'उहाँ त यो बस्तीको धुर्मुस।'

लामालाई 'धुर्मुस' भन्नुमा राजेन्द्रले कारण प्रस्टाए 'लामाले छरिएर रहेका बस्तीहरुलाई एकीकृत गर्दै अहोरात्र एकीकृत बस्ती निर्माणमा लागेका छन्।'

तेम्बाथाङ नजिकैको गाउँ नाराङ घर रहेका लामा भूकम्पपछि राहत बाँड्दै तेम्बाथाङ पुगेका थिए। भूकम्पबाट घरबिहिन बनेका पीडितहरु हाल निर्माण भइरहेको बस्ती रहेको खुल्ला स्थानमा बसिरहेका थिए। त्यसपछि उनी आफ्नो गाउँ हिँडे।

एकीकृत बस्ती निर्माणको सपनाबारे लामाले थप प्रस्टाए 'आफ्नो घर पनि भूकम्पले भत्किएको अवस्थामा थियो। पछि म फेरि तेम्बाथाङ गए। पीडितहरुलाई तपाईहरु यतै बस्नु हुन्छ कि फर्कनु हुन्छ भनेर सोधे। उहाँहरुले लालपुर्जा पाए यत्तै बस्छु भने। व्यक्तिको नाममा लालपुर्जा बनाउन गाह्रो थियो। एकीकृत बस्तीको नाममा लालपुर्जा बनाए।'

अहिले हरिया जस्ताका छानाले टिलिल्क टल्किएको बस्ती देख्दा आफूले सुरु गरेको अभियान साकार हुन लागेको र त्यहाँका स्थानीय जनता घर पाउँदा खुसी लागेको उनी बताउँछन्।

 

**

२०७४ मा दातृ निकाय अक्सफाम नेपाल र जनहित ग्रामीण सेवा समितिको साझेदारीमा तेम्बाथाङ एकीकृत बस्ती निर्माण सुरु भएपछि स्थानीयहरुले नयाँ भविष्यको सपना बुन्न थालेका थिए। आफ्नो घर र बस्ती बनाउन त्यहाँका स्थानीयहरुले १५० दिन श्रमदान समेत गरे।

जुन सपना अहिले साकार हुने संघारमा छ।

तेम्बाथाङमा बन्दै गरेको ४० वटा घरहरुमध्ये ३८ वटा घरहरुको निर्माण लगभग सम्पन्न भइसकेको छ। दुई घरहरु भने केही दिन भित्रै सम्पन्न हुनेछन्।

सेवा समितिका राजेन्द्रका अनुसार पहिला ४४ घर बनाउने लक्ष्य थियो। तर ४ घरले रातो कार्ड नपाएको र उनीहरुको गुनासोको सम्बोधन नभएका कारण ती घरहरु बनेका छैनन्। 

यही महिना भित्र घर निर्माण कार्य सकाउने लक्ष्य रहेको थियो। तर ढुवानीको समस्या, चिसो मौसम र हिउँ परेका कारण केही ढिलामात्रै निमार्ण सम्पन्न हुने भएको छ।

एकीकृत बस्तीसँगै त्यहाँ वसोवास गर्ने मानिसहरुलाई जीविकोपार्जनको ग्यारेन्टी गर्नका लागि पाँच होमस्टेहरु बनाउन लक्ष्य रहेको छ। यस्तै ह्योल्मोहरुको सामाजिक र सांस्कृतिक कार्य गर्न सामुदायिक भवन बन्ने प्रक्रियामा छ।

राजेन्द्रका अनुसार लाभगाह्री घर धनीहरुले कुन ठाउँमा कसलाई जग्गा दिने भनेर पहिले नै गोलाप्रथाबाट जग्गा छनौट गरिसकेका थिए। ४२ रोपनीमा फैलिएको एकीकृत बस्तीमा एउटा घर करिब ८ आनामा बनेको छ। हाललाई घर सानो भएपनि पछि बढाउन मिल्ने गरी केही जग्गा छोडिएको छ।

सबै घरहरुमा खानेपानीका धारा र शौचालयको व्यवस्था गरिएको छ। 

एकीकृत बस्तीसँगै विद्यालय र स्वास्थ्य चौकी बनाउने त्यहाँका स्थानीयको सपना छ। तेम्बाथाङको वरिपरि विद्यालय र स्वास्थ्य चौकी नहुँदा त्यहाँका स्थानीयहरु दुई-तीन घण्टाको दुरीमा रहेको तिम्बुमा जान बाध्य छन्। विद्यार्थीहरु कोठा लिएर उत्तै बस्छन् त कोही काठमाडौंमा छन्। त्यसैले एकीकृत बस्तीमै यी संरचना बनाउन दातृ संस्था खोजिरहेको बताउँछन् लामा।

 

 

बिउतिँदै 'नाम्ग्याल घोसुम'

तेम्बाथाङमा निर्माण भइरहेको एकीकृत बस्ती पुग्दा घरहरुमा रहेको काठका झ्यालहरुमा सबैले आकर्षित गर्छ। हेर्दा काठमाडौं उपत्यकामा मल्लकालमा बनेका झ्यालजस्तै देखिन्छन् ती झ्यालहरु। तर ती झ्यालहरु हेलम्बुको संस्कृतिको प्रतीक हो।

'नामग्याल घोसुम' भनेर चिनिने बुट्टेदार झ्यालहरु हेलम्बुको पहिचान रहेको स्थानीयहरु बताउँछन्। हेलम्बुका गाउँहरुमा रहेका पुराना घरहरुमा 'नाम्ग्याल घोसुम' अझै देख्न सकिन्छ। तर केही समययता ती झ्यालहरु हराउँदै गएका थिए। यसैबीच एकीकृत बस्ती निर्माणको क्रममा गाउँपालिकाले घरहरु निर्माण गर्दा मौलिक संस्कृति झल्कने सामाग्री राख्न प्रस्ताव गर्‍यो। फलस्वरुप बन्दै गरेको नयाँ बस्तीमा 'नाम्ग्याल घोसुम' बिउँताउने निधो भएको लामा बताउँछन्।

ऐतिहासिक महत्व बोकेको 'नाम्ग्याल घोसुम' बनाउन कठिन थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकारण र गाउँपालिकाले झ्याल बनाउने र बुट्टा कुढ्ने तालिम प्रदान गरेको थियो।

सुरुमा तेम्बाथाङकै १५ जना युवाहरुले झ्याल बनाउने तालिम लिएका थिए। पछि पारिवारिक कारणले धेरैले बीचमै तालिम छोडे। काठको काम कहिल्यै नगरेका तीन युवाले ४० घरका लागि 'नाम्ग्याल घोसुम' बनाए।

तालिम लिएका मध्ये २३ वर्ष पेनधिन्डु शेर्पा भन्छन्,'बस्ती निर्माण हुने भएपछि पुरानो संस्कृतिको झल्कनुपर्ने भन्ने कुरा आयो। हामी घर र संस्कृति दुवैलाई संगै अघि बढाउन तयार भयौं। बीचमा धेरैले साथ छोडे तर अन्तत: तेम्बाथाङमा 'नाम्ग्याल घोसुम' सहितका घरहरु बने।'  

एकीकृत बस्तीमा 'नाम्ग्याल घोसुम' बनाउन शेर्पा लगायतका युवाहरुले १५ दिने तालिम लिएका थिए। पछि गाउँपालिकाले फेरी १० दिने तालिम दिएको थियो। तालिममा सहभागी भएर काम राम्ररी नजाने कामबाट हटाइने डर थियो। पहिला बनाउँदा झ्यालहरु दुरुस्तै बनेनन्। तर बनाउँदै गर्दा पुरानै शैलीमा 'नाम्ग्याल घोसुम' बनाउन सफल भए उनीहरु।

पहिले आफ्नो पुरानो घरमा 'नाम्ग्याल घोसुम' देखेको तर ती झ्यालहरुबारे खासै वास्ता नगरेको बताउँदै उनी भन्छन्,' इच्छा भएपछि सकिने रहेछ। बिलिनको संघारमा रहेको झ्याल पुनर्निर्माणका क्रममा यहाँका घरहरुमा झल्किदैछ। हेलम्बुको संस्कृति ब्युताउँने अभियानमा आफै सहभागी हुन पाउँदा खुसी छु।'

'नाम्ग्याल घोसुम' राख्दा भूतप्रेत घरभित्र प्रवेश नगर्ने कथन रहेको छ।

झ्यालसँगै बस्ती निर्माणमा प्रयोग भएका इट्टाहरु स्थानीयहरुले तेम्बाथाङमै बनाएका हुन्। 'कमप्रेड अर्थ बल्क' भनेर चिनिने ती इट्टाका बल्कहरु बनाउन स्थानीय १५ जनाले तालिम लिएका थिए। 'बिल्ड अप' नामक संस्थाले बल्क बनाउन तालिम र मेसिन दिएको थियो। एउटा घरमा २५ सय को संख्यामा बल्क प्रयोग भएको छ।

यस्तै घरहरुका डिजाइन पनि हेलम्बुको संस्कृति झल्कने खालको बनाएको लामा बताउँछन्। 'हेलम्बु किचन' सहित तीन कोठे भवनको डिजाइनलाई 'म्रेर्च्याकुमी' भन्ने गरिन्छ।

पुनर्निर्माणको क्रममा बनेका घरहरु सानो भएको गुनासोहरु आएको भन्दै लामा भन्छन्,'योजना ठूलो घर बनाउने थियो। डिजाइन पनि बनाइएको थियो। तर प्राधिकरणले स्वीकृति दिएन। त्यसैले पछि कोठाको आवश्यकता परे बनाउनका लागि केही जग्गा छोडेका छौं।'

एउटा घर बनाउन करिब ७-८ लाख खर्च भएको र बस्ती निर्माणका ३ करोड कूल लागत निकल्ने राजेन्द्र बताउँछन्। संस्थाले घरहरु निर्माण गर्ने भएकाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट घरधनीहरुले अनुदान पाउँदैनन्। सबै घरहरु बनिसकेपछि प्राधिकरणले पूर्वाधार निर्माणका लागि अनुदान दिने र त्यो रकमबाट सडक लगायतका संरचनाहरु निर्माणका लागि खर्च हुनेछ।

तेम्बाथाङमा भूकम्पले समुदायलाई एकीकृत बनाउँदै रोजगारी पनि सिर्जना गरेको बताउँदै लामाले भने,' पहिला यहाँका युवाहरु भारत वा काठमाडौं गएर काम गर्दै आएका थिए। आफैले आफ्नो घर बनाउन तालिम प्राप्त गरेकाहरुमा नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास जागेको छ।'

तर, पुनर्निर्माणको काम सकेपछि सिकेको सिप उपयोग गर्ने अवसर पनि कम हुने हो कि भन्ने चिन्ता पनि छ। त्यसैले सरकारले यतै कामको व्यवस्था गर्ने वातावरण बनाए युवाहरु पलायन हुनु नपर्ने र हेलम्बु मै केही गर्न सक्ने उनी बताउँछन्।



ह्योल्मो पहिचान झल्काउने 'नाम्ग्याल घोसुम' ब्युताउँदै हेलम्बुमा उठ्यो तेम्बाथाङ एकीकृत बस्ती को लागी १ प्रतिक्रिया(हरु)

Dipendra Pariyar [ 2019-03-11 07:58:18 ]
Good job JGSS Team ...,Keep it up..

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट