PahiloPost

May 19, 2019 | ५ जेठ २०७६


‘रिस्क’मा रमाउने बन्जी क्रु'को कथा


रीना मोक्तान

‘रिस्क’मा रमाउने बन्जी क्रु'को कथा

भोटेकोशी गाउँपालिकास्थित चाकु भन्ने ठाउँबाट आधा घण्टा हिँडेर पुगिने मार्मिङमा झोलुङ्गे पुल बन्यो। पुलबाट मान्छे डोरीमा खुट्टा बाँधेर हाम फाल्थे। गाउँलेका लागि उक्त दृश्य नौलो थियो। चाकुका स्थानीय भोला श्रेष्ठ साथीहरुसँग लस्करमा मिलेर बन्जी हेर्न पुग्थे।

डोरीको भरमा रमाउँदै फाल हानेको दृश्यले उनलाई चकित पार्थ्‍यो। केही समयपछि त्यही दृश्य हेर्दै रमाउन थाले।  त्यतिखेर बन्जी जम्प गर्नेहरु अधिकांश विदेशी हुन्थे। तर, कुनै दिन विदेशीले जस्तै त्यो पुलबाट हाम फाल्ने साहस आफूमा पनि जुट्ला, त्यो मौका आफूलाई पनि जुर्ला भन्ने उनले कहिले पनि सोचेनन्।

उँधो मुन्टो पारेर हाम फाल्ने विदेशीको अनुभूति कस्तो होला जान्ने रहर भने सधैँ थियो।

त्यही कौतहुलताले उनलाई पुलसम्म डोहोर्‍यायो।

सन् २००९ ताका उनी जागिरको खोजीमा थिए, द लास्ट रिसोर्ट कर्मचारीको खोजीमा। के काम रहेछ, बुझ्न पुगेका उनले थाहा पाए बन्जी क्रुका लागि मानिस चाहिएको रहेछ।

१० वर्ष भयो भोलाले बन्जी क्रुमा काम गरेको। विगत १ वर्षदेखि उनी बन्जी मास्टरका रूपमा काम गर्दै आएका छन्। जसका लागि क्रुमा काम गर्नुको अनुभव र विशेष तालिम आवश्यक छ।

पुलको बीच भागमा उभिएर अरुलाई सुरक्षित बन्जी जम्प गराउनु उनको जिम्मेवारी हो। जम्पर्सलाई प्लेटफर्म (फलामको पाता जहाँबाट बन्जी गरिन्छ) सम्म डोर्‍याएर बन्जी गराउनुमा उनको महत्त्वपूर्ण भूमिका हुन्छ।

उनीसँगै बन्जी गराउने अर्का मास्टर हुन् सुजन महर्जन। सुजन र भोला एकसाथ बन्जी क्रुको ट्रेनिङ लिन आएका थिए। उनीहरू दुबै जना एकै समयमा बेसिक लेभल पार गरेर मास्टर पनि बने।

बन्जी मास्टरको ट्रेनिङ लगभग २ वर्षको हुने सुजनले बताए।

'सुरुमा बन्जीमा प्रयोग हुने डोरीलगायत इक्वीपमेन्टका विषयमा हामी सिक्छौँ। रेस्क्यूबारे सिक्छौँ। ट्रेनिङको लेभल नै हुन्छ। यो सबै एलेक्स अस्ट्रियाले हामीलाई सिकाउनु भयो', सुजनले जानकारी दिए।

नेपालको पहिलो बन्जी मास्टर प्रकाश प्रधान र सैलेश चौधरी हुन्। अधिकांश मास्टर उनीहरूले नै सिकाएका हुन्।

लास्ट रिसोर्टको प्रावधान अनुसार हरेक वर्ष बन्जी इक्वीपमेन्टहरुको जाँच गर्न एलेक्स नेपाल आउने गरेको सुजन बताउँछन्। त्यस्तै ‘अपरेसन चेक’का लागि न्यूजील्याण्डका मार्क, मर्टिना हरेक वर्ष आउने गरेको बताए। उनीहरूले सुरक्षा सम्बन्धी (सेफ्टी अडिट) गर्छन्। 

सुरक्षा सामाग्रीका बाबजुद पनि कसैलाई बन्जी गराउने वा नगराउने भन्ने निर्णय मास्टरहरुमा भर पर्छ। उनीहरूले क्लायन्टको शारीरिक एवं मानसिक अवस्थाको सामान्य परीक्षण गर्छन् अनि मात्र जम्प गर्छ हौस्याउँछन्।

‘जोसिएर आउनेदेखि डराउँदै आउनेहरुसँग भेट हुन्छ। सबैले गर्छन् भन्ने हुँदैन’, मास्टर भोला अनुभव साट्छन्,  ’उहाँहरूको अवस्था हेरेर बुझेर गराउने नगराउने निश्चित गर्छौँ।‘

भोला बोली राख्दा सँगै बसेर सुनिरहेका सुजन सुनाउँछन्, ’अस्ति एकजनाले बन्जी गरी सकेपछि मेरो कान नजिक आएर खुसुक्क भने 'म पहिला यो प्लेटफर्मबाट बन्जी गर्न नसकेर फर्केको हो दाइ। आज हाम फालेँ।'

क्रुमा अनिल घिसिङ अपरेटर हुन्। बन्जी जम्पर्सलाई पुलमा काउन्सेलिङ गर्नेदेखि हार्नेसिङ फिट गर्ने जिम्मा उनको जिम्मा हो।

क्रुसम्मको अनिलको यात्रा भने केही फरक छ। लास्ट रिसोर्टमा उनको ठूलो बाबा क्यानोनिङ गाइडका रूपमा काम गर्थे। क्रुमा भ्याकेन्सी खुलेपछि २०११ मा अनिललाई ठूलो बाबाले बोलाए। काठमाडौँमा कलेज अध्ययनरत उनले सुरुमा त काम नगर्ने कुरा गरे। साथीसंगीसँग रमाइलो गर्दै हिँड्नुपर्ने उनलाई परिवारले जबरजस्ती गरेरै काममा पठाए। काम थालेपछि भने उनी रमाए। अहिले ९ वर्ष भयो क्रुमा बसेर अनिलले काम गरेको। 

भोटेकोशी नजिकै सोताङका अनिलको जिम्मेवारी पुलमा टिम व्यवस्थापन र सुरक्षा चेकिङको हो।

उनीभन्दा अगाडि जम्प मास्टर अथवा सुपरभाइजर हुन्छन्। उनलाई पनि मास्टर बन्ने हतारो छ।

 

मास्टर बन्ने हतार

क्रुमा भएका सबैको उद्देश्य बन्जी मास्टर बन्ने हो। सुजन भन्छन् 'मास्टर बन्नु नै सबैको ड्रिम हो। मैले पनि त्यस्तै सपना देखेको थिएँ। लामो अनुभवपछि बल्ल बनेँ।‘

चक्र प्रधान थप्छन्, 'मलाई त त्यस्तो हतार छैन है। सबै कुरा बिस्तारै सिक्दै जाने हो।‘ कुरा सुनिरहेका क्रु हाँस्छन्।

क्रुमा विगत ५ वर्षदेखि काम गर्दै आएका चक्रको घर भोटेकोशी छेउको ताङलाङ हो। चक्रसँगै रमेश कार्कीले एकसाथ क्रुमा काम सुरु गरेका थिए। रमेश भने बाह्रविसेका हुन्। क्रुमा कृष्ण राउत पनि काम गर्छन्।

रमेश भन्छन्, ’स्थानीय युवालाई रोजगारीको अवसरको बलियो उदाहरण हो हाम्रो टिम।‘

क्रुकी एकमात्र महिला सदस्य हुन् मीना श्रेष्ठ। उनको घर त्याङ्थली हो। उनी पहिला लास्ट रिसोर्टमा स्टोर किपरको रूपमा काम गर्थिन्। सन् २०१८ मा फड्को मार्दै उनी क्रुमा प्रवेश गरिन्।

क्रुमा महिला कर्मचारी आवश्यक रहेको थाहा पाउन साथ उनले आफ्नो नाम दिइहालेकी थिइन्। छनोटमा पनि परिन्। अहिले उनी क्रुसँगै पुलमा काम गर्छिन्। भन्छिन्, 'स्टोरमा बसिरहने काम हुन्छ। पुलमा मान्छे पनि बढी हुन्छन्, रमाइलो पनि।'

मीनाको जिम्मेवारी हार्नेस् लगाउने अनि कर्भ फाल्ने हो। उनलाई यस किसिमको साहसिक कामका लागि घरबाट पूरा साथ र सहयोग छ।

 

सुरक्षामा कति ध्यान दिनुपर्छ?

टिमको नारा हो ‘सेफ्टीमा नो कम्प्रमाइज’। बन्जीका सबै प्राविधिक पक्ष न्यूजील्याण्डको स्ट्याण्डर्ड सेफ्टी अनुरूप छ। हरेक वर्ष हुने अडिटको रिपोर्ट अनुसार आवश्यक सुरक्षा सामाग्री अपनाइन्छ।

बन्जी गर्ने डोरीलाई बन्जी कोड भनिन्छ। भोटेकोशीमा बन्जी मास्टरहरु आफैं बन्जी कोड बनाउँछन्। जसका लागि थाइल्याण्डबाट कच्चा पदार्थ ल्याइन्छ। डोरी बनेपछि टेस्ट गरिन्छ। डमी अथवा ब्यारलबाट डोरी टेस्ट हुन्छ। एकपटक क्रुले टेस्ट गरिसकेपछि मात्र कस्टमरका लागि उक्त डोरी प्रयोग गरिन्छ।

तौल अनुसारको बन्जी डोरी हुनेगर्छ। भोलाले भोटेकोशीमा तीन किसिमको डोरी प्रयोग गर्दै आएको बताए। सुनाउँछन् '४५ देखि ६०, ६१ देखि ७२ र ७३ देखि १०५ सम्मको तौलका लागि डोरी प्रयोग गर्दै आएको बताए। यहाँ ३८ देखि १०३ सम्म तौल भएकाले बन्जी गर्न पाउँछन्।

भुकम्पअघि बन्जी गरेपछि उकालो चढेर रिसोर्ट पुग्नु पर्थ्यो। अहिले हिँड्नु पर्दैन, माथि नै तान्ने सेटअप छ।

बन्जी क्रुले सिजनमा मासिक २० देखि ५० हजार रुपैयाँसम्म कमाउँछन्। उनीहरुलाई पारिश्रमिकसँगै बोनसको व्यवस्था पनि रहेको बताए।

मास्टर भोला भन्छन्, 'हामी काममा रमाइलो गर्छौं। काम गरेको दश वर्ष भइसक्यो तर पनि १ वर्ष मात्र भयो जस्तो लाग्छ। काममा खुशी भएपछि पारिश्रमिक त चित्त बुझिहाल्छ नि।'

यो क्रु भावनात्मक परिवार बनेको छ। रिसोर्टमा बस्ने खाने भएकाले एकअर्कालाई बुझ्ने मद्दत पुगेको छ।

बन्जी जम्पर्सलाई थाहै नदिइ क्रुले पुलमा काउन्सिलिङ गरिरहेका हुन्छन्। एक किसिमको साहस दिइरहेका हुन्छन्।

बन्जी नगर्ने निर्णयमा पुगेकाले अन्त्यमा जम्प गर्दा बन्जी मास्टरका लागि त्यो भन्दा ठूलो खुशी केही नहुने भोला बताउँछन्।

सुनाउँछन्, 'जुन मान्छे धेरै डराइरहेको हुन्छ। जसले गर्न नसकिरहेको हुन्छ। त्यस्तो मान्छेले बन्जी गर्‍यो भने एक किसिमको गर्व लाग्छ।'

भोलाले पहिलोपटक ट्रेनिङकै क्रममा २००९ मा बन्जी जम्पको अनुभव गरे। बन्जी गर्नुअघि सबैलाई एकपटक त डर लाग्ने बताउँछन् उनी। भने, ‘जति नै धेरैपटक जम्प गरे पनि त्यहाँ पुग्दा डर हुन्छ।'

 

संवेदनशील काम

बन्जी सहासिक खेल हो। त्योभन्दा बढी साहस चाहिन्छ कसैको ज्यानको जिम्मा लिएर जम्प गराउन।

बन्जी गराउँदा क्रुको भूमिका अपरेशन थिएटरमा डाक्टरको जतिकै हुने बताउँछन् सुजन। 'हामी मान्छेको जिन्दगीसँग खेलिरहेको हुन्छौं। हाम्रो सानो गल्तीले ज्यान जान सक्ने डर हुन्छ। डाक्टरले अपरेशनअघि जे सोच्छ बन्जी गराउनुअघि हामीलाई त्यस्तै हुन्छ। मान्छेको ज्यान जानसक्ने रिस्कमा काम गर्छौं हामी।'

पानी, घाम धुलो नभनी क्रु निरन्तर साहसिक जम्प गराउन तयार रहन्छन्।

हाल द लास्ट रिसोर्टको बन्जी टिममा दशजना छन्।



‘रिस्क’मा रमाउने बन्जी क्रु'को कथा को लागी १ प्रतिक्रिया(हरु)

Raj pradhan [ 2019-02-28 05:46:36 ]
the last resort अबस्थित तानलाङ होइन सर पाङ्गालाङ भन्ने गाउको नाम हो😃😃

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट