PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जनयुद्धमा मारिएकालाई शहीद घोषणा गर्ने तयारी भइरहेको गृहमन्त्रीको भनाई, 'निर्मलाको हत्यारा पत्ता लगाउन सरकार असफल, प्रयास जारी छ'



जनयुद्धमा मारिएकालाई शहीद घोषणा गर्ने तयारी भइरहेको गृहमन्त्रीको भनाई, 'निर्मलाको हत्यारा पत्ता लगाउन सरकार असफल, प्रयास जारी छ'

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले सरकार निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार सफल भइनसकेको बताएका छन्। बुधवार राष्ट्रिय सभामा गृहमन्त्री थापाले घटनाको अनुसन्धान भइरहे पनि अहिले सम्म अपराधी पत्ता लगाउन नसकेकोमा सरकार असफल भएको बताएका छन्। 

गृहमन्त्री थापाले भने,'निश्चय पनि यस क्रममा सरकारको तर्फबाट अपराधीहरुलाई जुन शीघ्रताको साथमा कानुनको कठघरामा ल्याउनु पर्ने थियो त्यसमा अझ पनि हामी सफल भएका छैनौं।'

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको अनुसन्धान तीव्र रुपमा भइरहेको समेत बताएका थिए। गृहमन्त्री थापाले चाँडै नै अपराधी कानुनको कठघरामा आउने विश्वास व्यक्त गरेका थिए। देशमा भइरहेको सुन तस्करी, यातायातमा भएको सिन्डिकेटसमेत अन्त्य भएको दावी गरेका थिए।

यसैगरी मन्त्री थापाले सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको दाबी गरेका छन्। ‘दोषीहरुलाई कठघरामा ल्याइएको छ। अदालतले तिनीहरुलाई दण्ड दिनेछ,’ गृहमन्त्रीले दाबी गरे।

यसैगरी, यातायातको सिन्डिकेटको अन्त्य भइसकेको जानकारी दिँदै थापाले भने,‘फेरि फर्केर आउने छैन। यातायातलाई व्यवस्थित गर्ने काम भइरहेको छ। एउटा कानून भन्दै छ त्यो पारित भएपछि समस्या समाधान हुन्छ।’

‘पूर्वराजदूत केशव झाको हत्याको अनुसन्धान चलिरहेको छ। त्योसँग सम्बन्धित कतिपय चिज विधि विज्ञान प्रयोगशालामा पठाइएको छ,’ थापाले भने,‘यो वर्ष शीतलहरबाट कोही नमरोस् भन्ने लक्ष्य थियो। त्यसमा सरकार सफल भएको छ।’

यसैगरी, सिंहदरबारको प्रवेश सन्दर्भमा गृहमन्त्रालयले व्यवस्था गरिएको थापाले बताए। ‘यो सुरक्षासँग सम्बन्धित भएकोले यसमा आवश्यक योजनाहरु तयार पार्दैछ। सिंहदरबारको सुरक्षा सुदृढका लागि आवश्यक सफ्टवेरहरु तयार पार्दैछौं। त्यो प्रक्रिया पुरा भएपछि गुनासो आउने छैन,’ उनले भने।

नेवि संघका कार्यकर्ताहरुले कास्कीमा गरेको तोडफोडको विषयमा कानून बमोजिम कारवाही हुने थापाले बताए। यसैगरी जनयुद्धमा मारिएकाहरुको पनि शहीद घोषणा गर्ने तयारी भइरहेको उनले बताए । ‘राजनीतिक आन्दोलनमा मरेकाहरुलाई शहीद घोषणा गर्नु पर्छ भन्ने कुरामा सरकारले सुरक्षाकर्मीलाई हालै शहीद घोषणा गरेको छ। त्यसैगरी जनयुद्ध जनआन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने प्रक्रिया सुरु भएको छ। छिट्टै पनि घोषणा हुनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell