PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

२९ वर्षपछि अष्ट्रियाबाट हुँदैछ उच्चस्तरीय भ्रमण, परराष्ट्रमन्त्री भोलि नेपाल आउँदै



पहिलोपोस्ट

२९ वर्षपछि अष्ट्रियाबाट हुँदैछ उच्चस्तरीय भ्रमण, परराष्ट्रमन्त्री भोलि नेपाल आउँदै

काठमाडौं : अष्ट्रियाकी युरोप, एकीकरण तथा परराष्ट्र मामिला मन्त्री नेपाल भ्रमणमा आउने भएकी छन्। 

अष्ट्रियाकी मन्त्री कारिन केन्सल नेपाल आउन लागेकी हुन्। दक्षिण एसियाका ९ दिने भ्रमणमा आज निस्किएकी उनी भोलि नेपाल आइपुग्ने कार्यक्रम रहेको छ। 

१३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज बुधवार बंगलादेश आइपुग्दै छिन्। उनले बंगलादेशलाई रोहिंग्या शरणार्थी व्यवस्थापन तथा प्रकोप नियन्त्रणका लागि ५ लाख युरो सहयोग घोषणा गर्ने कार्यक्रम रहेको अष्ट्रिया प्रेस एजेन्सीले जनाएको छ। 

त्यहाँबाट उनी नेपाल आउने कार्यक्रम रहेको छ। उनी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउन लागेकी हुन्। परराष्ट्रमन्त्री ज्ञवाली गत असोजमा अष्ट्रियाको भ्रमण गरेका थिए। उनले भ्रमणका क्रममा मन्त्री केन्सललाई नेपाल भ्रमणको निम्तो दिएका थिए। 

उनको यो भ्रमण अष्ट्रियाबाट २९ वर्षपछि हुन लागेको उच्चस्तरीय भ्रमण हो। सन् १९९० को फेब्रुअरीमै अष्ट्रियाका तत्कालिन परराष्ट्र मन्त्री अलोइस मोकले नेपालको तीन दिने भ्रमण गरेका थिए। 

उनको नेपाल भ्रमणका क्रममा दुई देशबीच मन्त्रीस्तरीय द्विपक्षीय वार्ता हुनेछ। वार्ता शुक्रवार हुनेछ। अष्ट्रिया युरोपियन युनियन काउन्सिलको अध्यक्ष हो। वार्ताको क्रममा युरोपेली युनियनले नेपाली वायु सेवा कम्पनीमाथि लगाइएको प्रतिवन्धको विषयमासमेत छलफल हुन सक्ने स्रोतले जनाएको छ। दुई देशबीच १९९७ मा द्वीपक्षीय हवाई उडान सम्बन्धी सम्झौता भएको थियो।

दुई परराष्ट्र मन्त्रीस्तरीय बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका अन्य विषयमा पनि विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदेशमन्त्री केन्सलले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साथै उनी परराष्ट्र अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पनि सहभागी हुनेछिन्। 

दुई देशबीच सन् १९५९ मा कुटनीतिक सम्बन्ध स्थापना गरेको थियो। दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि सन् १९७८ मा आर्थिक साझेदार उपमन्त्री डा अडोल्फ नुसबाउनर नेपालको भ्रमणमा आएका थिए।  त्यस्तै सन् १९८१ मा डा कुर्त वाल्धेइमले नेपाल भ्रमण गरे। संयुक्त राष्ट्र संघको महासचिवको हैसियतमा नेपाल भ्रमण गरेका उनी सन् १९९० मा अष्ट्रियाको राष्ट्रपति भएका थिए।  

नेपालका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९३ मा अष्ट्रियाको भ्रमण गरेका थिए। मानवअधिकार सम्मेलनमा भाग लिन उनी त्यहाँ पुगेका थिए। त्यस्तै राजा वीरेन्द्र र रानी ऐश्वर्यले सन् १९८६ र २००० मा र राजकुमार ज्ञानेन्द्रले १९९३ मा अष्ट्रियाको भ्रमण गरेका थिए। 

अष्ट्रियाले नेपालमा नाम्चे लघुजलविद्युत परियोजना, पाटन संग्रहालय, केशरमहलको स्वप्न बगैँचा, रोलवालिङ इको टुरिजम परियोजनामा नेपाललाई सहयोग गरेको छ। अष्ट्रियाकी परराष्ट्रमन्त्रीले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ। यद्यपि परराष्ट्र मन्त्रालयले उनको भ्रमणको तालिका सार्वजनिक गरिसकेको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell