PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

भारतलाई इमरान खानको जवाफ: प्रमाण दिनुस्, एक्सन लिन्छौं



पहिलोपोस्ट

भारतलाई इमरान खानको जवाफ: प्रमाण दिनुस्, एक्सन लिन्छौं
फाेटाे : AFP

इस्लामावाद : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले घटनाबारे कुनै प्रमाण भए पाकिस्तानलाई उपलब्ध गराउन आग्रह गर्दै त्यसमाथि छानविन गर्ने प्रतिबद्धता समेत जनाए। 

पुलवामा घटनाबारे मंगलवार आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री खानले  काश्मिरमा हुने हरेक घटनामा भारतले विना प्रमाण पाकिस्तानलाई आक्षेप लगाउने गरेकोमा आपत्ति जनाए। ‘काश्मिरमा आक्रमण गरेर हामीलाई के फाइदा छ? हामी आफैं पछिल्लो १५ वर्षयता आतंकवादविरुद्ध लडिरहेका छौं’, उनले भने। 

भारतले कुनै छानविन गर्न चाहे आफूहरु सहयोग गर्न तयार रहेको भन्दै उनले थपे, ‘हामी आतंकवादविरुद्ध वार्ता गर्न तयार छौं। हामी यसलाई अन्त्य गर्न चाहन्छौं। आतंकवादका कारण पाकिस्तानले धेरै कुरा गुमाएको छ।’

काश्मिर विवादको समाधान सैनिकबाट हुननसक्ने ठोकुवा गर्दै उनले वार्ता नै उत्तम विकल्प भएको बताए। उनले पुलवामा घटनालाई लिएर पाकिस्तानमाथि हमला गरे कडा जवाफ दिने चेतावनी समेत दिए। ‘लडाइ सुरु गर्न सजिलो छ, अन्त्य गर्न निकै कठिन’, उनले आफ्नो सम्बोधनमा भनेकाे पाकिस्तानी सञ्चारमाध्यमले जनाएकाे छ। 

भारतको पुलवामामा गत बिहीवार भएको आतंकवादी आक्रमणमा ४२ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो। पाकिस्तानी सशस्त्र संगठन जैश ए मोहम्मदले घटनाको जिम्मेवारी लिएको थियो। भारतले यो घटनाको जिम्मेवार पाकिस्तानलाई ठहर्‍याएको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell