PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

सुरक्षा थ्रेट नभएका विशिष्ट व्यक्तिको पिएसओ खोसियोः कुन पूर्वमन्त्रीको कति सुरक्षाकर्मी?



पहिलोपोस्ट

सुरक्षा थ्रेट नभएका विशिष्ट व्यक्तिको पिएसओ खोसियोः कुन पूर्वमन्त्रीको कति सुरक्षाकर्मी?

काठमाडौँ: गृह मन्त्रालयले पूर्व प्रधानमन्त्री, पूर्व न्यायाधीश, पूर्वमन्त्री लगायत विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षा गार्ड (पिएसओ) लाई फिर्ता बोलाएको छ। सुरक्षा खतरा नभएका पूर्व विशिष्ट व्यक्तिहरूको सुरक्षाकर्मी फिर्ता बोलाइएको हो।

अहिलेसम्म करीब तीन सय जना सुरक्षाकर्मी फिर्ता गरिएको हो। पूर्व मन्त्रीहरूले पनि १४ जनासम्म सुरक्षाकर्मी राखेका छन्। गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेको ८२ बुँदे गृह सुधार योजनामा गत वैसाख मसान्तसम्म अनावश्यक रूपमा लिएका पिएसओ र अर्दली फिर्ता गर्ने उल्लेख गरिएको थियो। तर केही पिएसओ मात्र फिर्ता भएका छन्।

को सँग कति सुरक्षाकर्मी ?

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा १४ जना सुरक्षाकर्मी छन्। पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठसँग ७ जना, पूर्व उपप्रधानमन्त्री कमल थापासँग १४ जना, पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमसँग १३ जना, पूर्व गृहमन्त्री जनार्दन शर्मासँग १३ जना,पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग १२ जना, पूर्व गृहमन्त्री भीम रावलसँग १४ जना,पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग १२ जना, पूर्व गृहमन्त्री विमलेन्द्र निधिसँग १० जना, पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कासँग १३ जना, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग १३ जना, पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलसँग १३ जना सुरक्षाकर्मी रहेका छन्।

गृह मन्त्रालयले मन्त्रिपरिषद्बाट नै निर्णय गराएर भिआइपी व्यक्तिहरूको पिएसओ र अर्दली फिर्ताको तयारी गरेको थियो। गृहमन्त्री रामबहादुर थापाले गृहको जिम्मेवारी सम्हाले लगत्तै नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसी, शंकर भण्डारी, अमरेस सिंह, पूर्वप्रहरी महानिरीक्षक रमेश चन्द्र ठकुरी, ओमविक्रम राणा लगायत नेता तथा पूर्वसचिवका चालकका रूपमा रहेका प्रहरीहरू फिर्ता गरेका थिए।

वर्षौँदेखि भिआइपी व्यक्तिको सुरक्षा र सहयोगीको रूपमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ। पूर्व राष्ट्रपतिदेखि वर्तमान मन्त्रीसम्मका ड्राइभरमा पनि प्रहरी कर्मचारी खटिएका छन्। पूर्व सांसददेखि केन्द्रमा प्रभाव राख्ने स्थानीय नेताले समेत प्रहरीलाई ड्राइभर बनाएका छन्। उच्चपदस्थ सरकारी कर्मचारीका पनि ड्राइभर प्रहरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell