PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओली सरकारले भ्रष्टचार र बेथितीको जग बसायो: पौडेल



ओली सरकारले भ्रष्टचार र बेथितीको जग बसायो: पौडेल

दमौली: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार समृद्धिको नभई भ्रष्टचार, बेथिति र विसंगतिको जग बसालेको टिप्पणी गरेका छन्। तनहुँको व्यास नगरपालिका ११ को बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले ओली सरकारले भ्रष्टचार, बेथिति र विसंगतिको जग बसाएकाले मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने स्पष्ट पारे। पौडेलले भन्नुभयो, ‘ओलीजीले सरकारले समृद्धिको जग बसाएको भन्नुभएछ। सरकारले बसाएको जगबाट मुलुक समृद्धिको बाटोमा जान सक्दैन। मुलुकमा अहिले समृद्धिको बाटोमा भन्दा पनि भ्रष्टाचार र बेथितिको बाटोमा अघि बढेको छ।’ प्रधानमन्त्री केपी ओलीले आफ्नो एकवर्षे कार्यकाल पुरा भएपछि देशबासीका नाममा सम्बोधन गर्दै सम्बृद्धिको जग बसाएको उल्लेख गरेका थिए।

वरिष्ठ नेता पौडेलले कांग्रेस निष्ठाको राजनीति गर्ने पार्टी भएको भन्दै सम्पूर्ण नेता कार्यकर्ताहरु निष्ठावान बन्नुपर्नेमा जोड दिए। उनले कांग्रेसले महासमितिबाट पास भएको विधानले निमुखा कांग्रेस कार्याकर्ता तथा अवसर नपाएका कार्याकर्तामाथि न्याय गर्ने आश्वसन दिए। पौडेलले विगतमा आफु राष्ट्रिय राजनीतिमा केन्द्रीत हुनुपरेका कारण जिल्लामा समय दिन नसकेको स्वीकार गर्दै अब मुलुकको राजनीति मुद्दा टुंगो लागेका कारण फुर्सद भएकाले जिल्लामा समय दिने प्रतिवद्धता जनाए। पौडेलले भने, ‘हिजोका दिनमा बढि राष्ट्रिय राजनीतिमा केन्द्रीत हुनुपर्‍यो। संविधान बनाउन सदनमा बढी व्यस्त भएर आउन सकिनँ। अब तनहुँलाई समय दिन्छु।’

पौडेलले लोकतान्त्रिक संविधान निर्माणका लागि आफुहरुले ठूलो लडाई लड्न परेको उल्लेख गर्दै वीपी कोइराला, सुर्वण शम्सेर गणेशमान जी, किसुनजीहरुको २००७ सालदेखिको संविधानसभामार्फत संविधान बनाउने सपना आफुहरुले पूरा गरेको बताए। पौडेलले भने, ‘संविधान बनाउने क्रममा राष्ट्रलाई छिन्नभिन्न बनाउने प्रयास भएको थियो। त्यो कांग्रेसले रोक्यो। संविधान बनेपछि आम चुनाव कांग्रेसले गरायो। संविधानसंग असहमति राख्ने शक्तिलाई संविधानको दायारामा ल्यायौ तर चुनावमा कांग्रेस हार्‍यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell