PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'लुट्न सके लुट' गीतलाई जस्ताको तस्तै अपलोड गर्न बद्री पंगेनी अध्यक्ष रहेको लोकदोहोरी प्रतिष्ठानको आग्रह



पहिलोपोस्ट

'लुट्न सके लुट' गीतलाई जस्ताको तस्तै अपलोड गर्न बद्री पंगेनी अध्यक्ष रहेको लोकदोहोरी प्रतिष्ठानको आग्रह

काठमाडौँ : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले संस्थाका वर्तमान उपाध्यक्ष पशुपति शर्माको लुट्न सके लुट गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ। 

बद्री पंगेनी अध्यक्ष रहेको उक्त सं‌स्थाको आज बसेको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ- 'गीत संगीत अभिनय लगायतका अभिव्यक्तिका माध्यामबाट जनताले सरकारको या सार्वजानिक पदधारकको आलोचना गर्न पाउनुपर्छ। त्यो अभिव्यक्ति स्वतन्त्रता अन्तर्गतको अधिकार हो भन्ने विषयमा संस्थागत धारणा स्पष्ट पार्न चाहन्छौं। वाक स्वतन्त्रताको हनन् सह्य नहुने कुरा समेत दोहोर्‍याउन चाहन्छौं।'

यसअघि पंगेनीले पहिलोपोस्टसित कुरा गर्दै शर्माले गीत डिलिट गरेर ठीक गरेको प्रतिक्रिया दिएका थिए।

प्रतिष्ठानको विज्ञप्तिमा भनिएको छ, 'गीत डिजिटल प्लेटफर्ममा राख्ने या हटाउने सम्बन्धमा कहीँ कतैबाट पनि आधिकारिक निवेदन अनुरोध वा जानकारी समेत संस्थामा न आएकोले हटाउने या राख्ने सम्बन्धमा गायक शर्मालाई अहिलेसम्म संस्थाले आधिकारिक अनुरोध गरेको छैन र कुनै समूह संस्था या अन्य कुनै दल या ब्यक्ति कसैले पनि यो गीत बन्द गर्ने विषय लिएर औपचारिक प्रस्ताव दर्ता नगरेको कुरा समेत जानकारी गराउन चाहान्छौं।'

'पशुपति शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैलाई “फेर्न योग्य” लागेर गीत हटाउनुभएको हो भने त्यो वहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ। तर कुनै दवाव या कुनै धम्कीको कारण हटाउनुभएको हो भने गीतलाई जस्ताको तस्तै पुन: अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ। त्यसपछि आईपर्ने विवाद, वार्ता र छलफलद्वारा समाधान हुनु पर्दछ र त्यसको अगुवाई गर्न संस्था तयार रहेको छ। "

"कलाकारलाई कुनै पनि शक्तिद्वारा दिइएको जुनसुकै किसिमको दवावको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल घोर भत्सर्ना गर्दछ। राजनीतिक सहभागितालाई ढोका बाहिरै राखेर संस्थाभित्र केवल कलाकारिता मात्रले स्थान पाउनुपर्दछ र एक कलाकारको अफ्ट्यारोमा सम्पूर्ण कलाकारहरु एकजुट हुनु पर्दछ भन्ने हाम्रो मान्यतामा हामी अडिग रहनु पर्दछ।" 

"यो समस्या आज एकजना कलाकारको सृजनामा देखियो। भोलि अरुकोमा देखिएला र पर्सि अरु कसैकोमा देखिएला। कलाकारको स्वतन्त्रतामा लगाम लगाउने काम कारवाही मान्य हुदैनन भन्नेमा हामी दृढ रहेको कुरा दोहोराउन चाहन्छौं।"

प्रतिष्ठानले संगीत सेन्सर बोर्ड गठन गर्नुपर्ने माग राख्दै भनेको छ, "पशुपति शर्माको गीतले सेन्सर पास गरी प्रसारण सर्टिफीकेट पाएको हुन्थ्यो भने यसरी बन्द गर्न कसैले दवाव दिन पाउँदैनथ्यो। तसर्थ यथासक्य छिटो बोर्ड गठन सम्बन्धी हाम्रो मागको सुनुवाई होस भन्ने कुरा पुन उठाउन चाहन्छौं।"

"सर्जकद्वारा सृजना गरिएको कलाकृति, गीत संगीत लोकले जस्ताको तस्तै सुन्न पाउनु दर्शक श्रोताको लोकको अधिकार पनि भएकोले लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कलाकार पशुपति शर्मालाई उक्त गीत जस्ताको तस्तै पुन: अपलोड गर्नुहुन अनुरोध गर्दछ", विज्ञप्तिमा भनिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell