PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पशुपति शर्माको गीत दबाव दिई हटाउन लगाएको भन्दै विवेकशील नेपालीको विरोध



पशुपति शर्माको गीत दबाव दिई हटाउन लगाएको भन्दै विवेकशील नेपालीको विरोध

काठमाडौं: गायक पशुपति शर्माको गीत युट्युबबाट दबावपूर्वक हटाइएकोमा विवेकशील नेपाल पार्टीले विरोध जनाएको छ। आज पार्टीका प्रवक्ता मिलन पाण्डेले एक विज्ञप्तिमार्फत शर्माको गीत 'लुट्न सके लुट कान्छा' लाई सत्तासीन दलका जिम्मेवार व्यक्ति लगायतकाले दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको आरोप लगाउँदै विरोध जनाएको हो। 

विज्ञप्तिमा भनिएको छ, 'विवेकशील नेपाली पशुपति शर्माको गीत 'लुट्न सके लुट कान्छा' लाई सत्तासीन दलका जिम्मेवार व्यक्ति लगायतकाले दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयको विरोध गर्दछ। शर्माको गीतलाई सार्वजनिक रूपमा नै बजाएर, सामाजिक सञ्जालमा राखेर लोकतन्त्रप्रति भएको यो प्रहारको विरोध गर्न समेत सर्वधारणलाई अपिल गर्दछौँ। हामी आफू असहमत रहेका विचारको अभिव्यक्तिलाई समेत निर्बाध रूपमा व्यक्त गर्न सक्ने वातावरणको सुनिश्चितता गर्न समेत आह्वान गर्दछौँ।' 
 
विवेकशील नेपाली अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने उल्लेख गर्दै भनिएको छ, 'गायक शर्माको गीत सरकार अनि सरकार समर्थक दलका निकट व्यक्तिहरू अनि सङ्गठनहरूबाट दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यान आकर्षण भएको छ। लोकतन्त्रका निम्ति आत्म नियन्त्रण घातक हो। झन्, आफ्नो अनुकूलता हेरी यस्ता घटनामा दिइने दबाबका कारण राष्ट्रको प्रतिभाप्रति पर्ने मनोवैज्ञानिक असरको बारेमा समेत ध्यान दिन सरकारलाई आग्रह गर्दछौँ।' 
 
यस घटनाले सरकार श्रृंखलाबद्ध ढङ्गले संविधानमा सुनिश्चित भएका नागरिक हकहरूलाई कुल्चन तम्तयार देखिएको पार्टीले आरोप लगाएको छ। भनिएको छ, ' यस घटनाले एक गम्भीर प्रवृत्तिको उजागर गरेको छ जहाँ सरकार श्रृंखलाबद्ध ढङ्गले संविधानमा सुनिश्चित भएका नागरिक हकहरूलाई कुल्चन तम्तयार देखिन्छ। शान्ति सुरक्षा विधेयक, सामाजिक सञ्जालको सञ्चालन सम्बन्धी नीति तथा अन्य नीति तथा विधेयकहरू यही मनसायले नै ल्याइएको प्रस्टैसँग देखिन्छ। र गायक शर्माको गीतलाई हटाउन दबाब दिने काम त्यही श्रृंखलाको अर्को कडी हो भन्ने हाम्रो बुझाइ रहेको छ।'

सम्बन्धित समाचार

सत्ता समर्थकको आक्रोशित प्रतिक्रियापछि पशुपति शर्माले युट्युबबाट हटाए 'लुट्न सके लुट' गीत



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell