PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शशांक, शेखर र सुजातालाई वीरगंजमा १२१ किलोको माला, ‘पार्टीको लागि तीन कोइराला एक भयौँ’



राधेश्याम पटेल

शशांक, शेखर र सुजातालाई वीरगंजमा १२१ किलोको माला, ‘पार्टीको लागि तीन कोइराला एक भयौँ’

वीरगंजः पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मरणमा स्थापित ‘जिपी कोइराला फाउन्डेशन’को शाखा वीरगंजमा पनि उद्घाटन भएको छ।

आदर्शनगर,बालमन्दिर विद्यालय परिसरमा आयोजना भएको कार्यक्रमबीच फाउन्डेशनको शाखा उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुलाई १२१ किलो फूलको मालाले भव्य स्वागत गरिएको थियो।

स्वर्गीय कोइरालाकी छोरी तथा फाउन्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइराला, कांग्रेस महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाई स्थानीय कांग्रेस नेताहरूले उक्त माला लगाई स्वागत गरे।

कार्यक्रमको उद्घाटन गर्दै फाउन्डेशनकी अध्यक्ष सुजाता कोइरालाले पार्टीभन्दा फाउन्डेशन फरक कुरा भएको बताइन्। कोइरालाले आफू हाल फाउन्डेशनमै लागेको चर्चा गर्दै पार्टी भित्रको द्वन्द्व चिर्न तीनै जनता कोइराला परिवारका नेता एक ढिक्का भएर अघि बढिरहेको बताइन्।

उनले हालको केपी ओलीको दुई तिहाइको सरकार सस्तो लोकप्रियताको भएकाले भलो नहुने बताइन्।

कांग्रेस महामन्त्री शशांक कोइरालाले गुटको सिकार बनेकाले पार्टी पछिल्लो चुनावमा नराम्ररी हारेको बताउँदै अन्तर्घात गर्नेलाई कारबाही गर्नुपर्ने बताए।

केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी अन्तरकलहमा फस्दै गएको बताए। कोइरालाले पार्टीभित्रको द्वन्द्व चिर्न तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने बताए। ओली सरकारले भ्रष्टाचार तथा महंगीमा फसेको भन्दै आलोचना गरे।

कांग्रेसका पूर्वसांसद् सुरेन्द्र चौधरीले निर्मला प्रकरणको हत्यारा हालसम्म पत्ता नलाग्नुमा सरकार नै जिम्मेवार रहेको बताए।

वीरगंज महानगरपालिकाले आदर्शनगरको पानी ट्याङ्कीस्थलमा कार्यक्रम नगर्न निर्देशन दिएपछि कांग्रेस पर्साले कार्यक्रमस्थल परिवर्तन गर्दै फाउन्डेशनको उद्घाटन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell