PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

एकाएक नेपाल भित्रिएको भारतीय नम्बर प्लेटको गाडीसँग जोडिएको क्राइम कनेक्सन



सविन ढकाल

एकाएक नेपाल भित्रिएको भारतीय नम्बर प्लेटको गाडीसँग जोडिएको क्राइम कनेक्सन

काठमाडौं : महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा करिब एक महिना अगाडि एउटा उजुरी पर्‍यो। उजुरी मानिस हराएको भन्नेमा थियो। आफ्नो भाइ हराएको भन्दै दाजुले उजुरी दिएका थिए।

उजुरीको आधारमा प्रहरीले खोजी थाल्यो। केही दिन अगाडिमात्र हराएका ती व्यक्ति फेला पनि परे। उनी फेलामात्र परेनन्, उनीसँगै एउटा रहस्यमय घटनाको पर्दाफास पनि हुन पुग्यो।

प्रहरीमा हराएको भन्दै उजुरी परेका व्यक्ति अरू कोही नभएर बिहीवार कञ्चनपुरमा १८ किलो सुन सहित पक्राउ परेका शुक्लाफाँटा नगरपालिका ११ का लक्ष्मण तिरुवा थिए। १८ किलो सुन फेला पारेको केही घण्टा बित्न नपाउँदै प्रहरीका लागि यो अर्को सफलता थियो। लक्ष्मणको घरमा थप साढे ५ किलो ६ सय ग्राम सुन बरामद भयो।

यस प्रकारणमा लक्ष्मणमात्र पक्राउ परेनन्, कैलालीमा कार्यरत सादा पोसाकमा परिचालित हुने घुमुवा प्रहरी जवान सुरज तिरुवा पनि सुन प्रकणमा मुछिए। पुनर्वास नगरपालिका वडा नम्बर २ को दशरथ बस्तीमा रहेको शङ्कर विकको घरबाट १८ किलो सुन बरामद गरिएको थियो। घरभित्र खाल्डो खनेर सुन राखिएको थियो। घर प्रहरी जवान सुरजको ससुरालीको घर भएको खुल्यो।

कसरी पक्राउ परे तिरुवा? सुनसँगको कनेक्सन के थियो?
मङ्सिर ७ गते रुपन्देहीको सुनौली नाकामार्फत् कैलाली हुँदै एक भारतीय नम्बर प्लेटको सेतो कार कञ्चनपुर पुग्यो। डीएल १० सीएफ ६९२१ नम्बरको इको स्पोर्टका चालक थिए उनै लक्ष्मण तिरुवा। भारतको नयाँ दिल्लीमा लक्ष्मण चालकका रूपमा कार्यरत थिए। लक्ष्मण नेपाल भित्रिएको केही समयमा गाडी भने गायब भयो।

गायव हुनुअघि गाडी गत पुस ८ गते होटल अतिथिमा देखिएको थियो। गायव भएको उक्त गाडीमा के थियो? किन भारतीय गाडी लिएर लक्ष्मण कञ्चनपुर पुगे त? नयाँ दिल्लीबाट लक्ष्मण गाडी लिएर भारतको अयोध्या पुगेका थिए। दुई दिन उनी त्यही बसेर नेपाल छिरे। तर, किन त?

केही दिनपछि अनौठो रुपमा केही भारतीय नागरिक नेपाल छिरे। तिनीहरुले नै तरुवाले ल्याएको गाडी फिर्ता लगेका थिए। गाडी लगेको केही दिनमा फेरि गाडी लैजानेहरु लक्ष्मणको घरमा पुगे। उनीहरु लक्ष्मणको खोजीमा घरसम्म पुगेका थिए। लक्ष्मण भने त्यतिखेर गाउँमै थिएनन्। गाउँमा पुगेका ती भारतीयले लक्ष्मणलाई उपलब्ध नगराए नजिककालाई मार्नेसम्मको धम्की दिन थाले।

आखिर किन दिए त यस्तो धम्की?
लक्ष्मण नयाँ दिल्लीमा गाडी चालकको रूपमा काम गर्थे। उनी जुन गाडी चलाउँथे, त्यो गाडीको देखाउने काम एउटा र हुने गुप्त काम अर्को थियो। विभिन्न माध्यमबाट अवैधरुपमा भारत भित्रिएको सुन नेपाल हुँदै अर्को मुलुक पठाउनु यो गाडीका चालकको जिम्मा। केही समय यो धन्दाको विषयमा लक्ष्मण नै जानकार थिएनन्। अनुसन्धानमा रहेका एक प्रहरी अधिकृतले भने, 'भारतीय तस्करले लक्ष्मणलाई अवैध सुन बोक्ने गाडीको चालक बनाएका रहेछन्।'

लक्ष्मणले यसरी नै १४/१५ पटक सुन गाडीमा राखेर ओसारपसार गरेको देखियो। गाडी मालिकले लक्ष्मणलाई गाडीमा सुन भएको कहिले पनि जानकारी दिएको प्रहरी अनुसन्धानमा देखिँदैन। केही पटक सुन ओसारेपछि लक्ष्मण आफैले गाडीमा सुनको कारोबार हुने जानकारी पाएको प्रहरीमा बयान दिएका छन्।

गत मङ्सिर ७ गते पनि गाडीमा फल्स बटम बनाएर ३२ किलो सुन पठाएको थियो। लक्ष्मणको काम गाडी पुर्‍याउनेमात्र थियो। लक्ष्मणलाई गाडीमा सुनको भएको जानकारी थियो। तर, सुन मालिकलाई भने लक्ष्मणले सुन गाडीमा भएको जानकारी दिएका थिएनन्।

उनले त्यो दिन सुन नबुझाउने विचार गरे। गाडीमा भएको सुनमध्ये ५ किलो ६ सय ग्राम सुन आफ्नै घरमा लुकाए। एक्लै करौडौंको सुन पचाउने हिम्मत लक्ष्मणमा थिएन। त्यसपछि प्रहरीमा कार्यरत आफ्ना दाजु सुरजलाई सुनको बारेमा जानकारी दिए। सुरजलाई पनि सुनको लोभले तान्यो। सबैको आँखा छल्न १८ किलो सुन सुरजले आफ्नो ससुरालीमा लुकाए।

बाँकी ८ किलो सुन गाडीमा नै राखिदिए। गाडी नआएपछि केही दिनमा भारतीय नागरिक आएर गाडी लगेका थिए। ‘उनीहरूलाई सुन गाडीमा नै छ भन्ने विश्वास थियो। तर, जब गाडीमा सुन भेटिएन। त्यसपछि उनीहरूले लक्ष्मणको खोजी गर्ने र परिवारलाई धम्काउन थाले,‘ अनुसन्धानमा खटिएका ती प्रहरी अधिकृतले भने।

अलिअलि गर्दै कञ्चनपुरमा २३ किलो सुन हराएको गाइगुइ चल्यो। सुराकी मार्फत् प्रहरीले समेत सुनको सुइँको पायो। अनि अनुन्धान सुरु गर्‍यो। अन्ततः तिरुवा दाजुभाइ पक्राउ परे।

बरामद भएको १ सय ८ टुक्रा सुनको प्रकृति हेर्दा चीनबाट नभएर म्यानमारतिरबाट आएको हुन सक्ने देखिएको प्रहरी स्रोतको दावी छ। 
सुनका मालिक भारतीय नागरिक भएको र उनी दिल्लीमा बस्दै आएको खुलेको छ।

रोचक त के भने, लक्ष्मण हराएको उजुरी प्रहरीमा दिने उनकै दाजु सुरज थिए। प्रहरीकै भाइ हराएको खबरपछि प्रहरीले लक्ष्मणको खोजी तीब्र पार्‍यो। जब उसलाई प्रहरीले सकुशल फेला पार्‍यो , अनि मात्र खुल्यो यस्तो प्रपञ्च। सुन हत्याउनेक्रममा प्रहरीलाई नै भुलाउने लक्ष्मण र सुरजको प्रयास अन्तत: उनीहरु दुवैका लागि ट्र्याप बनिसकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell