PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आत्महत्या गर्न उक्साउनेलाई पनि अब जेलमा, यसरी गर्दैछ प्रहरीले अनुसन्धान



सविन ढकाल

आत्महत्या गर्न उक्साउनेलाई पनि अब जेलमा, यसरी गर्दैछ प्रहरीले अनुसन्धान
प्रतीकात्मक फोटो

मिति : २०७५ असोज १३ गते

स्थानः कपन, काठमाडौँ

२६ वर्षकी प्रकृति राई कोठामा झुन्डिएको अवस्थामा फेला परिन्। कोठाको भित्तामा झुल टाँग्न ठोकिएको किलामा सलको पासो बनाएर आत्महत्या गरेको प्रहरीको मुचुल्कामा देखियो।

ओखलढुङगा लिखुबृन्दा गाउँपालिका घर भएका प्रकृतिका श्रीमान् प्रकाश खत्री भने पेन्टरको काम गर्छन्। उनीहरूको विवाह भएको पाँच वर्ष बितिसकेको थियो।

प्रहरीले घटनाको अनुसन्धान गर्‍यो। डाक्टर र प्रहरीको रिपोर्टले प्रकृतिको आत्महत्या नै गरेको देखायो। ‘म नै घटनास्थलमा पुगेको थिएँ। सबै प्रकृति हेर्दा आत्महत्या नै देखियो’, महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले भने।

तर असोज १७ गते श्रीमान् खत्री पक्राउ परे। प्रकृतिको आत्महत्यामा दुरुत्साहन गरेको देखियो। प्रहरीले यसैमा टेकेर कारबाही अगाडि बढायो। भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनको नयाँ नियममा परे।

ऐनको दफा १८५ मा आत्महतया गर्न कसैले कसैलाई दुरुत्साहन गरे कारबाही हुने व्यवस्था छ।

खत्रीले घटनाको एक साताअघि मात्र दोस्रो विवाह गरेर कोठामा चमेली खत्रीलाई भित्र्याएका रहेछन्। निम्न आर्थिक अवस्था। काठमाडौँमा डेरा गरी बस्नेका एउटा मात्र कोठा। अनि एउटा मात्र बेड। दुई श्रीमतीको साथ खत्री एउटै बेडमा सुत्थे। एउटै बेडमा सुते पनि सहवास भने कान्छी श्रीमतीसँग मात्र गर्ने देखियो।

‘दोस्रो विवाह भएपछि श्रीमानको व्यवहारले गर्दा प्रकृतिले हत्या गरेको देखिएकाले नयाँ कानुन अनुसार श्रीमानलाई आत्महत्यया गर्न दुरुत्साहन मुद्दा चलाएका हौँ,‘ डिएसपी बोगटीले भने।

खत्री गत असोजको पहिलो साता काठमाडौँ जिल्ला अदालतको आदेशमा ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन्। तर खत्रीको मुद्दा अझै जारी छ। खत्रीले आत्महत्या गर्न दुरुत्साहित गरेको प्रमाणित भए ऐनको दफा १८५ अनुसार अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने छ।

प्रेमिकालाई आत्महत्या गर्न प्रेरित

१९ वर्षीय रोशनी तामाङ र २७ वर्षीय धनबहादुर स्माइली मगर केही महिना अगाडि गोङ्गबुको मित्रनगरमा रहेको भरोसा होटेलमा पुगे। रसुवा धारापानी घर भएकी रोशनी र धादिङ घर भएका धनबहादुर प्रेम सम्बन्धमा थिए।

त्यो रात उनीहरूले भरोसा होटेलमा नै बिताए। तर भोलिपल्ट रोशनी होटेलमा मृत अवस्थामा फेला परिन्। रोशनी झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।

घटनाको प्रारम्भिक अनुसन्धानले आत्महत्या भएको नै देखायो। तर प्रेमीले होटेलमा लगेर जानु अनि आत्महत्या भएको कारण घटना रहस्यमा नै थियो।

प्रहरीले तत्काल प्रेमी धनबहादुरलाई नियन्त्रणमा लियो। तर के मुद्दामा धनबहादुरलाई हिरासतमा राखी राख्ने? घटना हत्या नभएर आत्महत्या देखिएको थियो। यसमा पनि भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनले साथ दियो।

आत्महत्यामा दुरुत्साहन मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु भयो।  केटीका बुबा वीरबहादुर तामाङले पनि धनबहादुरविरुद्ध प्रहरीमा उजुरी दिए।

‘मुलुकी अपराध संहिता ऐन लागू नभएको भए हामी धेरै समय अनुसन्धानमा राख्न सक्दैन थियौँ। अहिले सजिलो भएको छ। तर प्रहरीलाई अनुसन्धान गर्न भने गाह्रो र समय खर्चनुपर्छ।‘

होटेलमा पुगेको रात दुई बीच विवाद भएको र रोशनीले हत्या गरेको अनुसन्धानमा खुल्यो। अहिले धनबहादुर अदालतको आदेशमा पुर्पक्षको लागि जेल चलान भएका छन्। प्रहरीले घटनाको अनुसन्धानपछि आत्महत्यामा दुरुत्साहनबाट मुद्दा परिवर्तन गरेर कर्तव्य ज्यानमा मुद्दा चलाएको छ।

भदौ ७ गते जब श्रीमतीले विष खाइन्…

काठमाडौँको कागेश्वरी नगरपालिकाकी २५ वर्षकी रीता ठकुरीले विष सेवन गरी आत्महत्या गरिन्। रीताको गर्भमा भएको ७ महिनाको बच्चा पनि खेर गयो। तर प्रहरीको फन्दामा परे उनका श्रीमान् रोजन ठकुरी। प्रहरीले ठकुरीविरुद्ध पनि उही मुद्दा लिएर सरकारी वकिलको कार्यालयमा पुग्यो।

अदालतले म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई समय दियो। रोजनले अर्की युवतीसँग लागेर मदिरा सेवन गरी श्रीमतीलाई कुटपिट गरेको देखियो।

असोज १२ गते ठकुरी ४५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

चालु आर्थिक वर्षको छ महिनामा मात्र काठमाडौँमा १ सय ५९ वटा आत्महत्या भएका घटना दर्ता भएका छन्। गएको आर्थिक वर्षमा मात्र  ३ सय ४९ वटा  आत्महत्या भएको प्रहरीको तथ्याङकले देखाउँछ।

दैनिक १ देखि २ वटा आत्महत्याका घटना काठमाडौँमा आउने गरेको डिएसपी बोगटी बताउँछन्। ‘पहिले पहिले आत्महत्या भनेको रिपोर्ट र अनुसन्धान गर्ने बित्तिकै धेरै अनुसन्धान हुँदैन थियो। अहिले मुलुकी अपराध संहिता ऐनले अनुसन्धानको दायरमा ल्याउन मद्दत गरेको छ,‘ डिएसपी बोगटीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell