PahiloPost

Feb 21, 2019 | ९ फागुन २०७५

नाबालक छोरो त झ्यालबाटै हुलिन्, आफू चाहिँ चढ्न नपाउँदै छुट्यो बस...


सागर बुढाथोकी

नाबालक छोरो त झ्यालबाटै हुलिन्, आफू चाहिँ चढ्न नपाउँदै छुट्यो बस...

कोही अपरिचित तपाईँको काखमा बच्चा राखिदिएर छुट्यो भने तपाईँलाई कस्तो हुन्छ? के गर्नुहुन्छ, त्यस्तो बेला? के सोच्नु भो?

'सेन्सलेस' हैन त?

हिजो भयो त्यस्तै।

साँझको ६ बजे अफिसको काम सकाएर कार्यालयबाट निस्किएँ म। गाडी चढ्न रत्नपार्क पुगेँ। रत्पार्क बसपार्क सबैतिरको गाडी चढ्ने 'जक्सन'। थानकोट होस् या बनेपा, बालाजु होस् या कीर्तिपुर सबैतिरको बस कुर्ने केन्द्र। सधै भिड, सधै नै चाप। हिजो पनि त्यस्तै थियो। 

पानी सुकेकाले धुलो उडाउँदै गाडी आउँथ्यो। गाडी रोकिन नपाउँदै मानिसहरु दौडिएर चढिसक्थे। गाडी रोकिँदा त चढ्न नसक्नेगरी प्याक हुन्थ्यो। रत्नपार्कमै गाडी चढ्न सक्ने अवस्था थिएन। सक्नेहरु गाडी गुडिरहँदा नै चढ्थे। नसक्नेहरुसँग धुलो खाँदै अर्को गाडी कुर्नको विकल्प थिएन।

सधै यस्तै समस्या हुन्छ यहाँ। अफिस आउँदा होस् या जाँदा मलाई गाडी चढ्न सधै 'सकस' पर्छ। सधैँका दिन झै हिजोका दिन पनि उस्तै थियो। बिहेको साइत भएर होला गाडी कमै चलेको थियो। मान्छे बिचल्लीमा पर्न अरु ठूलो के कारण चाहिन्छ र काठमाडौंमा?

रत्नपार्कमा आधा घण्टा कुरेपछि बल्लतल्ल पनौतीको एउटा गाडी आयो। रोकिएको होइन, मान्छे अटाइनअटाइ भइसकेका थिए।

ठेलमठेलमा छिर्दा ढोका छेउको सिट मिल्यो, भाग्यवस। प्याक गाडी र सडक जाम उस्तै नियती बनिसकेको छ यहाँ।

तै पनि सहचालक भाइ हरेक स्टेशनमा घोक्रो सुक्ने गरी चिच्याउँथे, 'साँगा, बनेपा पनौती... आयो भाले गाडी भाले गाडी...।'

मानिसहरु दौडँदै चढ्न आउनेक्रम रोकिएको थिएन। सक्ने झुण्डिन्थे। नसक्ने निराश भएर फर्कन्थे।

झुण्डिएका मान्छे देख्दा डर लाग्थ्यो। भित्र बसका मान्छेहरु भन्थे - 'कहाँ कतिबेला उछिटिन्छन् यिनीहरु।'

तर, सहचालक भाइ भन्थे, 'लास्ट गाडी हो यो। उनीहरुलाई लानु परिगो। बिचल्लीमा पारेर छोड्न मिलेन।'

तर्क थियो या तर्साई! अगाडि विकल्प पनि त थिएन। सबैलाई घर पुग्नु नै थियो। तर, छुट्नेहरु त छुटिरहेका थिए। 

बिजोकका साथ कोटेश्वर पुगियो।

त्यहाँ मान्छे झार्न पाएको छैन, चढ्नेहरु उस्तै। छिनमै मान्छेहरु भरिए। एकजना महिलाले बाहिर झ्यालबाट बच्चा समात्न दिइन्। मैले समातेँ।

 
'भित्र आउनुस् दिदी म सिट छोड्दिन्छु,' यति भन्नासाथ गाडी कुदिहाल्यो। बच्चा थमाउने ती महिला कोटेश्वरमै छुटिन्।

कोटेश्वरमा जाम थियो। ट्राफिकहरु लाइन लागेर सिटी बजाउँदै थिए। ट्राफिक व्यवस्थापन गर्न उनीहरुलाई हम्मे परिरहेको थियो। सबैलाई आ-आफ्नै तनाव।

डाइभर दाइलाई ट्राफिक दाइको सिठीले गाडी हुइक्याउन दवाव पर्यो। बच्चा मेरो काखमा भएकाले मलाई झन् प्रेसर। बच्चा छुटेपछि ती महिलालाई झन् के भयो होला? 

मलाई एकाएक डर लाग्यो। थरथरी काम पो छुट्यो त। डरले पसिना छुटिरहेको बेला साढे २ वर्षजतिको त्यो नाबालक आनन्दले मेरो काखमा बसेको थियो। उ टुलुटुलु घरी मलाई घरी अरुहरुलाई हेर्थ्यो। बेलाबेलामा मुकुराउँथ्यो पनि। कस्तो अचम्म! क्या आनन्द! आमा छुटेको बाल मतलब उसलाई। बिन्दास पारामा बसेको छ ऊ। बच्चाको आनन्द देख्दा सबै छक्क।

'हुने कुरा त भइछाड्छ' यो दर्शन बुझिसकेको थियो, सायद त्यो बच्चाले। त्यसैले त बिन्दास थियो। उसको आत्म विश्वासले अलिकति मेरो डर कम भयो। '...डरके आगे जीत हैं..' विज्ञापन सम्झाइदियो, फुच्चेले।

जुडीबुटी गएर गाडी रोकियो। म ओर्लिएँ। गाडी फेरि कुदिहाल्यो। म हतारिँदै कोटेश्वरतिर फर्किएँ, आफूले पाएको सिट र गन्तव्यको गाडी छाडेर। अलिमाथि पुगेपछि रुँदै आउँदै रहिछिन् ती महिला जसले मलाई बच्चा थमाएर आफू गाडी चढ्न असफल भएकी थिइन्। मबाट बच्चा लिएपछि झन् रुन थालिन् उनी। 'लास्ट गाडी छुट्यो अब म पनौती कसरी पुग्नु?,' भन्दै थिइन् उनी।

बच्चा फिर्ता गरेपछिको दुई मिनेटमा दिमागमा यति धेरै कुराहरु आए कि कसरी लेखुँ? तर, ती महिलालाई केही भन्न सकिन। जडीबुटी चोकमा बसेका ट्राफिक प्रहरीलाई समस्या सुनाइदिएँ। ट्राफिक प्रहरीले एउटा सामान बोक्ने गाडी रोकिदिए, बनेपासम्म पुग्ने। उनलाई त्यसैमा पठाएँ।

दिदी गाडी चढ्नै लाग्दा त्यो बालकले टुलुटुलु हेरिरह्यो मलाई। म हाँसिदिएँ, फुच्चे रुन पो थाल्यो। अघिसम्म 'बिन्दास' सम्झिएको बच्चा 'पिन्चे' पो रहेछ! मैलै बाई भनेर हात हल्लाइदिएँ। केटो झन् पो रुन थाल्यो। ती दिदीलाई फुच्चे फकाउनै हम्मे। 

'बनेपाबाट सजिलै पनौती पुग्छु,' ती महिलाले त्यति भनेपछि त्यो गाडी पनि हिँड्यो। त्यतिन्जेलसम्म पनि त्यो बालक मलाई हेर्दै रोइरहेको थियो।

म भने जडीबुटीबाट हिँड्दै बालकोट आइपुगेँ। ती महिला घर पुगिन् कि पुगिनन् थाहा छैन। त्यो बालक हाँस्न थाल्यो कि नाई? त्यो पनि थाहा भएन। तर, त्यो घटनाले दिमागमा दरो झट्का दिएको रहेछ।

झट्का पनि यसरी कि ती महिलाको न नाम सोधेछु। न फोन नम्बर नै। खासै कुरा पनि केही गरिनछु।

आज मनमा प्रश्नहरु जन्मिरहेको छ, 'त्यो फुच्चे लक्का जवान हुँदा पनि गाडी चढ्न यस्तै सकस भोग्ला कि काठमाडौंबाट पनौतीसम्म मेट्रो रेलमा यात्रा गर्न पाउला?'



नाबालक छोरो त झ्यालबाटै हुलिन्, आफू चाहिँ चढ्न नपाउँदै छुट्यो बस... को लागी १ प्रतिक्रिया(हरु)

अनिल बराल [ 2019-02-12 14:46:22 ]
फुच्चेले बाईक किन्छ त्यतिबेला सम्म !😀

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट