PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रचण्डलाई ओलीका तीन झट्काः त्यसपछि दुई पाइलटको दुईतिर उडान!



बीपी साह

प्रचण्डलाई ओलीका तीन झट्काः त्यसपछि दुई पाइलटको दुईतिर उडान!
फाइल फोटो

काठमाडौं: नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)बीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी(ने क पा)मा ९ महिना नबित्दै फुटको संकेत देखिन थालेको छ। एकीकरण घोषणाका बेला एक जेटको दुई पाइलट भनिएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नै पार्टी सञ्चालनमा विवाद देखिएको छ। उक्त विवाद सतहमा आउँदा दुबै पक्षका नेताहरुबीच खुल्ला रुपमै फुटको चुनौति दिन थालिएको छ। प्रचण्डको निर्णय र अभिव्यक्तिलाई ओलीले बारम्बार चुनौति दिएका छन् भने एकीकरण प्रक्रियामा पनि अध्यक्षद्वय नै बाधक देखिएका छन्।

 

प्रचण्डलाई ओलीका तीन झट्का

झट्का १

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौमा भारत भ्रमण गर्नुअघि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि मन्त्रीहरु फेरबदल हुने बताएका थिए। प्रचण्डले आफ्नो निवासमा पत्रकारहरुलाई बोलाएरै मन्त्रिपरिषद्मा फेरबदल आउने जानकारी गराए।

प्रचण्ड दिल्ली उडेपछि प्रधानमन्त्री ओलीले चर्को प्रतिवाद गर्दै कुनै पनि मन्त्री नफेरिने बताए। अर्थात् प्रचण्डको मन्त्रिपरिषद्मा हेरफेर गर्ने तयारीलाई ओलीले बार लगाइदिए। र, मन्त्रिपरिषद्मा कुनै हेरफेर हुन सकेन। दिल्लीबाट फर्केपछि प्रचण्डले पनि ओलीको भनाई सही रहेको भन्दै आफ्नै कुराको खण्डन गर्न बाध्य भए।

 

झट्का २

अहिलेको सरकारमा संघीय समाजवादी फोरम नेपाललाई सहभागी गराउन र राष्ट्रिय जनता पार्टी नेपालको समर्थन लिन प्रचण्डको भूमिका महत्वपूर्ण छ। प्रचण्डमाथि विश्वास गरेर उपेन्द्र यादव सरकारमा सहभागी भएका थिए भने राजपाले प्रचण्डलाई नै साक्षी राखेर समर्थन दिएको थियो।

फोरम र राजपाले संविधान संशोधनका लागि बारम्बार दबाव दिदैछ। संविधान संशोधनको दबाव ओलीभन्दा बढी प्रचण्डमाथि छ। राजपा र फोरम नेताहरुसँगको पछिल्लो भेटमा प्रचण्डले संविधान संशोधनका लागि कार्यदल बनाउन तयार रहेको जानकारी दिएका थिए। सोही आधारमा राजपाका सांसद रेशम चौधरीको शपथ पनि भएको थियो। तर, ओलीले संविधान संशोधनमा बार लगाए। प्रचण्डले संविधान संशोधनका लागि बनाउने भनेको कार्यदल पनि रोकियो।

फलस्वरुप, फोरम अध्यक्ष एवं सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव आफै सहभागी सरकारबाट रुष्ट छ भने संविधान कार्यन्वयनका लागि भइरहेको कानून निर्माण प्रक्रियामा उनी सहभागी नभएकै जस्तो छ। राजपाले पनि प्रचण्डले धोका दिएको भन्दै समर्थन फिर्ता लिन तयारीमा छ। संविधान संशोधनको विषयमा ओलीले तगारो हाल्दा प्रचण्ड राजपा र फोरमबाट विश्वास गुमाएका छन्।

अर्को विषय द्वन्द्वकालीन मुद्दालाई पनि समाधान गर्न प्रचण्डले दबाव दिदैछ। एमालेमा माओवादी मिसिनको एउटा मुख्य कारण द्वन्द्वकालीन मुद्दाको समाधान पनि रहेको अन्तर्राष्ट्रिय समुदायको बुझाइ छ। यी मुद्दालाई प्रचण्डले तत्कालै किनारा लगाउन चाहान्छन् तर ओली पछि हट्दैछ।

 

झट्का ३

पछिल्लो भेनेजुएला प्रकरणमा प्रचण्ड र ओलीको विवाद मिडियाबाटै पनि सार्वजनिक भएको छ। प्रचण्डको विज्ञप्तिलाई पार्टी र सरकारबाट समर्थन भए पनि प्रधानमन्त्री ओलीले खण्डन गरे।

प्रचण्डको बोली चिप्लिएको भन्ने कुरा ओलीले गरेपछि प्रचण्डले पुनः ओलीको भनाईको खण्डन गरे। जसले विवाद सतहमा देखियो। त्यो विवादमा दुबै अध्यक्ष निकटका नेताहरुबीच आरोपप्रत्यारोप पनि सुरु भइसकेको छ।

ओली निकट उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले प्रचण्डलाई सनक चढेको र यस्ता व्यक्ति नेतृत्वमा आउन नहुने आश्यको अभिव्यक्ति दिएका छन्। पूर्व एमाले नेता भीम रावलले यस्तो अवस्थामा पार्टी टुक्रिन पनि सक्ने चेतावनी दिएका छन्।

तर, पूर्व माओवादीका नेता एवं ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डको बचाउ गरेका छन्।

 

जुट्न नसक्ने संकेत

एमाले र माओवादीबीच जेठ ३ गते एकीकरणको घोषणा भयो। एकीकरणको घोषणा भएको ९ महिना बित्नै लाग्दासमेत एकीकरणले पूर्णता पाएको छैन। एकीकरणका लागि चारवटा कार्यदल बनेपनि कुनै कार्यदलले एकता प्रक्रियालाई टुँगो लगाउन सकेको छैन।

पछिल्लो रामबहादुर थापा बादल नेतृत्वको कार्यदलमा पनि अध्यक्षद्वय ओली र प्रचण्ड पक्षको अडान तथा माधव नेपाल पक्षको मौकामा चौका हान्ने दाउका कारण एकीकरण प्रक्रिया अल्झिएको छ।

कार्यदलमा प्रचण्ड र माधव नेपाल पक्ष एक ठाउँमा उभिएपछि ओली पक्ष अल्पमतमा परेको छ। ओलीको चाहना बमोजिम एकीकरणको खाका आउने सम्भावना कम भएपछि ओली पक्षले विना कुनै निष्कर्ष कार्यदल विघटन गर्ने तयारीमा छ। तर, केही कर्मकाण्ड पुरा गर्ने प्रचण्ड र नेपाल पक्षका सदस्यहरुले तयारी थालेका छन्।

९ महिनामा पनि नेकपाको एकता प्रक्रिया टुँगो लाग्न नसक्नु, अध्यक्ष द्वयबीच विवाद जारी रहनु, पूर्व एमाले र पूर्व माओवादीका नेताहरुले आ–आफ्नो पक्षको अडानमा कायम रहनु पार्टी जुट्न नसक्ने संकेत गरेको छ। ओली नेतृत्वको सरकारप्रति प्रचण्ड पक्षकै असन्तुष्टि पनि एकताको बाधक देखिन्छ।

ओली नेतृत्वको सरकारलाई आलोचित गर्नुमा प्रचण्ड पक्षको पनि हात रहेको बुझाई पूर्व एमालेका नेताहरुमा छन्। जसको उदाहारण उपप्रधानमन्त्री इश्वर पोखरेलको अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ।

 

फुट्को संकेत

अध्यक्ष द्वय प्रचण्ड र ओलीबीचको विवाद जारी रहँदा माओवादी सकिएको छैन भन्ने प्रचण्डको अभिव्यक्तिलाई पार्टी फुटको संकेत गरेको छ। उक्त अभिव्यक्तिलाई बलियो बनाउने गरी पूर्व एमाले नेता भीम रावलको अभिव्यक्ति पनि आएको छ। अर्थात दुबै पक्षले एक अर्कालाई स्वीकार गर्न सकेको छैन। यस्तो अवस्थामा पार्टी फुट्न पनि सक्छ भन्ने रावलको अभिव्यक्ति प्रचण्डलाई चुनौती पनि छ।

‘बिस्तारै बिस्तारै अब माओवादीलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। अर्को माओवादी जन्मिन्छ र झन् ठूलो लडाईं हुनसक्छ।’ प्रचण्डको यो अभिव्यक्तिले माओवादी अझै नसकिएको प्रष्ट हुन्छ। पार्टीभित्रको आन्तरकलहलाई पनि बाहिर ल्याएको छ। जसको पुष्टि पूर्व माओवादी नेता नारायणकाजीको अभिव्यक्तिले गर्छ। नारायणकाजीले प्रचण्डको अभिव्यक्ति भेनेजुएला प्रकरणमा मात्र नभई पार्टीभित्रको थिचोमिचोलाई पनि सम्बोधन गर्ने गरी आएको प्रतिक्रिया दिएका छन्।

प्रचण्डले माओवादीको पुर्नजन्म हुन सक्ने संकेत गरेको ठानेर पूर्व एमाले नेताहरु इश्वर पोखरेल र भीम रावलहरुले प्रचण्डको आलोचना मात्रै गरेरनन् पार्टी विभाजनको कुरालाई बल दिएका छन्। पोखरेलले प्रचण्डप्रति इंगित गरी नेतृत्व लिन लायक व्यक्ति नभएको प्रतिक्रिया दिएका छन् भने रावलले पार्टी फुट्न सक्ने भनेका छन्।

यी विवादलाई समाधान गर्न गए राति प्रचण्ड र ओलीबीच भेट भए पनि त्यसले के निर्णय लियो भन्ने कुरा सार्वजनिक भएको छैन। तर पूर्व एमाले र पूर्व माओवादी नेताहरुबीचको द्वन्द्व एकले अर्कोलाई शंकाको दृष्टिले हेर्न बाध्य बनाएको छ। नेपालको राजनीतिमा फुटको मार सबभन्दा बढी कम्युनिष्टले नै खेपेको छ। नेकपा एकीकरण हुन नसक्नु र विवाद बल्झिदै जानु अर्को फुटलाई जन्म दिने सम्भावनालाई अस्वीकार गर्न सकिदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell