PahiloPost

May 20, 2019 | ६ जेठ २०७६


नेपाली युवाको हिँड्न हौस्याउने इनोभेटिभ एप : वाकम्यान - ग्रीन क्वाइन्स


सहयोग रञ्जित

नेपाली युवाको हिँड्न हौस्याउने इनोभेटिभ एप : वाकम्यान - ग्रीन क्वाइन्स

चार युवा इन्जिनियरहरु अहिले काठमाडौंको कालोपुलमा एउटा 'ड्रिम प्रोजेक्ट' सार्वजनिक गर्ने तयारी गर्दैछन्।

जियोम्याटिक्स इन्जिनियर सुयम वैद्यको नेतृत्वमा कम्प्युटर इन्जिनियर आशिक सुवेदी, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियर सुशान्त चालिसे र कम्प्युटर इन्जिनियर सन्दीप महर्जनले नेपालमा नौलो खाले 'एप' लाई अन्तिम रुप दिने कोसिस गरिरहेका हुन्।  एकआपसमा मिलेर नेपालीलाई हिँडाउने अभियानमा जुट्दै छन् यिनीहरु।   

यही भ्यालेन्टाइन्स डे अर्थात फाल्गुन २ गते उनीहरु एउटा एप सार्वजनिक गर्दैछन् : 'वाकम्यान - ग्रीन क्वइन्स'। 

यो एपले प्रयोगकर्ताहरुले हिँडेको प्रत्येक स्टेप (पाइला) रेकर्ड गर्नेछ र त्यसलाई 'भर्चुअल करेन्सी' मा रुपान्तरण गर्नेछ। प्रयोगकर्ताहरुले १० हजार स्टेप बराबर १०० 'क्वइन' प्राप्त गर्नेछन्। ती क्वइनहरुबाट विभिन्न रेष्टुरा र स्टोरहरुमा कम्तीमा २० प्रतिशत छुट पाउन सकिनेछ।  

कसरी सुरु भयो 'वाकम्यान ग्रीन क्वइन्स'
२५ वर्षे सुयम वैद्यले अमेरिकाबाट सुरुवात भएको 'च्यारिटी माइल्स एप'बाट प्रभावित हुँदै नेपालमा समेत यसको प्रयोगका बारे योजना बनाए। 

२०११ मा अमेरिकामाबाट सुरुवात भएको च्यारिटी माइल्सले एप प्रयोगकर्ताहरु हिँडेको प्रत्येक माइल बराबर निश्चित रकम वा क्वइन प्रदान गर्छ र त्यसलाई 'च्यारिटी' मा खर्च गर्छ। यस्तै अमेरिकामै सुरु भएको 'स्विट क्वइन' ले प्रत्येक १ हजार स्टेप बराबर एउटा क्वइन दिने गर्छ। ती क्वइनहरु प्रयोग गरी तपाइहरुले आइ फोन, पेपलबाट रकम भुक्तानी लगायतका कार्य गर्नसक्नु हुन्छ।  

२०१५ देखि एप बनाउन कोसिस गरेका वैद्यले आफ्नो एपको योजना त्यही वर्ष 'युथ थिंकर सोसाइटी'ले आयोजना गरेको 'कल फर आइडिया' कन्फरेन्समा प्रस्तुत गरे। कन्फरेन्समा उनको योजना ३५ औं स्थान सम्म पुग्यो।

तर, उनलाई तब ठेस लाग्यो जब उनले 'आर्थिक रुपमा सो योजना कसरी दिगो हुन सक्छ?' भन्ने प्रश्नको सामना गर्नुपर्‍यो।
त्यो बेला उनीसँग केही उत्तर थिएन। उनको 'आइडिया रिजेक्ट' भयो। 

केही समय उनको 'ड्रिम प्रोजेक्ट' बन्द भयो। उनी अन्य काममा व्यस्त भए। 

इन्जिनियरिङका विद्यार्थी बैद्य त्यसबेला 'भेरिक्स' मा काम गर्थे। आफ्ना अर्का इन्जिनियर साथी बिपुलबीच 'डेड प्रोजेक्टका रुपम रहेको' एपको कुरा भइरहन्थ्यो। बिपुलका डेभलपर साथीहरु आशिक, सुशान्त र सन्दीपको भेट सुयमसँग भयो। चार जनाको 'टिम' बन्यो। करिब ६ महिनाको प्रयासपछि बनेको 'वाकम्यान ग्रीन क्वइन्स' एप अब लन्च हुने संघारमा छ। 
**
काठमाडौं उपत्यकामा अहिले धेरै मानिस स्मार्ट फोन प्रयोग गर्छन्। तर धेरैले त्यसको उपयोगिता सामाजिक संजाल चलाउन मात्रै प्रयोग गर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ। 'डिजिटल ट्रान्ज्याक्सन' शहर केन्द्रीत युवाको जमातमा सीमित छ। आवश्यक्ताका बेला छुट दिएर व्यापार बढाउने लक्ष्य लिएका धेरै एपहरु छन्। हिँड्ने संस्कृति पनि कमै छ। यस्तो अवस्थामा पनि एपले राम्रो बजार हासिल गर्न सक्ने सुयमको विश्वास छ।

हुन त बजारमा पाइने स्मार्ट फोनमा प्रयोगकर्ताको स्टेपको तथ्याङक रेकर्ड गर्ने 'प्रि- इन्सटल्ड एप' नहुने होइन। तर 'वाकम्यान - ग्रीन क्वइन्स' मा ती एप भन्दा भिन्न रहेको विशेष्ता भनेकै प्रयोगकर्ताले पाउने 'डिस्काउन्ट' हो। प्राप्त क्वइनबाट प्रयोगकर्ताले निश्चित स्टोरहरुमा 'डिस्काउन्ट' प्राप्त गर्न सक्छ्न। त्यसैले यस एप प्रति धेरै मानिसहरु आकर्षित हुनेमा युवा एप डेभलपरहरु विश्वस्त छन्।

प्रयोगकर्ताको स्टेप मात्रै नभइ एपमा तपाईले दिनमा कति 'क्यालोरी बर्न' गर्नु भयो भनेर र आफ्ना फेसबुक साथीहरु कति हिँडे भनेर सम्म थाहा पाउन सकिन्छ। 

नेपालमा एपहरुको प्रयोगमा वृद्धि हुँदैछ। मानिसहरु प्रविधि मैत्री हुँदैछन्। तर त्यही प्रविधिले उनीहरु एउटा कोठामा सीमित भएका छन्। त्यसैले सन्दीप प्रविधिकै प्रयोग गरी मानिसलाई घरबाट बाहिर निकाल्न यो एपले सहायता गर्ने बताउँछन्। भन्छन्, 'मेरो धेरै हिँड्ने बानी थिएन। तर अब आफैले वाकम्यान बनाएपछि त हिँड्नै पर्‍यो। सुरुवात आफैबाट गर्ने हो। अनावश्यक बेलामा निजी गाडीको प्रयोग कम गर्दै हिँड्न प्रोत्साहन गर्नु यसको उद्देश्य हो।' 

एपलाई सबै उमेर समूहका मानिसले प्रयोग गर्न सक्ने भएता पनि विशेष गरी १३ वर्षदेखि ३९ वर्ष सम्मका मानिसले यसको प्रयोग गर्ने अनुमान गरिएको छ। यद्यपि, एपलाई थप परिमार्जन गर्दै लैजाने क्रममा टार्गेट ग्रुपको उमेर बढ्न सक्छ। 
**


भारतीय दूतावास र कल्क बी इनोभेसनले काठमाडौंमा जनवरी १९ मा 'कन्नेक्ट इन' आयोजना गरेको थियो। त्यसमा ४५० प्रतिस्पर्धीहरुबाट 'वाकम्यान - ग्रीन क्वइन्स' शीर्ष ६ मा पुग्न सफल भयो। शीर्ष ६ मा १ भारतीय र ५ नेपाली 'आइडिया'हरु पुग्न सफल थिए। 

शीर्ष ६ मा पुग्नु उनीहरुको लागि गौरवको कुरा थियो। त्यो भन्दा धेरै खुशी उनीहरुले तब महसुस गरे जब  नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले उनीहरुले प्रयोगमा ल्याउन लागेको एपको प्रशंसा गरे। आशिकका अनुसार पुरीले स्टेजबाटै 'वाकम्यान' को तारिफ गरे र एप चलाउँछु भने। 

आशिकलाई बाल्यकालदेखि आर्थ्रिटिज थियो। उनलाई बस्न, डुल्न गाह्रो हुन्थ्यो। किशोर अवस्थामा साथीहरुसँग हाइकिङ, ट्रेकिङ गर्दै हिँड्दा उनलाई आर्थ्रिटिजका कारण हुने पीडा कम भएको महसुस भयो। सुयमसँग भेट भएपछि उनलाई आफ्नो बाल्यकालको दु:खाइ याद आयो। हिँडेर पनि आफूमा भएको रोग कम गर्नसक्ने बुझेका उनले मान्छेलाई हिँड्न प्रोत्साहन गर्न एप बनाउनु पर्नेमा सहमति जनाए। त्यसैले उनी आफूलाई 'वाकम्यान' को को-फाउन्डर भन्दा त्यसैको ग्राहक भन्न रुचाउँछन्। 

यस्तै, घर नजिकै पसलमा सामान लिन जानुपर्‍यो भने बाइक लिएर जानेमा पर्छन सुशान्त चालिसे। तर आफ्नो बानीमा परिवर्तन ल्याउन सफल हुँदैछन् उनी 'वाकम्यान' कै कारण।

चालिसे सुयमको आइडिया राम्रो कामका लागि भएकोले आफू आकर्षित भएको बताउँछन्। नेपालमै आइटी क्षेत्रमा राम्रो करियर देखेकाले उनी भन्छन्, 'पहिला सानो कामका लागि समेत बाइकमा जाने बानी थियो। पछि यो एपको युजर आफू पनि हो जस्तो लाग्यो।'  

बजारमा डिजिटल कारोबार गर्ने एपहरुभन्दा मोटरसाइकलहरु आफ्नो ठूलो प्रतिस्पर्धी रहेको बताउँछन् उनी। गाडी 'स्टार्ट' गर्दा धेरै कार्बन उत्सर्जन हुने र छोटो दुरीमा गाडी चलाउँदै, रोक्दै गर्दा बढी कार्बन उत्सर्जन हुने हुँदा सकेसम्म छोटो दुरीमामात्रै मान्छेहरुलाई हिँडाउने हो भने कार्बन उत्सर्जनलाई रोक्न सफल हुनेमा उनको विश्वास छ। 

त्यसैले एपमा एउटा फिचर समावेश गरेका छन् उनीहरुले। हिँडेर जानु भन्दा बाइकमा यात्रा गर्दा तपाईले कति कार्बनडायोअक्साइड उत्पादन गर्नु भयो भनेर त्यसमा देखाइनेछ।  
**
'बिजनेस मोटिभ' भन्दा 'सोसियल इनिसिएसन' का रुपमा यो एप विकास गरिएको छ। 

सुरुमा गैर नाफा मुलक हुने भनिएको यो एप पछि गएर सामाजिक उत्तरदायित्वसँग जोडिएको हो। किनभने गैर नाफा मुलक बनाउँदा उनीहरुमाथि आर्थिक रुपमा कसरी बाँच्न सकिन्छ भन्ने धेरै प्रश्न फेरि तेर्सियो। 

कुनै पनि काम आर्थिक स्थायित्वबिना सफल हुन सक्दैन भने त्यो व्यापार होइन एउटा संस्था वा एनजीओ जस्तै हुने भन्ने चारैजनाले महसुस गरे। 'विजनेस मोडेल'मा बनेको एपलाई 'एनजीओ स्टाइल'मा चलाउन खोज्दा ठेस लाग्नु स्वभाविक रहेको बुझे।  

आशिक एउटा घटना सुनाउँछन्, 'सोसियल इनिसिएसनमा आधारित भएर हामीले यो प्रोपोजल एक जना कहाँ लग्यौं। उनले एपलाई कसरी आर्थिक रूपमा दिगो बनाउने भनेर प्रश्न गरे। हामीले प्रायोजक खोज्ने भन्यौं। ती व्यक्तिले हामीलाई अरुसँग 'मागेर' कम्पनी कति सम्म चल्छ भनेर फेरि प्रश्न गरे।' 

तितो लागे पनि त्यो कुरा चारै जनाको मनमा बिज्यो। त्यसबाटै उनीहरुलाई 'वाकम्यान' लाई 'सोसियल बिजनेस मोडल' मा ढाल्न प्रेरणा मिल्यो।' 

कसरी चल्छ एप ?

फेब्रुअरी १४ देखि गुगल प्ले स्टोरबाट यो एपको 'बेटा भर्सन' डाउनलोड गर्न सकिनेछ। एप्पल प्रयोगकर्ताहरुका लागि आइओएसमा समेत छिट्टै एप सार्वजनिक हुनेछ।  
डाउनलोड गरे पछि तपाइँले आफ्नो इमेल आइडी वा फेसबुक एकाउन्ट प्रयोग गर्दै एप चलाउन सक्नु हुन्छ। 

एक पटक लगइन गरिसकेपछि एपले अफलाइन काम गर्छ। इन्टरनेट जोडिएपछि एपमा रेकर्ड भएका स्टेपहरु स्वत: अपडेट हुनेछ।  
अहिले '१० हजार स्टेपबाट १०० क्वइन'हरु दिने उनीहरुको योजना छ। पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको 'वाकम्यान' विस्तारै उपत्यका बाहिरका शहरहरुमा विस्तार हुनेछ। 

एप प्रयोगकर्ताले वेलनेस स्पा, जीम, कपडा, जुत्ता र खानेकुराका निश्चित स्टोर र रेष्टुराहरुबाट आफूसँग भएका क्वइनहरु प्रयोग गरी कम्तीमा २० प्रतिशत छुट पाउन सक्नेछन्। 

प्रयोगकर्ताहरुले एपमा देखाइने 'क्यू आर कोड' को माध्यमबाट निश्चित स्टोरहरुमा जाँदा छुट पाउन सक्नेछन्। स्टोरमा रहेको 'वाकम्यान फर बिजनेस एप' ले प्रयोगकर्ताको 'क्यू आर कोड' स्क्यान गर्नेछ। विस्तारै यस प्रकियालाई सरलीकरण गर्ने तर्फ पनि उनीहरुले काम गरिरहेका छन्।  

यस्तै एपको दुरुपयोग हुनबाट बचाउन उनीहरुले प्रयोगकर्ताको 'भेलोसिटी' मापन गर्ने प्रविधि प्रयोग गरेका छन्। 'फुट ट्रयाकिङ टेक्नोलोजी'को माध्यमबाट २० किलोमिटर प्रति घण्टा भन्दा बढी गतिमा हिड्यो वा दौडियो भने एपले स्टेपहरु रेकर्ड गर्ने छैन। दौडने र बाइकमा सवार हुनेहरुबाट 'स्टेप कन्ट्रोल' गर्न यस्तो गरिएको हो। 

'वाकम्यान' एउटा 'आउट डोर एप' भएकाले घर भित्र भने यो एपले स्टेप रेकर्ड गर्दैन। 'जीपीएस' नटिप्ने स्थानमा एपले काम गर्नेछैन। 
हाललाई यो एप काठमाडौं उपत्यका भित्रमात्रै सीमित छ। गुगलले पहिचान गरेको बाटोमा हिँड्दा उक्त एपले काम गर्छ। एप भित्रै नक्साको 'इन-एप' हुनेछ। जसबाट प्रयोगकर्ताहरुले आफू हिँडिरहेको स्थान बारे थाहा पाउनेछन्। त्यस्तै नक्सामा 'डब्लु' अंकित स्थानले 'वाकम्यान पार्टनर' देखाउनेछ र एपमा रहेको क्वइन अनुसार सो स्टोरहरुमा छुट पाउन सकिन्छ। 

विस्तारै खानेपानीको बिल, बिजुलीको बिल लगायतका 'युटिलिटी पेमेन्ट'मा छुट दिने कोशिस गर्ने उनीहरुको लक्ष्य छ। यसका लागि सरकारले सहयोग गर्नेमा उनीहरु आशावादी छन्। 

तर व्यापारको हिसावमा हालसम्म कुरा गरेका कम्पनीहरुबाट राम्रो प्रतिक्रिया आए पनि आफू जस्ता स्टार्टअपहरु आत्मनिर्भर बन्न सरकारका नीतिहरु बाधक भएको उनीहरुको बुझाइ छ। नेपालमा 'स्टार्ट अप' व्यवसायहरु धेरै फस्टाए पनि त्यसलाई बढावा दिनुको साटो सरकार सबैलाई बन्द गर्न उन्मुख हुँदा त्यसले युवाहरुमा निराशा छाएको छ,' सुयम भन्छन्। 

'विश्वव्यापी ड्रोनको प्रयोग हुने गर्छ तर यहाँ भने नियमन गर्नु छैन। त्यसको प्रयोगमा सिधै प्रतिबन्ध। यो कसका लागि?' उनी प्रश्न गर्छन्। 
यद्यपि, उनीहरुले नेपाल पर्यटन बोर्डसँग भने एपबारे छलफल गरिसकेका छन्। 

काठमाडौं उपत्यकामा ट्रेकिङ र हाइकिङको राम्रो सम्भावना रहेको र पर्यटकहरु छुटयाइएको रुट बाहेक अरु स्थानमा नजाने भएकाले पर्यटकहरुलाई एपबाट रुटको जानकारी दिने र स्टोरहरुबाट छुटको फाइदा हुने हुनाले बोर्डसँग मिलेर 'वाकम्यान' लाई पर्यटन प्रबर्द्धनमा लगाउने उनीहरुको प्रयत्न छ। 

एपबाट आन्तरिक पर्यटनमा बढावा हुने र नयाँ रुटहरु विकास हुने सम्भावना रहेको दाबी गर्दै सुयम हाल निश्चित गरिएका रुटमा मात्रै नेपालको पर्यटन क्षेत्र सीमित नभएको तर्क गर्छन्। त्यसैले सम्भाव्यता बोकेको स्थानहरुका रेष्टुँरा र पसलहरुलाई पार्टनर बनाएर एपको नक्सामा देखाउन सके त्यो स्थानको प्रबर्द्धन हुने बताउँछन्। 

प्रणय दिवसका दिनदेखि उपलब्ध हुने यस एपको प्रचार गर्ने नौलो तरिका सोच्दै छन् उनीहरु। एपले राम्रो प्रतिक्रिया पाए ट्राफिकसँगको सहकार्यमा जेब्रा क्रसिङ बनाउने र त्यसमा 'वाकम्यान' को लोगो पेन्ट गर्ने योजना छ। 

हाललाई एप अंग्रेजी भाषामा मात्रै रहे पनि भविष्यमा नेपाली भाषामा समेत एपलाई रुपान्तरण गर्ने योजना छ। यसबाट अझै धेरै मानिसहरु एपसँग जोडिने उनीहरुको विश्वास छ।
 



नेपाली युवाको हिँड्न हौस्याउने इनोभेटिभ एप : वाकम्यान - ग्रीन क्वाइन्स को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट