PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अनशनको २३ औ‌ं दिनमा संसद, सडक र अस्पतालमा देखिएका दृश्य: डा केसीको काउण्टरमा र्‍याली, अरु के के भए?



सागर बुढाथोकी

अनशनको २३ औ‌ं दिनमा संसद, सडक र अस्पतालमा देखिएका दृश्य: डा केसीको काउण्टरमा र्‍याली, अरु के के भए?

काठमाडौं : राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि संशोधनको विकल्प पनि सकिएको छ। अर्थात डाक्टर केसीको अन्तिम आशा निराशामा परिणत भएको छ।

आज अनशनको २३ औं दिन देशभर डाक्टर केसीको समर्थन र विरोधमा विभिन्न गतिविधि भए। संसद, सडक र मन्त्रिपरिषदको पत्रकार सम्मेलनमा जताततै डा केसीकै चर्चा भयो। बिहानै ११ बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा डा केसी विरुद्ध काउण्टर र्‍याली भयो। उनलाई अस्पतालबाट निकाल्नु पर्ने नारा सुनियो।

अस्पताल क्षेत्र अनशन मुक्त क्षेत्र भन्दै केही प्राध्यापकहरुले अस्पतालमा नाराबाजीसमेत गरेका थिए। 'डाक्टर केसी चाहिँदैन अनशन बस्न पाइदैन' भन्दै नारा लगाइएको थियो।

महराजगञ्ज क्याम्पसका पूर्व प्रमुख प्रा. डा रामप्रसाद उप्रेतीको नेतृत्वमा केसीविरुद्ध नयाँ अभियान सुरु भएको हो। उप्रेतीलाई चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी ठहर्‍याएको थियो।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले चिकित्सा शिक्षामा अनियमितता भएको र त्यसमा संलग्न रहेको भन्दै ४३ जनालाई कारबाहीको सिफारिस गरेको थियो। आजको आन्दोलनलाई नेतृत्व गरिरहेका डाक्टर उप्रेतीको नाम त्यो सूचीमा पनि छ।

उप्रेती स्वास्थ्य मन्त्रालयबाट अस्पताल सञ्चालनको स्वीकृती समेत नलिएको सुनसान नेसनल अस्पताललाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिन सिफारिस गर्ने व्यक्तिमध्येका एक हुन्।

त्यस्तै त्यसको लगत्तै माइतीघर मण्डलमा नेपाल चिकित्सक संघ लगायत अन्य संस्थाहरुले डाक्टर केसीको जीवनरक्षा गर्न भन्दै र्‍याली आयोजना गर्‍यो। सरकारलाई डाक्टर केसीको माग पुरा गर्न दबाब स्वरुप उनीहरुले र्‍याली निकालेका थिए। चिकित्सक संघमा आवद्ध डाक्टरहरु शिक्षण अस्पतालमा डा केसीको मागलाई ऐक्यवद्धता जनाउँदै विगत तीन दिनदेखि रिले अनशन बसिरहेका छन।

त्यसको लगत्तै विवेकशील नेपाली दलले डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै संसद भवनको पश्चिम गेट अगाडि धर्ना दियो। 'नागरिकको भोट माफियाको नोटसँग साट्न पाइदैन' भन्ने नाराका साथ उनीहरुले विरोध गरेका थिए।

भवन बाहिर विवेकशीलको र सभाहल भित्र कांग्रेसले  विरोध गर्दागर्दै चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित भयो।

प्रतिनिधिसभाबाट पारित भइ सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा राष्ट्रियसभामा तीन वटा संशोधन प्रस्ताव दर्ता भएका थिए। सो प्रस्तावहरु बहुमतले अस्वीकृत भए। संशोधन प्रस्ताव राजपाका सांसद वृजेशचन्द्र लाल, कांग्रेसका सांसदहरु राधेश्याम अधिकारी, सरिता प्रसाइ, प्रकाश पन्थ र बद्री पाण्डेले दर्ता गराएका थिए।

विधेयक पारित भए लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा केसीलाई भेटी अनशन तोड्न आग्रह गरे।

'सरकारले तपाईको माग पुरा गरेन भनेर ज्यान नफाल्नुस् अहिलेलाई आफ्नो जीवनरक्षा गर्नुस्,' देउवाले केसीलाई भनेका थिए।

त्यस्तै मन्त्रिपरिषदका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले डाक्टर गोविन्द केसीको माग सरकारले पुरा गरिसकेकाले अब 'पिलो कोट्याएको जस्तै एउटै कुरा नकोट्याउन' आग्रह गरे।

मन्त्रिपरिषदको निर्णय सुनाउने क्रममा बास्कोटाले भने,' हामीले बारम्बार भनेका छौँ, डाक्टर साबले माग पूरा भएको खुशीयालीमा अनशन तोड्नुपर्छ। उक्साउन हिँड्नेहरु त्यो भ्रमबाट मुक्ति हुने र उक्साउनेहरुले पनि त्यसो नगर्ने। डाक्टर साबलाई यो चिसो मौसममा तातो खुवाएर स्वस्थ बनाउने। डाक्टर साबले पनि आफ्नो जित र जनताको जित भएको छ भन्दै मलम पट्टी र सिटामोल बोकेर जनताको बीचमा जानुपर्छ।'

उनले डा.केसीको माग पुरा भएको भन्दै ५ सुझाव समेत दिए। डाक्टर केसीलाई उक्साउनेले नै अवतरण गर्नुपर्ने उनको तर्क थियो।

यता, डाक्टर केसीले भने सरकारले माग पुरा नगरेसम्म अनशन नतोड्ने बताएका छन्। राष्ट्रिय चिकित्सा विधेयक दुवै सदनबाट पारित भएपछि केसीले अनशन नतोड्ने बताएका हुन्। माग पुरा नभएसम्म अनशन जारी रहने केसीले बताएको उनका सहयोगी प्रितम सुवेदीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell