PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सुमार्गीको रकमले बैंकको 'निद हराम', एनबी सकसमा, पैसा फर्काउन नसक्ने हालतमा बैंक



पहिलोपोस्ट

सुमार्गीको रकमले बैंकको 'निद हराम', एनबी सकसमा, पैसा फर्काउन नसक्ने हालतमा बैंक

 

काठमाडौं : सर्वोच्च अदालतको फैसलापछि नेपाल राष्ट्र बैंकले व्यवसायी अजयराज सुमार्गीको पैसा फिर्ता गराउन बैंकहरुलाई निर्देशन दिए पनि फिर्ताका लागि कानुनी जटिलता देखिएको छ। 

पाँच वर्षदेखि रोकिराखेको पैसा झिक्न दिन सर्वोच्च अदालतले गत १० गते मंगलबार आदेश दिएपछि सुमार्गीले एक साताभित्रै नेपाल इन्भेष्टमेन्ट बैंकबाट पैसा झिकेर अन्य बैंकमा सारेका थिए। 

सुमार्गीको ७८ करोड रुपैयाँ (६९९९९८९ अमेरिकी डलर) बैंकमा फ्रिज भएर बसेको थियो। ७८ करोड रुपैयाँमध्ये २३ करोड रुपैयाँ सुमार्गीले इन्भेष्टमेन्ट बैंकबाट लिएको ऋण तिर्न प्रयोग गरेका थिए। 

कुल ७८ करोडमध्ये बाँकी रहेको ५५ करोड रुपैयाँ अन्य तीन बैंकमा सुमार्गीले लगेका थिए। सुमार्गीले त्यो पैसामध्येबाट अधिकांश ऋण तिर्न प्रयोग गरेका छन् भने तीन करोड रुपैयाँ हाराहारी सरकारको राजस्व बुझाउन प्रयोग गरेका छन्।

'ऋण तिर्न प्रयोग भएको पैसा फेरि बचत खातामा ल्याउन कानुनले नै रोक्छ। यता सर्वोच्चको आदेश पनि मान्नु पर्नेछ,' एक बैंकरले भने, 'हामी अहिले साँच्चै अप्ठेरामा छौं।'

सुमार्गीले २३ करोड इन्भेष्टमेन्ट बैंकलाई छाडेर ५५ करोड रुपैयाँमध्ये २५ करोड नेपाल बंगलादेश बैंक (एनबी) मा ऋण तिर्न लगेका थिए। बाँकी रहेको ३० करोडमध्ये १० करोड महालक्ष्मी विकास बैंक र २० करोड प्राइम बैंकमा लगेका थिए। प्राइम बैंकमा पैसा जम्मा भएपछि उनले फेरि त्यहाँबाट १० करोड झिकेर एनबी बैंकमै पुर्‍याएका थिए।

उनले मुक्तिश्री सिमेन्ट उद्योगको ऋण तिर्नका लागि त्यो पैसा प्रयोग गरेका थिए। उनले विदेशबाट पनि मुक्तिश्रीकै नाममा पैसा ल्याएका थिए।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले खुलाएको सुमार्गीको पैसा प्रधान न्यायाधीश राणा र न्यायाधीश डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले फिर्ता ल्याउन निर्देशन दिएको थियो। 

सुमार्गीले मुक्तिश्री सिमेन्ट उद्योगको नाममा विदेशबाट पैसा ल्याएका थिए। यो पैसाको स्रोत नखुलेको भन्दै राष्ट्र बैंकले 'सम्पति शुद्धिकरण' अनुसार कारवाही हुनुपर्ने माग दावीसहित सर्वोच्चमा भ्याकेटमा गएको छ। 

जोशीले आदेश दिएको दुई दिनभित्र सुमार्गीले पैसा झिकेका थिए। राष्ट्र बैंकले सुमार्गीको पैसा पुगेका बैंकहरुलाई बुधवार पत्र लेख्दै फिर्ता गर्न निर्देशन दिइसकेको छ। सुमार्गीले इन्भेष्टमेन्ट बैंकबाट लगेको पैसा अरु बैंकको ऋण तिर्न, कर्मचारीको तलब भूक्तानी गर्न, सरकारलाई राजस्व बुझाउन प्रयोग गरिसकेका छन्।

'ऋण तिरेको पैसा पुरानै अवस्थामा फर्काउन ऋणी सुमार्गीको स्वीकृती आवश्यक पर्छ। अब उनले स्वीकृति दिँदैनन्,' ती बैंकरले भने, 'त्यसैले पुरानै अवस्थामा पैसा फर्काउन गाह्रो छ।'

उनका अनुसार ऋण भूक्तानी चेक काटेर दिएका छन्। त्यो पैसा फर्काएमा ऋण भूक्तानी भएको देखिँदैन। यता बैंकहरुले धितो फुकुवा गरिसकेका छन्। बैंकहरु सोझै समस्यामा पर्ने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell