PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रोकिएन केराउको तस्करीः २५ टन केराउ र ट्रक प्रहरी नियन्त्रणमा, विरोधमा व्यवसायीको चक्काजाम



राधेश्याम पटेल

रोकिएन केराउको तस्करीः २५ टन केराउ र ट्रक प्रहरी नियन्त्रणमा, विरोधमा व्यवसायीको चक्काजाम

वीरगंजः विदेशबाट ल्याई पर्सा÷बाराको नाकाबाट हुने केराउको तस्करी रोकिएको छैन। विगतमा तेस्रो मुलुकबाट मरीचको अत्यधिक तस्करी हुने गरेकोमा चालू आर्थिक वर्षदेखि केराउको तस्करी भइरहेको पछिल्ला घटनाक्रमहरूले देखाएका छन्।

यसै क्रममा पर्सा प्रहरीले गएराति तिलावे खोला नजिकबाट केराउ बोकेर भारतीय सीमा क्षेत्रतर्फ गइरहेको ट्रक पक्राउ गरेको छ। प्रहरीले उक्त ट्रकबाट २५ टन केराउ बरामद गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए।

‘ना ४ ख १२४ नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा ५०० बोरा केराउ फेला परेको छ’, ढकालले भने ‘त्यत्रो परिमाणमा ग्रामीण भेगमा केराउ किन जान्छ? तस्करीकै लागि लागिएको अशंकामा हामीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेका छौँ।’

मुख्य तस्करको खोजी भइरहेको प्रहरीले जनाएको छ।

१५ दिनअघि एक ट्रकले बहुअर्वाभाटामा रानीगंजकी एक महिलालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो। नियन्त्रणमा लिइएको ट्रकबाट ग्रामीण भेगमा केराउको ओसारपसार भइरहेको रहस्य खुलेको थियो। तीन महिनाअघि पनि पर्सा प्रहरीले केराउ बोकेका २ ट्रयाक्टर नियन्त्रणमा लिएको थियो।

 

प्रहरीको विरोधमा चक्काजाम

प्रहरीले भारतीय सीमाभन्दा ५ किलोमिटर उत्तरबाटै ट्रक समातेपछि केराउ व्यापारी भेला भई बिहीबार प्रहरीको विरोधमा प्रदर्शन समेत गरेका छन्। बालाजी सप्लायर्स रानीघाटबाट १६ लाख ७५ हजार रुपैयाँ मूल्यमा खरिद गरेको २५ टन केराउ सन्दीप सप्लायर्समा लगिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी ट्रक नियन्त्रणमा लिएको उनीहरूको दाबी छ। उनीहरूले प्रहरीले अनावश्यक दुःख दिएको भन्दै तिलावे पुलमा टायर बालेर प्रदर्शन गरेका थिए।

व्यापारीको प्रदर्शनका कारण ग्रामीण भेगको सवारी आवागमन प्रभावित भएको थियो। प्रहरीले बल प्रयोग गरी वीरगंज–पोखरीयाको तिलावे पुलको जाम हटाएको थियो। प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो। झडपको भिडियो खिचेको पत्रकार श्याम कुशवाह र दीपक चौरसियासहित तीन जना घाइते भएका छन्।

 

६ जना पक्राउ

प्रहरीले चक्काजाम र प्रदर्शन गर्ने ६ जना व्यापारीलाई नियन्त्रणमा लिएको छ। निरञ्जन तिवारी, सोनालाल साह, नवलकिशोर साह, दामोदर तिवारी, चिन्टु तिवारी, रवि गुप्ता र सन्तोष गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell