PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘इन्काउन्टर’ प्रहरीको बाध्यता कि प्रोपोगाण्डा? प्रहरी भन्छ- 'उनीहरुले गोली चलाए हेरेर बस्ने कुरा आउँदैन'



सविन ढकाल

‘इन्काउन्टर’ प्रहरीको बाध्यता कि प्रोपोगाण्डा? प्रहरी भन्छ- 'उनीहरुले गोली चलाए हेरेर बस्ने कुरा आउँदैन'

काठमाडौँ : ‘पुलिससित भिड्न आए हामीलाई पनि हतियार बोक्न मात्र दिएको होइन। परेको अवस्थामा प्रयोग पनि भइहाल्छ,‘  प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले मंगलबार रिपोर्टर्स क्लबमा भएको  साक्षात्कार कार्यक्रम भने।

यस्तो अभिव्यक्ति दिएको २४ घन्टापनि नबित्दै बुधबार बिहानै सप्तरीमा ३५ वर्षीय दीपेन्द्र चौधरी प्रहरीको ‘इन्काउन्टर’मा मारिए। 

चौधरी प्रहरीको खोजी सूचीमा थिए। तर के चौधरीलाई नियन्त्रण लिन प्रहरीले गोली नै चलाउनु पर्ने अवस्था थियो?

राजविराज सडकखण्डको १ किलो भन्ने स्थानमा रुपनीबाट राजविराज मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई चेकिङमा रहेको प्रहरीले रोक्न खोज्दा प्रहरीलाई लक्षित गरी गोली हानेर भाग्न खोज्दा प्रहरीले आत्मरक्षाको लागि जवाफी फायरिङ गरेको प्रहरीको दाबी छ। 

 

‘हाम्रो टोलीलाई उनीहरूले गोली प्रहार गरेपछि जवाफी फायर गरेको हो। प्रहरीले आत्मरक्षाको लागि गोली चलाएको हो। अन्य कुनै कारण नै छैन,‘  २ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी हरि पालले भने।

पाँच वर्षअघि असई रमेश सुव्वाको हत्या र एक साताअघि सप्तरीको खड्ग नगरपालिकामा प्रहरी हवल्दार महेन्द्र सतरालाई गोली हानी घाइते बनाएको र इलाका प्रहरी कार्यालय कडरबोना नजिकै बम पड्काएको घटनामा चौधरी नै संलग्न रहेको दावी प्रहरीको छ। 

केही सातादेखि तराईका जिल्लामा अपराधी नियन्त्रण लिन प्रहरीले सुटआउट गरिरहेको छ। एक पूर्वप्रहरी अधिकृत प्रहरीले कहिलेकाहीँ अपराधीलाई तर्साउन इन्काउन्टर गर्ने गरेको बताउँछन्। उनी भन्छन्,’समय परिस्थिति अनुसार इन्काउन्टरको ट्रेन्ड सेट गर्छ प्रहरीले। अपराध बढेको समयमा अपराधीलाई तर्साउन रणनीति बनाएको हुन्छ।‘

अघिल्लो शुक्रबार पनि सिराहामा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिन गोली चलाएको थियो। प्रहरीको गोली लागेर प्रमोद यादव घाइते भएका थिए। त्यतिबेला पनि प्रहरीले आत्मरक्षाको लागि चलाएको दावी गरेको थियो। सिराहाका डिएसपी माधवराज खरेलले भने, ’प्रहरीबाट भाग्नको लागि गोली चलाएको र जवाफमा फायर गरेका थियौँ।‘ 


पुस २९ गते राति करिब १२ बजेतिर रुपन्देहीमा प्रहरीसितको मुठभेडमा सिद्धार्थनगर नगरपालिका - ६ गल्लामण्डीका केदार साहनी मारिए।

प्रहरीको मोस्ट वारेन्ट सूचीमा रहेका साहनीलाई सिद्धार्थनगर नगरपालिका १० देशार पोल्ट्री फार्म अगाडिको चोक नजिकै प्रहरीले गोली हानेको थियो। साहनी दश वर्षदेखि जबर्जस्ती फिरौती असुली, हातहतियार खरखजाना तथा कर्तव्य ज्यान, शरीर अपहरण बन्धकलगायत मुद्दामा फरार रहेका व्यक्ति थिए। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले उही जवाफ दिएका थिए, ‘हाम्रो टोलीलाई फायर गरेपछि जवाफी फायर खोलेको हो।‘
घटनास्थलबाट युपी ५३ एच २०२८ नम्बरको मोटरसाइकलसमेत फेला पारेको थियो। मोटरसाइकलको पछाडि बसेका युवकले गोली चलाएका थिए। एक युवक भने फरार भएको प्रहरीले जनाएको छ। 

प्रहरीले गरेको हरेक इन्काउन्टरमा मोटरसाइकलमा बसेका अर्का व्यक्ति भने  फरार नै भएको देखिन्छ। किन हरेक यस्ता घटनामा एक जनालाई मात्र गोली लाग्छ अनि अर्को व्यक्तिलाई समाउन सक्दैन? प्रहरीको इन्काउन्टरमा यसले शङ्का थपिदिने काम गर्छ।

तराईका जिल्लामा साना हतियारदेखि अन्य आपराधिक गतिविधि धेरै हुने गरेको देखिन्छ। त्यसैले पनि तराईमा इन्काउन्टर हुने र गोली चल्ने सङख्या बढी देखिन सकिने पूर्वएआइजी देवेन्द्र सुवेदी बताउँछन्। पूर्व एआइजी सुवेदी भन्छन्,’ इन्काउटर सायद आवश्यकता पनि होला। इन्काउन्टर आफैमा अचानक हुने कुरा हो। अपराधीसँग हतियार भएपछि फायरिङ हुन सक्छ।‘

गत बुधवार सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटस्थित २२ वर्षीय दीपकसिंह ठकुरीको हत्याको अभियोगमा प्रहरीले २३ वर्षीय युवराज गिरीलाई नियन्त्रणमा लिएको थियो। गिरीसँग भने हतियार थिएन। प्रहरी टोलीको घेरा तोडेर भाग्न खोज्दा गिरीको खुट्टा गोली प्रहार भएको डिएसपी रमेश सिंहले बताए। प्रहरीको घेरा भित्रका सामान्य अभियुक्त भाग्न खोज्दै गोली नै चलाउनुपर्ने अवस्था आउँछ?

गिरीलाई अन्तैबाट पक्राउ गरेर खुट्टामा गोली हानेको पहिलोपोस्टलाई सूचना आएको छ। नाम खुलाउन नचाहने एक प्रहरी अधिकारीका अनुसार चर्चामा आउन यस्तो गर्ने गरिन्छ। 

पूर्वएआइजी सुवेदी भन्छन, ’प्रहरीसँग मुठभेडमा मृत्युको सङ्ख्या बढ्नु भनेको समग्र सुरक्षा स्थिति संवेदनशील छ र  सरकारले आक्रामक नीति अख्तियार गरेको छ भन्ने कुराको सूचक हो।‘

मंगलबार पनि काठमाडौँको नयाँ बसपार्कमा प्रहरीले काभ्रेपलान्चोकका अभिलास तामाङमाथि प्रहरीले गोली चलाएको थियो। होटेलभित्र बसेका काभ्रेका वाइसिएल अध्यक्ष तामाङमाथि गोली चलाउनुको कारण बारे काठमाडौँका परिसरका डिएसपी होविन्द्र बोगटीले भने, 'होटेलमा एक युवक हतियारसहित बसेका छन् भन्ने खबर आयो। हामी होटेलको कोठामा पुगेर ढकढक गर्दा हामी माथि गोली प्रहार गर्ने प्रयास भयो। हामीले जवाफी फायर गरेका हौं।'

तर कहाँ गयो सुन ?

रसुवा नाका हुँदै काठमाडौंमा अवैध सुन भित्रिदै छ। त्यही सुन लुट्ने योजनामा तामाङ हतियार सहित गोगंबुमा बसेका छन् भन्ने सुचना आएको प्रहरीको दावी छ।

गोंगबुका होटेल सर्च गर्ने क्रममा प्रहरी होटेल लक प्रालि पुगेको थियो। कोठा नम्बर १०४ मा पुगेर ढोका खोल्दा प्रहरी माथि गोली प्रहार भएको डिएसपी बोगटीले बताए।

सुनको बारेमा अनुसन्धान नभएको डिएसपी बोगटीको भनाई छ। उनले भने,’ सुन रसुवाबाट आएको छ। लुट्ने योजना छ भन्ने आयो। हामी सुन तर्फ अनुसन्धान गरेनौं। अब गर्छौं।‘

प्रहरीको भनाईलाई मान्ने हो भने प्रहरी सुन लुट्न खोज्ने लुटेरालाई त पक्राउ गर्न सफल भयो। तर अवैध रुपमा भित्रिएको सुनतर्फ प्रहरीको ध्यान किन गएन?

के भन्छ प्रहरी?

केही समयदेखि देशमा इन्काउन्टरको सङख्या बढेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी स्वीकार गर्छन्। 

प्रहरीले तराईका जिल्लामा केही समयदेखि अपराधी खोजीमा सक्रिय भएकाले पनि इन्काउन्टरका घटना बढेको उनी बताउँछन्। एसएसपी सुवेदी भन्छन्,’ केही समयदेखि बढेको देखिएको छ। हामीले तराईका जिल्लामा हतियाधारी व्यक्ति र समूह सल्बलाए भन्ने खबर पायौं। कारबाही तीब्र बनाएका हौं। उनीहरुसँग जम्काभेट हुँदा गोली चलाउँछन् भने हामीले हेर्ने मात्र कुरा भएन।‘

उनी प्रहरीको इन्काउन्टर प्रोपोगाण्डा नभएर आवश्यकता भएको दावी गर्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell