PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सिंगो पार्टी विरुद्धमा उभिँदा, डाक्टर केसीलाई नारायणकाजीको साथ, इलामबाट रेस्क्यू उनकै प्रयासमा



सागर बुढाथोकी

सिंगो पार्टी विरुद्धमा उभिँदा, डाक्टर केसीलाई नारायणकाजीको साथ, इलामबाट रेस्क्यू उनकै प्रयासमा

पुर्वी पहाडी जिल्ला इलामबाट सुरु भएको डाक्टर गोविन्द केसीको अनशन अहिले काठमाडौंमै जारी छ। स्वास्थ्य अवस्था जोखिममा परेपछि उनलाई रातारात सेनाको नाइट भिजन हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

जुन दिन उनलाई काठमाडौं ल्याइयो, त्यही दिन केसीका सहयोगी अभियन्ता डाक्टर अभिषेक राज सिहंले ट्विट गरे। ट्विटको आशय थियो, 'यस कार्यमा सहयोग गर्नुहुने र समन्वयकारी भूमिका खेल्नुहुने नारायणकाजी श्रेष्ठलाई विशेष धन्यवाद। डाक्टर केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना।'

सिंहले श्रेष्ठलाई त्यत्तिकै विशेष धन्यवाद भने दिएका होइनन्। श्रेष्ठकै कारण डाक्टर केसीलाई रातारात काठमाडौं ल्याइएको थियो। चिकित्सकीय भाषामा भन्दा अस्वस्थ डाक्टर केसीको रेस्क्यू भएको थियो, त्यतिखेर। र, रेस्क्यूका सुत्रधार थिए, श्रेष्ठ।

कुनै समय गोविन्द केसीको पक्षमा उभिएका नेकपाका युवा नेता योगेश भट्टराई यतिखेर उनको विरोधीका रुपमा उभिएका छन्। सोमबारमात्र पेरिसडाँडामा रहेका पार्टी कार्यालयमा कार्यकर्तालाई निर्देशन दिँदै भट्टराईले यस्तै आशय प्रकट गरेका थिए - सबैको सोसल मिडिया निगरानी गरिरहेका छौं। गोविन्द केसीको पक्षमा कसैले लेख्यो भने ठीक हुन्न। सबैजना उनीविरुद्ध कडारुपमा उत्रिनुपर्छ। तीनजनाले दिएको प्रशिक्षणमा केसीविरुद्ध सबैभन्दा प्रभावी देखिएका थिए- योगेश। उनले केसीलाई कम्युनिस्ट विरोधी भन्दै प्रतिकारमा उत्रिन आह्वान गरेका थिए। 


रोचक के छ भने, गोविन्द केसीका विरुद्धमा सत्तारुढ दलबाट उभ्याइएका 'बुख्याँचा' अनशनकारी अपराधिक समूहमा सक्रिय रहेको खुलासा भएपछि योगेशको आदेशलाई उनका कार्यकर्ताले पूरै पालना भने गर्न सकेनन्।

तर, केसीका अधिकांश माग पूरा भइसकेकाले अनशन बस्नुको औचित्य नभएको भन्दै योगश झै हिँडेका छन्, नेकपाका अधिकांश नेता तथा कार्यकर्ता। तर, नेकपाकै प्रवक्ता नारायकाजी भने यो भिडभन्दा केही अलग देखिएका छन्। अहले पनि उनी डाक्टर केसीको मुख्य माग पूरा हुन बाँकी भएको बताउँछन्। सरकारले उनको माग पूरा गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति पनि दिँदै हिँडेका छन् श्रेष्ठ।

त्यसो त नारायणकाजी श्रेष्ठ १५ औं अनशनदेखि नै डाक्टर केसीको पक्षमा छन्। त्यतिबेला केसीलाई भेटेकै कारण श्रेष्ठ पार्टी नेतृत्वपङ्तिबाट आलोचित बनेका थिए। केसीलाई भेटेको विषयमा पार्टीबाट प्रश्न उठेपछि उनले प्रवक्ता पदबाट राजिनामाको घोषणासमेत गरेका थिए। 

गत ७ साउन गतेको नेकपा सचिवालय बैठकमा केसीको माग सम्बोधन गर्ने विषयमा किन बोलेको भन्दै प्रधानमन्त्री ओलीले श्रेष्ठलाई प्रश्न तेर्साएका थिए।

त्यतिबेला प्रम ओलीलाई श्रेष्ठको जवाफ थियो, 'केसीले उठाएका माग सम्बोधन गर्नुपर्छ र त्रिविका पूर्व उपकुलपति माथेमा नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन ठीक छ।' 

त्यतिबला नेकपाको अधिकांश नेताको तर्क थियो, 'पार्टीको जिम्मेवार व्यक्तिले कुनै पनि विषयमा पार्टीको तत्कालीन पोसिजन के छ, त्यो ख्याल गर्नुपर्छ। के बोल्ने के नबोल्ने कसलाई भेट्ने कसलाई नभेट्ने? विचार गर्नुपर्छ।'

अधिकांश नेताहरु आफूविरुद्द खनिएपछि श्रेष्ठले आक्रोशित हुँदै भनेका थिए, ' मलाई प्रवक्ता पद चाहिन्न। राजिनामा दिन्छु।'
 
श्रेष्ठले आवेगमा राजिनामा दिएको भन्दै पहिलेकै जिम्मेवारीमा फर्काउन पार्टीबाट नै पहल भयो। राजिनामा स्वीकृत नभएपछि उनी प्रवक्ता कायमै रहे।

१५ औं अनशनमा झै यस पटक पनि डाक्टर केसीको माग पूरा गराउन श्रेष्ठ सक्रिय छन्, भलै सिंगो पार्टी केसीविरुद्ध खनिएको छ। श्रेष्ठले आफ्नो सक्रियता केसीलाई इलामबाट काठमाडौं ल्याउन सहयोग गरेर देखाइसके।

डाक्टर केसीका सहयोगी सिंह भन्छन्, 'श्रेष्ठले डाक्टर केसीलाई काठमाडौं ल्याएपछि माग पूरा गर्न समन्वयकारी भूमिका खेल्नुभएको छ। काठमाडौं ल्याउनासाथ हामीसँग करिब २ घण्टा छलफल भयो उहाँको।'

डाक्टर केसीको माग पूरा गराउन पहल गर्ने भन्दै सिंहसँग छलफल सकाएर निस्किएका श्रेष्ठ दिउँसो पाँच बजे पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न गए। प्रचण्डसँग छलफल गरेपछि उनले बेलुका नै प्रधानमन्त्री ओलीलाई पनि भेटे। डाक्टर केसीको माग पूरा गराउने विषय उनको एजेन्डा थियो। 

तर, दुवै नेताबाट श्रेष्ठले 'ग्रिन सिग्नल' पाएनन्। अनि केसीको सहयोगी डाक्टर सिहंलाई फोन गरेर भने, 'मैलै उहाँहरुलाई बुझाउन कोसिस गरेँ। तर, उहाँहरु सकारात्मक देखिएनन्। तत्कालै केही होला जस्तो छैन। म अझै पहल गर्छु।'

'उहाँले गरेको सहयोगलाई मान्नैपर्छ। तर, मुख्य नेताहरु नै नमानेपछि उहाँको के लाग्छ?,' सिंह भन्छन्, 'इलामबाट रातारात काठमाडौं ल्याउन उहाँले सहयोग नगरेको भए जे पनि हुन सक्थ्यो।' 

***
गत पुस तीन गते। सिंहलाई इलाममा अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक रहेको खबर प्राप्त भयो। उनलाई काठमाडौं नल्याए जे पनि हुनसक्ने संकेत पाए। लगत्तै सिहंले अभियन्ताहरुलाई खबर गरे। 


पूर्व प्रधान न्यायाधीश सुशीला कार्की, त्रिविका पूर्व उपकूलपति केदारभक्त माथेमा, पूर्व सभामुख दमननाथ ढुंगाना र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी उनीसँग इलाम जान तयार भए।


बिहानै इलाम पुग्ने योजना बनाएका उनीहरुको प्लान फेल खायो। 'फ्लाइट डिले' भएका कारण केसी अनशनरत इलामको फुलगाँछी पुग्दा साँझको ६ बज्यो। 

पुग्नासाथ मेडिकल टिमसँग डाक्टर सिंहले केसीको स्वास्थ्य अवस्थाको अपडेट लिए। चिकित्सकहरुको ब्रिफिङको आसय थियो, 'उहाँको स्वास्थ्य अवस्था जटिल छ। आइसियूको व्यवस्था नगरे जे पनि हुनसक्छ।'

सिंहले साथीहरुसँग छलफल गरे। उनलाई काठमाडौं ल्याउने पक्षमा सबैजना सहमत भए। तर, केसीलाई मनाउने कसरी?

केसीलाई सुरुमा डाक्टर सिंह एक्लैले भेटे। उनको स्वास्थ्य अवस्थाको बारे अपडेट लिए। काठमाडौं नगए जे पनि हुनसक्ने भन्दै सचेत गराए।

उनले केसीलाई आफूसँग पूर्व प्रधान न्यायाधीश शुशीला कार्की, प्रा. केदारभक्त माथेमा, पूर्व सभामुख दमननाथ ढुंगाना र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी भेट्न आएको बताए।

केसीले कर्णाली अनशन झैं यस पटक भने काठमाडौं नजाने अडान राखेनन्। उनी काठमाडौं आउन तयार भए। त्यतिबेला रातको आठ बजिसकेको थियो।

काठमाडौँ तत्काल नलगौं खतरा तर राति कसरी लैजाने? अर्को समस्या आइलाग्यो। इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले हेलिकप्टरको व्यवस्था गर्न गरेको प्रयास पनि असफल भइरहेको थियो। 

डाक्टर केसीको स्वास्थ्य अवस्था देखेर सबैजना आत्तिएका थिए। सबैले आफ्नो तर्फबाट हेलिककप्टरका लागि पहल गरे। तर, कतैबाट तत्कालै केही हुने छाटकाट देखिएन।

त्यसपछि पूर्व प्रधानन्यायाधीश कार्कीले रक्षामन्त्री ईश्वर पोखरेललाई फोन लगाइन। आफ्नै छिमेकी मन्त्री ईश्वरको फोन उठेन।

त्यतिबेला डाक्टर सिंहले नारायणकाजी श्रेष्ठलाई फोन लगाए। पहिलादेखि केसीलाई सहयोग गरिरहेका नारायणकाजीप्रति सबैको आशा पनि थियो। फोन उठ्यो। सिंहले डाक्टर केसीको स्वास्थ्य अवस्थाको बारेमा श्रेष्ठलाई ब्रिफिङ गरे। श्रेष्ठले आर्मीसँग कुरा गरेर हेलिकप्टर मिलाइदिने आश्वासन दिए। 

श्रेष्ठले १० मिनेटमै डाक्टर सिंहलाई कलब्याक गरेर भने, 'प्रधानमन्त्री ओली, अर्का अध्यक्ष प्रचण्ड र नेपाली सेनाका प्रधान सेनापतिसँग कुरा गरेपछि सेनाको नाइटभिजन मिलाएको छु।'

त्यसपछि उनले  सेनाका जर्नेल जोतिन्द्र महतको नम्बर पठाइदिए। 

महतसँग डाक्टर सिंहको कुरा भएपछि झापाको भद्रपुरमा हेलिकप्टर आउने तय भयो। त्यसपछि राति नै एम्बुलेन्समा राखेर केसीलाई भद्रपुर विमानस्थल लगियो।

डाक्टर केसी भद्रपुर पुग्नुभन्दा एक घण्टा अगावै सेनाको हेलिकप्टर ल्याण्ड भइसकेको थियो। राति करिब दुई बजे केसीलाई भद्रपुरबाट सेनाको हेलिप्टरमा काठमाडौं ल्याइयो।

शुक्रबार बिहान तीन बजे काठमाडौं विमानस्थल आइपुगेका उनलाई सिधै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आइसियूमा लगियो। सभ्भावित जोखिमबाट डा केसी जोगिए।

अहिले उनलाई आइसियूबाट गणेशमानसिंह भवनमा सारिसकेको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार केसीको स्वास्थ्य अवस्था दिनदिनै नाजुक बन्दै गएको छ। सरकारी पक्षले वार्ताको लागि अझै पहल नगरेकाले जोखिम बढ्दो छ।

सिंह भन्छन्, 'उहाँलाई इलामबाट त जसोतसो रेस्क्यू गरियो तर अहिलेसम्म सरकारले वार्ताको लागि पहल गरेको छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell