PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाँदरमुढेको 'भुत'ले तर्सेका प्रचण्डको निर्वाचन क्षेत्र बचाउन यस्तो दाउ



विधुर ढकाल

बाँदरमुढेको 'भुत'ले तर्सेका प्रचण्डको निर्वाचन क्षेत्र बचाउन यस्तो दाउ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चितवनको क्षेत्र नं. ३ का स्थानीय बासिन्दा हुन्। उनी गत संसदीय निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित पनि भए। तर, पनि यस क्षेत्रमा आझै आफूलाई सुरक्षित ठान्दैनन् उनी।
 
उनलाई असुरक्षित बनाउने चितवनको एउटै घटना हो माडीको 'बाँदरमुढे घटना'। तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका क्रममा २०६२ साल जेठ २३ गते चितवन माडीको कल्याणपुर बजार र वसन्तपुर बजारको बीचमा रहेको बाँदरमुढे खोलामा सर्वसाधारण चढेको बसमा माओवादी कार्यकर्ताहरुले विद्युतीय धराप बिस्फोट गराएका थिए। बिस्फोटमा ४१ जनाको ज्यान गएको थियो। 

बाँदरमुढे घटनालाई तात्कालीन माओवादी र त्यसका अध्यक्ष प्रचण्डले समेत गम्भीर भूल र ठुलो गल्ती भएको भन्दै माफी समेत मागेका थिए। बाँदरमुढे घटनालाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा तात्कालीन माओवादी र प्रचण्डको कडा आलोचना हुँदै आएको छ।
 
अझै पनि यही घटनाले प्रचण्डलाई तर्साइरहन्छ। माओवादी शान्ति प्रक्रियामा आएपछि भएका दुई वटा संविधानसभाको निर्वाचनमा प्रचण्ड गृह जिल्ला चितवनबाट उभिन सकेनन्। यसको एउटै कारण थियो, बाँदरमुँढे घटना। पहिलो संविधानसभा रोल्पा र काठमाडौं रोजे। दोस्रो चुनावमा काठमाडौं र सिराहा रोजे।
 
तेस्रो पटकको निर्वाचनमा उनी बल्ल चितवन पुगे। अन्य जिल्लाबाट असुरक्षित महसुस गर्दै गृह जिल्ला पुगेका उनी त्यहाँ पनि पूर्ण ढुक्क थिएनन्। त्यसका लागि उनले स्थानीय तहको निर्वाचन देखि नै तयारी गरेका थिए। 

चितवनमा पकड बनाएको पुरानो पार्टी नेपाली कांग्रेसको साथ लिएर छोरी रेणु दाहाललाई भरतपुर महानगरको मेयर बनाए। छोरी मार्फत् चुनावी क्षेत्रमा लगानी बढाए। विकास निर्माणका लागि टोल टोलमा बजेट पुर्‍याए। अनिमात्र चुनावमा उम्मेदवार बने तत्कालिन नेकपा एमालेको सहयोगमा।
 
कांग्रेसको गढको रुपमा मानिएको चुनावी क्षेत्र र दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेले जितेको क्षेत्र माडी गाभिएर बनेको ३ नं क्षेत्रमा उनलाई एक्लै लड्नु सुरक्षित थिएन नै कांग्रेसको डर र बादरमुढेको 'भुत'ले उनलाई तर्साइरहेको थियो।
 
शान्तिपूर्ण राजनीतिमा होमिए पछि पनि उनी माडी जान सकेका थिएनन्। २०५९ सालमा माडीको वसन्तपुरमा आयोजित माडी महोत्सवको उद्घाटनका लागि हेलिकोप्टरबाट महोत्सव परिसरमै उत्रिए। हेलिकोप्टरबाटै फर्किए, माडीवासीसँग भलाकुसारी गरेनन्। 

आफ्नै गृह जिल्ला भए पनि फेरि माडी पुग्न उनलाई पाँच वर्ष लाग्यो। माडीसँग पुरानो साइनो भएका प्रचण्डले २०४७ सालमा माडीमै नेकपा मसालको एकताको पाँचौँ महाधिवेशन गरेका थिए। २०५९ सालमा माडी पुग्दा उनले भनेका थिए, 'सानो छँदा पटक पटक साइकल चढेर माडी पुग्थेँ।'

सानोमा साइकल चढेर पुग्ने गरेको प्रचण्ड हेलिकोप्टर चढ्ने हैसियत हुँदा पनि पुग्न डराइरहे। पाँच वर्षपछि २०७४ साल कार्तिकमा बल्ल उनी त्यहाँ पुगे, चुनावी दौरानमा।
 
त्यहाँ पुग्दा उनलाई डर थियो, विरोध त हुने होइन? बाँदरमुँढे पीडितलाई सुरक्षाका नाममा घरमै घेरा हालेर थुनियो। केही पीडितहरुलाई उनले आफ्नो पक्षमा लिए। त्यहाँ पुगेर जनयुद्धका क्रममा मारिएका माओवादी कार्यकर्ताको सालिकमा माल्यार्पण गरे तर बाँदरमुढे घटनामा मारिएकाहरुको स्मृतिमा घटनास्थलमा पुग्ने हिम्मत गरेनन्।

पछि, उनीहरुसँग तीन बुँदे सहमति समेत गरे। सहमतिमा प्रचण्डले बाँदरमुढे घटनामा मृत्यु भएकाको आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगारी तथा स्वरोजगार, काम गर्न नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाकालाई पठनपाठनको व्यवस्था गर्ने प्रतिवद्धता जनाए। 

निर्वाचनमा विजयी भए पनि अझै तर्सिन्छन प्रचण्ड
प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनमा उनले विपक्षी उम्मेद्वारलाई १० हजार मतान्तरले पराजित पनि गरे। तर, अझै पनि न बाँदरमुढे पीडितको पीडाको घाउ न निको भएको छ न त प्रचण्ड नै बाँदरमुढे घटनाको 'भुत'बाट बौरिन सकेका छन्।
 
चितवनका सांसद प्रचण्ड अहिले बारम्बार चितवन ओहोरदोहोर गरिरहन्छन्। चितवनमा आफ्नो पकड बलियो बनाउन उनले कुनै कसर बाँकी राखेका छैनन्।
 
माडीका लागि उनले बजेटको पनि प्रबन्ध गरिरहेका छन्। उनले माडीबासीको समस्याको पटक पटक कुरा उठाइरहेका छन्।
 
माडीबासीको समस्यालाई लिएर शुक्रवार प्रचण्डले माडीबाट आएको टोलीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरे।
 
माडी नगरपालिकाका मेयर ठाकुर ढकालसहितको प्रतिनिधि प्रचण्डलाई भेट्न खुमलटार पुगे। समस्या समाधानका लागि ठोस पहल गर्न प्रचण्डसँग अनुरोध गरे। प्रचण्डले टोलीलाई नै लिएर प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगे। प्रतिनिधिमण्डलमा मेयर ढकाल, नेकपाका तीन नम्बर प्रदेशका अध्यक्ष नारायण दाहाल, तीन नम्बर  प्रदेशका सचिव आनन्द पोखरेल, पूर्व उपप्रधानमन्त्री अमिक शेरचनसहितका नेताहरु थिए। 

निकुञ्जको समस्या लिएर प्रचण्ड नै प्रधानमन्त्री कार्यालय पुगे पछि वनमन्त्रीलाई नै प्रधानमन्त्री कार्यालय डाकियो।
 
प्रचण्डले माडीका जनताले भोगेका समस्याहरुबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरे। भेटमा प्रचण्डले माडीको समस्या हेरौला नभनी तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गरे।

माडीलाई आफ्नो पक्षमा पार्न अनेक प्रयास गरिरहेका प्रचण्डले शनिवार नै माडीवासीमाझ लोकप्रिय कांग्रेस नेतालाई आफ्नो पार्टीमा भित्र्याए। पूर्व सांसद तथा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका तीर्थराज भुसाललाई प्रचण्डले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (ने  क पा) मा स्वागत गरे। उनको यो कदम चितवनमा आफ्नो उपस्थिति र प्रभावालाई बलियो बनाउने कदमको रुपमा लिइएको छ।
 
२०४९ सालमा नेपाली कांग्रेसको जिल्ला सभापति भएका उनी २०५१ सालको आम निर्वाचनमा चितवनबाट निर्वाचित थिए। भुसाल चितवन माडी क्षेत्रका लोकप्रिय नेता हुन्। माडीमा अझै पनि प्रचण्ड प्रति नकरात्मक धारणा छ। बाँदरमुढे पीडितहरु अझै न्यायको पर्खाइमा छन्। बाँदरमुढे घटनाको संवेदनशीलता बुझेका प्रचण्डले यस घटना फेरि नउचालियोस् भन्नेमा सतर्क छन्।
 
भुषालको ने क पा प्रवेश पनि यसकै एउटा हिस्सा हो। त्यस्तै उनी चितवनमा आफ्नो विकल्पको रुपमा अरु नउभिउन भन्ने तर्फ पनि सचेत छन्। त्यसैमा प्रचण्डको चितवन डौडाहा बाक्लो छ। देशको राजनीतिमा केन्द्रमा रहेका प्रचण्ड आफ्नो गृह जिल्ला चितवनमा अझ सुरक्षित हुने तयारीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell