वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच फेब्रुअरी महिनाको अन्तिम सातातिर दोस्रो शिखर वार्ता हुने ह्वाइट हाउसले जनाएको छ।
किमका विशेषदूत एवम वार्ता टोलीका सदस्य किम योङ चोलसँग ह्वाइट हाउसमा भएको वार्तापछि उक्त घोषणा गरिएको बीबीसीले उल्लेख गरेको छ।
ट्रम्प र किमबीच हुने भनिएको दोस्रो शिखर वार्ताको तयारीका लागि किमले पठाएको चिठीसहित चोल अमेरिका पुगेका थिए।
दोस्रो शिखर सम्मेलन कहाँ हुने भन्ने बारे केही बताइएको छैन।
President @realDonaldTrump looks forward to a second summit with Chairman Kim, which will take place near the end of February. Location will be announced at a later date.
— The White House (@WhiteHouse) January 18, 2019
यद्यपि यसपटको वार्ता भियतनाममा हुन सक्ने अनुमान गरिएको छ। यसैबीच ट्रम्प र किमबीच हुने दोस्रो शिखर सम्मेलनको आतिथ्य भियतनाममा गर्न तयार रहेको भियतनामका प्रधानमन्त्री गुऐन जुआन फुकले बताएका छन्।
२०१८ जुन ११ मा सिंगापुरमा दुई नेताबीच सम्पन्न भएको पहिलो ऐतिहासिक शिखर वार्तामा कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्ने सहमति भएको थियो। यद्यपि वार्तापछि भने दुई देशबीचको सम्बन्ध सामान्य हुन सकेको थिएन।
उत्तर कोरियाले अमेरिकाले आफ्नो राष्ट्रमाथि लगाएको प्रतिबन्ध फुकुवा नगरेको बताउँदै आएको छ। यस्तै अमेरिकाले भने उत्तर कोरियाली निःशस्त्रीकरणको विषयमा प्रतिवद्ध नरहेको बताउँदै आएको छ।