PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विशाल गोल्डकप फाइनल : उपाधि रक्षा गर्ने लक्ष्यमा आर्मी



राधेश्याम पटेल

विशाल गोल्डकप फाइनल : उपाधि रक्षा गर्ने लक्ष्यमा आर्मी

वीरगंज : वीरगंजमा भइरहेको दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागिय टोली त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा भिड्दैछन्।

फाइनलअघि भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षकहरुले उपाधि हात पार्ने दावी गरेका छन्।

हिमालयन शेर्पाका प्रशिक्षक सुवास लिम्बुले फाइनलमा आक्रमक रुपमै प्रस्तुत हुने बताउँदै उपाधी आफुहरुले जित्ने दावी गरे। उनले यसअघिको खेलमा जुनियर र कम अनुभवी खेलाडी खेलेकोमा शनिवारको फाइनल खेलमा पुरै आक्रमक खेल खेल्ने रणनीतिमा रहेको बताएका छन्।

यस्तै साविक विजेता समेत रहेको आर्मीका प्रशिक्षक नविन न्यौपानेले गत वर्ष जस्तै यस वर्ष पनि उपाधि जित्दै इतिहास दोहोर्‍याउने पक्षमा रहेको बताए।

उनले फाइनलमा शेर्पा विरुद्ध सिनियर टिम नै खेल्ने र जोसका साथ खेलेर जित्ने सोचमा रहेको बताए। उनले गत वर्षको गोल्डकपको उपाधि जितेपछि आर्मीले देशभरी लगातार ७ वटा गोल्डकप जितेकोमा यसपाली पनि राम्रो शुरुवात गरी थप प्रतियोगिताको उपाधि जित्ने रणनीति रहेको बताए।

बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा आर्मीले झापालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने बुधबार भएको प्रथम सेमिफाइनलमा शेर्पाले आयोजक वीरगंजलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।

प्रतियोगिताको विजेताले कपसहित नगद ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन। सर्वोत्कृष्ट खेलाडीलाई सुजिकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell