PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सर्वाधिक धनराशीको प्रतियोगिताको लागि तयार पुलिस र थ्री स्टार, दुवैको उपाधि जित्ने दावी



पहिलोपोस्ट

सर्वाधिक धनराशीको प्रतियोगिताको लागि तयार पुलिस र थ्री स्टार, दुवैको उपाधि जित्ने दावी

धनगढी : मोफसलको सर्वाधिक धनराशी पुरस्कार रहेको तेस्रो संस्करणको अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि दुई ए डिभिजन क्लब नेपाल पुलिस र थ्री स्टारबीच शनिवार प्रतिस्पर्धा हुँदैछ।

फाइनल पुग्ने क्रममा पुलिसले ए डिभिजन लिगको विजेता मनाङ र उपविजेता संकटालाई पराजित गरिसकेको छ। थ्री स्टारले भने ए डिभिजनकै च्यासल युथ  र मेची नेत्रालय काकरभित्ता ट्रेनिङ सेन्टरलाई पराजित गरेको थियो।

शुक्रवार भएको फाइनल खेलको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले सर्वाधिक ठूलो प्रतियोगिताको उपाधिसहित मोफसलको यात्रा सुरु गर्ने लक्ष्य राखेको बताएका छन्।

सेमिफाइनलमा सीएमजी क्लब संकटालाई टाइब्रेकरमा पराजित गर्दै फाइनल पुगेको पुलिसका कप्तान विक्रम धिमालले योजना अनुसार खेल्दै उपाधि जित्ने बताए,  ‘हामीले यहाँसम्म आइपुग्दा आफ्नो योजना अनुसार खेलेका छौं। फाइनलमा पनि त्यसलाई निरन्तरता दिंदै उपाधि जित्ने लक्ष्य राखेका छौं’

‘लिगको शीर्ष दुई टोलीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका छौं। हाम्रो युवा टोली भएकाले जोस छ र प्रशिक्षकको निर्देशन अनुसार मैदानमा प्रदर्शन हुँदा सफल भएका छौं।’

पुलिसका प्रशिक्षक अनन्त थापाले मोफसलको सर्वाधिक धनराशीको प्रतियोगिताको फाइनल पुग्दा टोली हौसिएको बताए, ‘लिगमा अपेक्षित प्रदर्शन हुन सकेन। अहिले सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगितामा फाइनल यात्रा तय गर्दा पुरै टोलीको मनोबल बढेको छ। फाइनलमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने छौं।’

‘हामीले एकरुपको प्रदर्शन गरेका छौं। हरेक टोलीलाई दबाब राख्दै जित दर्ता गरेका छौं।’ प्रशिक्षक थापाले लिगमा सहजै जित दर्ता गरेपनि थ्री स्टारविरुद्ध सहज रुपमा नलिने र सहज भएर खेल्ने पनि बताए।

रुस्लान थ्री स्टारका कप्तान विक्रम लामाले अपेक्षा गरे अनुसार नतिजा हासिल गरिरहेको बताए, ‘ लिगमा हाम्रो प्रदर्शन राम्रो हुन सकेको थिएन। मोफसलमा हामीले राम्रो सुरुवात गर्ने लक्ष्य राखेका थियौं। यस प्रतियोगितालाई हामीले शिक्षाको रुपमा लिएका छौं। अब फाइनलमा उपाधि जितेर सुखद सुरुवात गर्न तत्पर छौं।’

'पुलिस एकदम राम्रो टोली हो। पुलिस टोली उत्कृष्ट लयमा छ र राम्रो खेल्छ। फाइनल सहज पक्कै हुने छैन।’

थ्री स्टारका प्रशिक्षक उज्जवल मानन्धरले विपक्षी भन्दा बढी मिहनेत गरेर उपाधि जित्ने बताए, ‘फाइनल पुगेका छौं। लक्ष्य भनेको उपाधि जित्ने नै हो। विपक्षी टोलीभन्दा बढी मिहिनेत गर्दै नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछौं,’

‘टोलीको मनोबल उच्च रहेको छ। लिगको नतिजा बिर्साउनको लागि भएपनि हामीलाई यस उपाधि आवश्यक छ।’ थ्री स्टारका व्यवस्थापक मुकेश नकर्मीले पनि राम्रो प्रदर्शन भइरहेकाले उपाधि जित्नेमा आशावादी रहेको बताए।

प्रतियोगिताको फाइनल खेल शनिवार दिउँसो २ बजे धनगढी रैगशालमा हुनेछ।

प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता टोलीले समेत १० लाख हात पार्नेछ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले यामाहाको १५० सीसी मोटरसाइकल प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट हुनेले १५-१५ हजार हात पार्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell