PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एमएम कप क्रिकेट: उपाधिका लागि पुलिस र आर्मी भिड्ने



पहिलोपोस्ट

एमएम कप क्रिकेट: उपाधिका लागि पुलिस र आर्मी भिड्ने
फोटो:इनरुवा अनलाइन

सुनसरी: विभागीय टोलीद्वय नेपाल प्रहरी र त्रिभुवन आर्मी सुनसरीको इनरुवामा भइरहेको मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएको छ।

शुक्रवार भएको दोस्रो सेमिफाइनलमा आर्मीले प्रदेश नम्बर १ लाई ६ विकेटले पराजित गर्दै पुलिससँगको फाइनल भेट पक्का गरेको हो। दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन्।

पहिलो सेमिफाइनलमा पुलिसले प्रदेश ७ लाई २०० रनले पराजित गरेको थियो।

इनरुवा क्रिकेट मैदानमा रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेपछि 'लो स्कोरिङ' म्याचमा आर्मीले प्रदेश १ लाई ६ विकेटले पराजित गर्‍यो।

११० रनको सामान्य लक्ष्य आर्मीले १९.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो।

२५ रन हुँदा ४ विकेट गुमाएर आर्मीलाई जित दिलाउन रोहित र राजेश पुलामीले गतिलो साझेदारी गरे। रोहित पौडेलले ४४ बल खेल्दै ७ चौका र ३ छक्काको मद्दतमा नटआउट ५८ रन बनाए। त्यसैगरी राजेश पुलामीले नटआउट २३ रन जोडे।

प्रदेश १ का मनोज मण्डलले २ र पुष्प थापाले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २५.४ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो।

प्रदेश १ का लागि रबी रोएले २२ र कप्तान पुष्प थापाले १९ रन बनाए। त्यसैगरी मुकुन्द यादवले १७ तथा मिनास थापा र श्रवण यादवले १२-१२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

प्रदेश १ लाई कम स्कोरमा अलआउट गर्न आर्मीका हरिबहादुर चौहानले ५ ओभर बलिङ गर्दै ९ रन मात्र खर्चेर ४ विकेट लिए। विम सोब, जितेन्द्र मुखिया, शाहब आलम, कुशल मल्ल र रोहित पौडेलले समान १ विकेट लिए।

४ विकेट लिएका आर्मीका हरी चौहान खेलको म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ। प्रतियोगिताको विताले नगद ४ लाख १ हजार सहित शिल्ड हात पार्ने छ भने उपविजेतामाले २ लाख १ हजार प्राप्त गर्नेछ।

सेमिफाइनलबाट बाहिरिएका प्रदेश नम्बर १ र प्रदेश नम्बर ७ ले समान २५ हजार हात पारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell