PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रक्सी पोखाउँदा पत्रकार सम्मेलन गर्ने प्रहरी सुन पक्रँदा गुपचुप



पी बी खड्का

रक्सी पोखाउँदा पत्रकार सम्मेलन गर्ने प्रहरी सुन पक्रँदा गुपचुप

सुर्खेत: घरेलु मदिरा पोखाउँदा पत्रकार सम्मेलन गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेत तीन किलो सुन चोर पक्रँदा मौन रहेको छ। भारतबाट चोरी गरेर ल्याएको ३ दशमलव ८७ केजी सुनसहित एक दम्पतीलाई सुर्खेत प्रहरीले पुस २४ गते पक्राउ गरेको थियो। पुस ११ गते भारतको ब्याङलोरबाट चोरी गरेर ल्याएको सुन र हीरासहित ४७ वर्षका मंगल शाही र उनकी श्रीमती सौभाग्य शाहीलाई प्रहरीले पक्राउ गरेको थियो। 

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका ९ गडेगाउँ स्थायी ठेगाना भएका मंगललाई कालिकोटबाट र सौभाग्यलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको हो। तर, जिल्ला प्रहरी कार्यालयले मंगल शाहीलाई कालिकोटबाट नै पक्राउ गरेको थियो। सौभाग्य वीरेन्द्रनगरमा पक्राउ परेसँगै नेपाली र भारतीय प्रहरीको टोली कालिकोट गई सुनका गहनाहरू नियन्त्रणमा लिएका थिए। दम्पती पक्राउ परेको कुरा बाहिर आइसक्दा पनि प्रहरीले अझै औपचारिक रुपमा सार्वजनिक गर्न आलटाल गरेको छ। 

चोरी आरोपमा प्रहरी हिरासतमा रहेका मंगलका नजिकका आफन्तले मंगलको घरबाट आफूले ल्याएको सबै सुन प्रहरीले लगेको दाबी गर्छन्। चोरी आरोपमा प्रहरी हिरासतमा रहेका मंगलको घरबाट ल्याएको सबै सुन प्रहरीले ल्याएको दाबी गर्छन्। ‘उनले बैंग्लोरबाट ल्याएको तीन किलो सुन प्रहरीले मेरो घरबाट बरामद गरेर ल्याएको हो।’ मंगलका आफन्तले भने, ‘तर यहाँ प्रहरीले आधा सुन मात्रै फेला परेको बताएको छ। कालिकोटबाट ल्याइएको सुन बाटैमा गायब गरेको हुन सक्छ।’
 
यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतको भूमिका पनि शंकास्पद नै देखिएको छ। ‘मदिरा पोख्दा ठुलो पत्रकार सम्मेलन गर्ने प्रहरीले पत्रकार सम्मेलन गरेर सुन सार्वजनिक नगर्नु शंकास्पद नै छ।’ नाम उल्लेख नगर्ने शर्तमा कालिकोटका एक जनप्रतिनिधिले भने, ‘प्रहरीले सुनबारेमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपर्थ्यो। नगर्नुको पछाडि रहस्य छ।’ त्यो सँगै प्रहरीले विदेशी मुद्रा २५ हजार अमेरिकी डलरसमेत बरामद गरेको दाबी उनको आफन्तको छ। तर, त्यो विदेशी मुद्रा प्रहरीले सार्वजनिक गरेको छैन। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा अहिले पक्राउ परेकाहरू राखिएका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप क्षेत्रीकै नेतृत्वमा शाहीलाई पटक पटक यातना दिएर सुन सबै प्रहरीले नलिएको बारेमा झुट बोल्न लगाउने गरेको समेत उनका आफन्तले बताए। जिल्ला प्रहरी कार्यालयले किन सुन प्रकरणबारे पत्रकार सम्मेलन गरेन भन्ने प्रश्नमा प्रदेश प्रहरीले गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका नि. प्रमुख एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए। उनले हालसम्म ६ सय पचास ग्राममात्र बरामद भएको बताउँछन्। 

यता, प्रदेश प्रहरीका डिआइजी महेशविक्रम शाहले कानुनले  मानवीय संवेदनाका कारण पक्राउ गरेको बताए। यस्तो मुद्दाहरू बारम्बार आइरहेको उनको भनाई छ। ‘यस्ता घटनाले देशको प्रतिष्ठामा आँच पुर्‍याउने र त्यहाँ काम गरेकाहरूलाई जागिर निकाल्ने क्रम बढने गरेकाले पनि हामीले मानवीय संवेदनालाई आधार मानेर उनीहरूलाई पक्राउ गरेका हौँ,’ उनले भने। शाहले यदि प्रहरीको संलग्नता देखिए कारबाही गर्ने सङ्केत गरे। सबै प्रहरीको संयुक्त दायित्व यस्ता कुरामा रहने डिआइजी शाहको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell