PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ढोरपाटन महिला भलिबल लिगको तयारी पूरा, ९ टिमको सहभागिता हुने



पहिलोपोस्ट

ढोरपाटन महिला भलिबल लिगको तयारी पूरा, ९ टिमको सहभागिता हुने

काठमाडौँ : शनिवारदेखि सुरु हुने १४औँ ढोरपाटन महिला भलिबललिगको तयारी पूरा भएको आयोजक ढोरपाटन क्लबले जनाएको छ।

आयोजकले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। यस्तै प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गर्ने ढोरपाटन क्लबका अध्यक्ष मनबिर छन्त्यालले बताए।

'यसअघि हामीले ११ टिमले प्रतिस्पर्धा गर्ने भनेका थियौँ। तर लिगलाई प्रतिस्पर्धात्मक बनाउन र कमजोर टिमलाई नराख्ने भन्ने सोचअनुसार ९ टिमलाई मात्र सहभागि गराउन लागेका हौँ। यस पटक सबै टिम उस्तै खालको छन्।'

यस्तै ढोरपाटन क्लबसँग असन्तुष्ट जनाउँदै प्रतियोगिता नखेल्ने भनेको न्यू डायमण्ड क्लबले पनि प्रतियोगिता खेल्ने छन्त्यालले बताए।

न्यू डायमण्डले आयोजना गरेको दोस्रो स्स्करणको न्यू डायमण्ड भलिबल प्रतियोगिताको लागि ढोरपाटन क्लबले कोर्ट उपलब्ध नगराएको भन्दै न्यू डायमण्डले भाग नलिने बताउँदै आएको थियो।

तर ढोरपाटनका अध्यक्ष छन्त्यालले भने समयमै आफूलाई यसबारेमा जानकारी नभएको र आफ्नो प्रतियोगिताको लागि पनि तयारी गर्नुपर्दा कोर्ट दिन असमर्थ भएको प्रतिक्रिया दिए।

'उहाँहरुले पनि आफ्नै कोर्टमा गर्नुभयो। स्कुल चिनाउनुभयो। सजिलो भयो।' छन्त्यालले भने।

'नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले न्यू डायमण्डले पनि ढोरपाटन लिग खेल्छ भनेर भन्नुभाछ। उहाँहरुले पनि अहिलेसम्म खेल्दिन भनेर भन्नुभएको छैन। आजै बेलुका सम्म पक्का हुन्छ।'

यस्तै उनले भोली हुने प्रतियोगिताको लागि बेलुकासम्म टाइसिट पनि सार्वजनिक गर्ने छन्त्यालले जानकारी दिए।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, न्यू डायमन्ड एकेडमी, श्री गाउँ खेलकुद विकास समिति दाङ, चितवन टाइगर्स, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति पोखरा, सेब स्कुल सामाखुशी र थाहा नगरपालिका मकवानपुरले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा पहिलो चरणको खेलपछि उत्कृष्ट सात टिमलाई दोस्रो चरणमा खेलाउने छन्त्यालले जानकारी दिए।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन्। यस्तै चौथौले ६० हजार, पाचौँले ४० हजार, छैठौंले ३० हजार र सातौं हुनेले २० हजार हात पानेछन्।

यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट ६ जनाले ६-६ हजार प्राप्त गर्नेछन्।

यसबाहेक प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको स्कुटी विधातर्फ ५ स्कुटर प्रदान गरिनेछ। जसमध्ये ४ स्कुटर खेलाडीले पाउनेछन् भने एक स्कुटर खेल हेर्ने भाग्यमानी दर्शकले पाउनेछन्।

उत्कृष्ट खेलाडी, उदयीमान खेलाडी, वर्ष खेलाडी, प्लेअर अफ दि सिरिज हुने चार खेलाडीले एक-एक थान स्कुटर पाउनेछन्। यस्तै प्रतियोगिता हेर्ने दर्शकहरु मध्येबाट लक्की ड्र गरी भाग्यमानी एक दर्शकलाई पनि स्कुटर दिइनेछन। गत वर्षदेखि यो विधा पनि थप गरिएको हो।

'अहिलेसम्म हामीले खेलाडीलाई २८ र दर्शकलाई १ गरी २९ स्कुटर प्रदान गरिसकेका छौँ। यस पटकसहित खेलाडीलाई ३२ स्कुटर हुनेछ।' ढोरपाटनका अध्यक्ष छन्त्यालले भने।

यस्तै सहभागि टिमले ३ जनासम्म विदेशी खेलाडी राख्न पाउने र एकै पटककमा खेलाउन सक्ने छन्त्यालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell