PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सिमरा गोल्डकप : आयोजक नव जनजागृति युवा क्लबको विजयी सुरुवात



राधेश्याम पटेल

सिमरा गोल्डकप : आयोजक नव जनजागृति युवा क्लबको विजयी सुरुवात

वीरगंज : आयोजक नव जनजागृति युवा क्लबले दशौं सिमरा गोल्डकपमा विजयी सुरुवात गरेको छ। आजदेखि सिमरामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृति युवा क्लब सिमराले मकवानपुर एघारलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

नव जनजागृतिको लागि निरज थापा मगरले दुई तथा प्रज्वल थापा मगरले एक गोल गरे।

बाराको सिमरा रंगशालमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोश्रो हाफमा आयोजक मकवानपुरमाथि हावी बनेको थियो।

खेलको ४६औं मिनटमा सुरज ठकुरीले हानेको फ्रिकिक मकवानपुरका गोलरक्षक अनिश देउलाले समहाल्न नसक्दा निरज थापा मगरले गोलमा परिणत गरे र आयोजक नव जनजागृतिले अग्रता लियो। गोलरक्षक देउलाले पञ्च गरेको रिवाउण्ड बललाई सदुपयोग गर्दै आयोजकका निरज थापा मगरले गोलमा परिणत गरेका हुन्।

खेलको ६०औं मिनटमा आयोजकका लागि प्रज्वल थापा मगरले गोल गर्दै अग्रता दोब्बर पारे। मकवानपुरका डिफेण्डरले क्लिएर गर्न नसकेको बल डिबक्स भित्रै खोस्न सफल प्रज्वलले सहजै गोलमा परिणत गरे।

७१ औं मिनटमा आयोजकले तेस्रो गोल गर्‍यो। मोहित गुरुङको क्रसमा निरज थापामगरले व्यक्तिगत दोश्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे। कर्नर एरियाबाट मोहितले डिबक्स भित्र निकालेको क्रस बल निरजले सहजै गोलमा परिणत गरे।

जितपछि आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले स्थानिय खेलाडीले भरिएको टिमको प्रदर्शनबाट आफू सन्तुष्ट भएको बताए।

मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले दोश्रो हाफमा आक्रामक खेल्न खोज्दा पराजय बेहोर्नु परेको बताए। पहिलो हाफमा बराबरी खेलेपनि आक्रामक खेल्ने रणनीतिमा खेलाडी सफल नभएको उनको भनाई थियो। जुनियर खेलाडीले भरिएको टिमको प्रदर्शन सन्तोषजनक नै रहेको श्रेष्ठले बताए।

खेलको म्यान अफदि म्याच आयोजक क्लबका निरज थापा मगर घोषित भए। उनले १० हजार नगद सहित ट्रफि प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत शुक्रबार विशाल मेमोरियल फाउण्डेशन वीरगञ्ज र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

यूवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेको प्रतियोगिता १२ माघ सम्म चल्नेछ भने १० टिमले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद सहित ट्रफि प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell