PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

३३ किलो सुनकाण्ड : उच्च अदालतका पाँच न्यायाधीश छानबिनमा तानिए, यस्तो छ कारण, एसएसपी खत्री भने थुनामै



पहिलोपोस्ट

३३ किलो सुनकाण्ड : उच्च अदालतका पाँच न्यायाधीश छानबिनमा तानिए, यस्तो छ कारण, एसएसपी खत्री भने थुनामै

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धीकरण अभियानका क्रममा उच्च अदालतका नौ न्यायाधीशलाई आज काज सरुवा गरेका छन्। 

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार उचित न्यायसम्पादन नगरेको भन्ने न्यायपरिषदमा आएका उजुरीका आधारमा नौ न्यायाधीशलाई काज सरुवा गरिएको हो। 

चोलेन्द्र प्रधानन्यायाधीश भएसँगै न्याय परिषद ऐनको व्यवस्था अनुसारको निगरानी समिति सक्रिय बनाइएको थियो। निगरानी समितिकै अध्ययनले जिल्ला अदालत ललितपुरका न्यायाधीश विश्वमंगल आत्रेय परिषद तानिएका थिए।

३३ किलो सुन अवैध रुपमा चोरी निकासी तथा सनम शाक्य हत्या प्रकरणमा पनि सूक्ष्म निगरानी समितिले गरेको थियो। यस क्रममा तीन दिन विराटनगरमै बसेर अध्ययन गरेको थियो। समितिको नेतृत्व न्याय परिषद सचिव नृपध्वज निरौलाले गरेका थिए।

समितिले पेसी व्यवस्थापन र सुनुवाइको कार्यविधि पालना भए नभएको हेरेको थियो। पेसी व्यवस्थापनमा एकै प्रकृतिका लगाउ हुनुपर्ने तथा एकै न्यायाधीशले हेर्नुपर्ने मुद्दा फुटाएर हेरेको भेटिएको थियो। यस्तै सुनुवाइमा कार्यविधि पालना नगरेको भेटिएको थियो।

मुद्दा फुटाएको बारे उच्च अदालत बारले त्यो बेला बेञ्च नै बहिष्कार गरेको थियो। अहिले त्यही विषय छानबिनमा छ। छानबिनमा तानिएकाहरुमा नगेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, शाराङ्गा सुवेदी, उमेशराज पौड्याल  र उमेशकुमार सिंह  छन्। मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई पनि थप अनुसन्धान गर्न निगरानी समितिको प्रतिवेदन छ।

प्रतिवेदन परिषदको अर्को बैठकमा पेस हुनेछ।

सुन काण्डमा चालक र लोडर बाहेक अन्य भीआइपीलाई जिल्लाले थुनामा पठाएको थियो तर उच्च अदालतले उनीहरुलाई साधरण तारेखमा रिहा गरेको । यीमध्येका चार थुनुवा मुद्दा (सञ्जय राउत) समेतका सर्वोच्चमा छन्। सर्वोच्चले पुस २७ मा सबैको लगाउ कायम गरेको छ।

एसएसपी खत्री थुनामै

यसैबीच उच्च अदालत विराटनगरले सुन तस्करी अभियोगमा थुनामा रहेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई थुनामै राख्न आज आदेश दिएको छ। 

उच्च अदालतमा मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले प्रहरी वरिष्ठ उपरीक्षक खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डङ्गोललाई थुनामै राख्न आदेश दिएको हो। 

खत्रीलाई त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा चूडामणि उप्रेती (गोरे)को समूहले दुबईबाट भित्र्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट भन्सार छली गरी भित्र्याउने कार्यमा सहयोग गरेको आरोप रहेको छ।

यसैगरी डङ्गोलले भने विमानस्थलमा भित्रिएको सुन पास गराउन सहयोग गरेको प्रहरी अभियोगमा खुलेको थियो । जिल्ला अदालत मोरङले डङ्गोललाई गत विसं २०७५ जेठ ८ गते र विसं २०७५ खत्रीलाई जेठ २९ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell