PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

थापागाउँमा 'बर्बरिक': मदन भण्डारी महासचिव चुनिएदेखि निधनसम्मको घटनाक्रम

थापागाउँमा 'बर्बरिक': मदन भण्डारी महासचिव चुनिएदेखि निधनसम्मको घटनाक्रम

पहिलोपोस्ट /पहिलोपोस्ट


थापागाउँ लेखन कुञ्जस्थित थिएटरको बाहिर संस्कृतिविद् सत्यमोहन जोशी, पूर्व मन्त्री तथा लेखक प्रदिप नेपाल, उद्योगपती बिके श्रेष्ठ, राष्ट्रिय सभाका सांसद खेम नेपाली, प्रतिनिधि सांसद सीता न्यौपाने लगायत मौन उभिएका थिए। सबको ध्यान अगाडि रहेको दुई मृत शरीर र भाव विह्वल मानिसहरु तिर छ।

आमा र दुई छोरीहरु मर्माहत् देखिन्छन्। सँगै रहेका अरुका आँखा पनि रसाएका छन्।

दुई लासमाथि राजनीतिक पार्टी र देशको एकएकवटा झण्डा देखिन्छ।

नाटकघरबाट बाहिरिएपछि प्राङ्गणमा देखिने यही दृश्यसँगै नाटक ‘बर्बरिक’ सकिन्छ। नाटक सकिन्छ तर उपस्थित सबै मौन रहन्छन्। केहीको आँखा रसाउँछन् पनि।

केही बेरको सन्नाटा चिर्दै शताब्दी पुरुष सत्यमोहन जोशी बोले-

‘जननेता मदन भण्डारी र जीवराज आश्रित मरेर गए। सामान्य निधन रहेन। त्यही रहस्यमाथिको प्रश्न पुन: उठान भएको छ।‘

उनले नाटकको माध्यमबाट तत्कालिन समयको क्रान्तिलाई जीवन्त रुपमा प्रस्तुत गरेकोमा बिराटनगरको झोराहट नाट्य समूहलाई बधाई तथा धन्यवाद व्यक्त गरे। भने,’यो नाटक कलात्मक दवाव हुनसक्छ घटनामाथिको छानबिनका लागि। साथै संदेश पनि हो। समृद्ध नेपाल सुखी नेपाली भन्ने नारामा विश्वास राख्नेले यो नाटक हेरुन्। उनीहरुले बुझ्छन् नेपाल यथार्थमा के हो।‘

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जीवनको एउटा खण्डमा आधारित भनिएको उपन्यास ‘बर्बरिक’लाई नाटकको रुपमा मञ्चन गरिएको हो। बर्बरिक महाभारतको सशक्त पात्र हो। जसले आफ्नो क्षमता र शक्ति प्रयोग गर्न नपाई प्राण त्याग्छ। कथामा लेखकले सोही पात्रको नाम मदन भण्डारीलाई दिएका छन्।

जसमा उनी महासचिव चुनिएको महाधिवेशनदेखि उनको दुर्घटनामा परी निधन हुँदासम्मको घटनाक्रमहरु देखाइएको छ। विशेषगरी २०४६ देखि २०५० सम्मको राजनीतिक गतिविधि, संयुक्त जनआन्दोलन र नेता मदन भण्डारी र जीवराज आश्रितको दासढुंगा दुर्घटनाका विषयहरु समेटिएका छन्।

 

ती घटनाक्रमलाई लेखक पात्रमार्फत न्यारेट गरिएको छ।

 

पूर्वमन्त्री एवं लेखक प्रदिप नेपालको कथालाई नाट्य रुपान्तरण भरत गुरागाईंले गरेका हुन्। निर्देशन जीवन बरालको रहेको छ। नाटक यसअघि झोराहट नाटकघरका मञ्चन भइसको थियो।

 

बुधबारबाट काठमाडौंमा मञ्चन सुरु भएको हो। जसको पहिलो सोमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, संस्कृतिविद् सत्यमोहन जोशी, पूर्व मन्त्री तथा लेखक प्रदिप नेपाल, उद्योगपती बिके श्रेष्ठ, राष्ट्रिय सभाका सांसद खेम नेपाली, प्रतिनिधि सांसद सीता न्यौपाने लगायत उपस्थिति रहेको थियो।

 

नाटक १२ गतेसम्म कुञ्ज थिएटरमा हरेक साँझ ४:३० बजे सुरु हुनेछ। नाटकमा बिराटनगर र काठमाडौंका कलाकारहरुको अभिनय रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell