PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेसले दियो प्रमलाई दुई विकल्प : तत्काल सहमतिमा फर्कने वा चौतर्फी दबाब पर्खने



पहिलोपोस्ट

कांग्रेसले दियो प्रमलाई दुई विकल्प : तत्काल सहमतिमा फर्कने वा चौतर्फी दबाब पर्खने
फाइल फोटो

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा. गोविन्द केसीको आमरण अनसन आठौँ दिनमा पुग्दै गर्दा दुई वटा विकल्प सुझाएको छ- तत्काल सहमतिमा फर्कने वा चौतर्फी दबाब पर्खने। 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले ११ बुँदे प्रेस विज्ञप्ति वाचन गरे, जसमा चेतावनी दिइएको छ- ‘बहुमत र विवेकमध्ये लोकतान्त्रिक संस्कृतिले सदैव विवेकलाई केन्द्रमा राख्दछ, विवेकलाई कुल्चिएर प्रस्तुत हुने बहुमतले मुलुकलाई निकास दिन नसक्ने चेतावनी हामी दिन चाहन्छौं।‘
 
‘तत्कालै सहमतीमा फर्कने या चौतर्फी दबाब पर्खने सम्माननीय प्रधानमन्त्रीका सामुन्ने दुई वटा विकल्प छन्’, विज्ञप्तिमा भनिएको छ, ‘विषयलाई गम्भिरतापूर्वक लिन हामी विनम्र भाषामा हार्दिक अपिल गर्न चाहन्छौं।‘

‘चिकित्सा शिक्षामा विगतमा विस्तारको अगुवाई र पछिल्लो समयमा यसको सुधारमा अग्रसर भुमिका निभाई रहेको कांग्रेस आम नागरिकको भावना विपरितको विधेयकलाई समर्थन गर्न सक्दैन’, प्रवक्ता शर्माले भने। 

प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसँग पछिल्लो सम्झौता भएको स्मरण गराउँदै कांग्रेसले  प्रधानमन्त्रीकै अग्रसरता र वचनको सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन नभएको र त्यो अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण रहेको बताएको छ। 

‘प्रधानमन्त्रीको दोहोरो भूमिकाका कारण यस्तो स्थिति उत्पन्न भएको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विश्वविद्यालयले निश्चित संख्याका मेडिकल कलेजलाई मात्रै व्यवस्थित अनुगमन गर्न सक्दछ भन्ने माथेमा कार्यदलको अध्ययन निश्कर्षका आधारमा एउटा विश्व विद्यालयले पाँच भन्दा बढीलाई सम्बन्धन नदिने प्रावधान निर्मित भएको थियो । माथेमा कार्यदलको प्रतिवेदन र डा. के.सी. को माग सम्बोधन गर्दै कांग्रेस नेतृत्वको सरकारले अध्यादेश मार्फत यो माग पुरा गरेको थियो । गत साउनमा डा. के.सी. संग सम्झौता गर्दा वर्तमान सरकारले पनि यसलाई स्वीकार गरेको थियो । तर, भावी चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकार नछाडेर मनसाय पत्र लिइसकेकालाई पाँचवटाको प्रावधानले नछुने जे वाक्यांश राखिएको छ त्यसले “एक विश्व विद्यालय पाँच मेडिकल कलेज” को अवधारणालाई घुमाउरो ढंगले अस्वीकार गरेको छ।‘

डा. केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको बेला सरकार संवेदनाशून्य ढंगले समाधानको विपरित अघि बढ्न खोज्नु दुःखद र निन्दनीय भन्दै कांग्रेसले यस्तो प्रवृत्तिको भर्त्सना गर्दै तत्काल पुराना सहमतीमा फर्कन र समाधानमा पुग्न सचेत गराएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell