PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कुर्दिस लडाकुमाथि आक्रमण नगर्न टर्कीलाई अमेरिकाको चेतावनी



कुर्दिस लडाकुमाथि आक्रमण नगर्न टर्कीलाई अमेरिकाको चेतावनी
फोटो : ABC NEWS

वासिङटन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता भएसँगै टर्कीले कुर्दिस सैन्यबलमाथि आक्रमण गरे टर्कीले भयानक आर्थिक क्षति भोग्नुपर्ने चेतावनी दिएका छन्। 

उनले कुर्दहरुलाई संयम अपनाउन र टर्कीलाई 'उत्तेजित नबनाउन' पनि आग्रह गरेका हुन्। 

राष्ट्रपति ट्रम्पले गत डिसेम्बरमा सिरियाबाट अमेरिकी सैनिक फिर्ता हुने आकस्मिक घोषणा गरेका थिए।

सिरियामा करिब दुई हजार अमेरिकी सैनिक रहेको विश्वास गरिन्छ। 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अहिले मध्यपूर्वका मुलुकहरुको भ्रमणमा छन्। अमेरिकी समर्थनप्राप्त सिरियाली कुर्दिस गठबन्धनको भविष्यका बारेमा अमेरिका र टर्कीबीच उत्पन्न पछिल्लो तनावलाई मत्थर बनाउन विदेशमन्त्री पोम्पेओले क्षेत्रका नेताहरुसँग परामर्श गरिरहेका छन्। 

सिरियाली कुर्दिसले इस्लामिक स्टेट्स विरुद्धको लडाइँमा अमेरिकी नेतृत्वको फौजलाई सहयोग गरेको थियो। सिरियाली कुर्दिस लडाकूहरु अमेरिकी फौजको फिर्तीसँगै आफूहरुमाथि टर्कीले सैन्य कारबाही गर्ने भयमा छन्। 

अमेरिकी समर्थनप्राप्त कुर्दिस लडाकूको सुरक्षालाई ध्यान दिएर मात्र अमेरिकी सैनिक फिर्ता हुने बताएपछि टर्कीले त्यसप्रति कडा आपत्ति जनाएको छ। टर्कीले कुर्दिस लडाकू समूहलाई आतंककारीको रुपमा व्यवहार गर्दछ। 

ट्रम्पले लडाकूका लागि ३० किलोमिटरको सुरक्षित क्षेत्र बनाउने प्रस्ताव गर्दै ट्वीट गर्दै भनेका छन्,'कुर्दमाथि आक्रमण गरिए टर्कीले गम्भीर आर्थिक क्षति व्यहोर्नुपर्नेछ।' 

सुरक्षित क्षेत्र बनाउने बारेमा उनले विस्तृत विवरण सार्वजनिक गरेका छन्। खासगरी, यस्तो क्षेत्र बनाउँदा लाग्ने खर्च कसले व्यहोर्छ भन्ने प्रस्ट भएको छैन। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell