PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कैलालीमा ६ लेनको सडक: आयोजनाको अवधि ५ महिनामात्र बाँकी, ७५ प्रतिशत काम भने अधुरै



एम बम

कैलालीमा ६ लेनको सडक: आयोजनाको अवधि ५ महिनामात्र बाँकी, ७५ प्रतिशत काम भने अधुरै

कैलाली: कैलालीको अत्तरिया–धनगढी सडकलाई छ लेनमा विस्तार कार्य कछुवा गतिमा छ। सम्झौता भएको १९ महिना भइसक्दा पनि सडक विस्तारको भौतिक प्रगति २५ प्रतिशतमात्रै सम्पन्न भएको छ। २०७४ सालको जेठ महिनामा उक्त सडकलाई दुई बर्षभित्रै छ लेनमा विस्तार गरिसक्ने गरी ठेक्का सम्झैता भएको थियो। कञ्चनपुर र कैलालीको सीमास्थित मोहना पुलदेखि अत्तरियासम्म सवारीको उच्च चाप हुने १४ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य थालिए पनि भौतिक प्रगति सन्तोषजनक छैन।

सम्झौता भएको लामो समय भइसक्दा पनि आयोजनाको काम २५ प्रतिशतमात्रै सम्पन्न भएको मोहना पुल अत्तरिया छ लेन सडक आयोजनाका निमित्त आयोजना प्रमुख खगेन्द्रबहादुर शाहीले बताए। ‘काम सन्तोषजनक छैन।’ उनले भने ‘हामीले निरन्तर गति दिने प्रयास गरेपनि स्थानीयको अवरोधले कामको गति बढाउन सकिएन। अब सडकमा विगत जस्तो अवरोध छैन त्यसैले सडक निर्माणले गति लिने अपेक्षा लिएका छौं।’

विगतमा उक्त सडकखण्डका आसपासमा रहेका १ हजार बढी रुखको कटानी आदेश, भौतिक संरचनाहरु नहटाउने सर्वोच्चको आदेश, विद्युतका पोल, खानेपानीका पाइप लागयतले काममा अवरोध पुगेको आयोजनको भनाइ छ।

सडक आसपासका १४ जना घरधनीले साविकको धनगढी नगरपालिकाले सडकको सीमाभित्रै भौतिक संरचनाको नक्सापास दिएपछि घरहरु हटाउने आयोजनको सूचनाविरुद्ध सर्वोच्चमा रिट हाले। त्यसले पनि आयोजनको काम तीन महिना अवरुद्ध भएको थियो। तीन महिनापछि आयोजनालाई सर्बोच्चले विना मुआब्जा संरचना हटाउन आदेश दिए पछि काम सुचारु भयो। अहिले त्यस्तो कुनै अवरोध नरहेकोले अब कामले गति लिने आयोजनाको भनाइ छ।

सडक आयोजनको ढिलाईले स्थानीय हैरान

सवारीको अत्यन्त भीड हुने उक्त सडकको विकल्प सडक नभएकै अवस्थामा निर्माण कार्य पनि कछुवा गतिमा देखिएपछि स्थानीय बासिन्दा र व्यापारीहरु हैरान भएका छन्। आउजाउ गर्ने यात्रुहरु हिउँदमा धुलो र बर्खामा हिलोको मारमा पर्ने गरेका छन्। 

व्यापारीहरुको व्यापारसमेत चौपट भएको उनीहरुको गुनासो छ। चटकपुरस्थित ज्ञानु जनरल स्टोरका सञ्चालक अनन्तराम जोशीले भने ‘आयोजनाले घर हटाउन भन्यो, आधा घर भत्काएँ, अहिले सडकको अलपत्र नालीले ग्राहकहरु आउनै छाडे।’ व्यापार नचल्ने भएपछि घर भाडामा बसेकाहरु पनि पसल छोडेर गइसके। धुलोधुवाँले खपी नसक्नु छ। बर्खामा हिलोले आउन जान बाटोनै हुन्थेन।’ जोशीको गुनासो। यो उनको मात्रै होइन हन्या थुप्रै व्यापारीहरुको पनि गुनासो हो।

धनगढी उपमहानगरपालिकाले पनि उक्त आयोजना संघीय सरकारको मातहतमा पर्ने भन्दै आफुले कुनै पहल गर्न नसक्ने जनाएको छ। उपमहानगरका मेयर नृप ओडले भने ‘उक्त आयोजना संघीय सरकारको मातहतमा छ। यसो भन्दा फेरि मेयर पन्छिन खोज्यो भन्लान् तर हामीले के पहल गर्न सक्छौँ र यहाँबाट? यो कुरा सरकारलाई कसरी बुझाउने?’

मोहनापुल–अत्तरिया सडकको अत्तरियादेखि बोराडाडीसम्मको १० किलोमिटर सडक १ अर्ब १० करोडमा लुम्बिनी राजेन्द्रडाँफे र बाँकी बोरा डाँडीदेखि मोहनासम्म नागार्जुज निर्माण कम्पनीले ५१ करोड ७० लाखमा निर्माण कार्य गरिरहेका छन्। निर्माण कार्यमा भइरहेको ढिलाइले आयोजनाको लागत पनि बढ्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell