वासिङटन : २४ दिनदेखि बन्द रहेको अमेरिकी सरकारी कार्यालय खोल्ने सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेट सांसद्हरु बीच मतभेद चर्किदै गर्दा रिपब्लिकन सिनेटरले आंशिक रुपमा सरकारी कार्यालय खोल्न ट्रम्पसँग आग्रह गरेका छन्।
ट्रम्पका विश्वासपात्र मानिएका सिनेटर लिन्डसे ग्रहामले आंशिक रुपमा कार्यालयहरु खोलेमा रिपब्लिकन र डेमोक्रेटहरुबीच वार्ताको वातावरण बन्ने अपेक्षा गर्दै आग्रह गरेको बताइएको छ।
सरकारी कार्यालयहरु बन्द हुँदा ८ लाखभन्दा बढी कर्मचारीहरुले यो वर्षको पहिलो तलब प्राप्त नगरेको बताइएको छ।
ट्रम्पले बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सीमामा स्टिलको पर्खाल लगाउन ५.७ बिलियन अमेरिकी डलर बजेट माग गरेको थिए। तर डेमोक्रेटहरुले त्यसमा सहमति जनाएका छैनन्।
ट्वीट गर्दै ट्रम्पले सीमामा हुने अपराध, लागूऔषध तस्करी लगायतका गतिविधिहरुले अमेरिकालाई धेरै असर गरेको र यो 'सटडाउन' भन्दा ठूलो रहेको बताएका छन्।
The damage done to our Country from a badly broken Border - Drugs, Crime and so much that is bad - is far greater than a Shutdown, which the Dems can easily fix as soon as they come back to Washington!
— Donald J. Trump (@realDonaldTrump) January 13, 2019
कार्यालयहरु २४ दिनसम्म बन्द रहँदा समेत ट्रम्प र डेमोक्रेटहरुबीच कुनै सम्झौता हुने नदेखेपछि ग्रहामले ट्रम्पलाई यस्तो आग्रह गरेको बताइएको छ।
केही दिन अघि दुई पक्षबीच भएको वार्तामा डेमोक्रेटका नेताहरुले बजेट पास नगर्ने बताएपछि ट्रम्प 'बाइ बाइ' भन्दै बाहिरिएका थिए।
कंग्रेसले बजेट पास गर्ने नदेखेपछि ट्रम्पले कंग्रेसको स्वीकृति बिना नै पर्खाल बनाउने चेतावनी दिएका थिए। एक हप्ताअघि अमेरिकी संसदले पर्खाल बनाउनका लागि बजेट नदिए संकटकाल लगाउने र सरकारी काम वर्षौंसम्म ठप्प पार्ने ट्रम्पको चेतावनी थियो।
यता डेमोक्रेटहरुले भने ट्रम्पले अमेरिकी जनताहरुलाई बन्धक बनाएको आरोप लगाएका छन्।