PahiloPost

Jan 17, 2019 | ३ माघ २०७५


पहरोमै उब्जिएको हाक्पारे सुनियो राजधानीमा : काठमाडौंमा सुनाउँदा मख्ख लोकमान वनेम


सहयोग रञ्जित

पहरोमै उब्जिएको हाक्पारे सुनियो राजधानीमा : काठमाडौंमा सुनाउँदा मख्ख लोकमान वनेम

ए…
आहिङे फगर हिङ मून्धूम पोङल:
आसेनी फगर मिङ मून्धूम पोङल:
ए… साक्क


(बाँचिन्छ भने जीवनको शास्त्र बनोस्
मरेछौं भने नाम अमर रहिरहोस्) 


ताप्लेजुङका रैथाने हाक्पारे गायक लोकमान वनेम राजधानी आउँदा उनलाई भेट्न हामी ललितपुरको नखिपोट पुग्यौं। गीत गाउन आएका उनले गाएरै स्वागत गरे। 


भेट्दा रुघा खोकीले ग्रस्त थिए। कारण खुलाए, 'ताप्लेजुङमा पनि हिउँमा गाडी चलाएर आएको। यता फेरि धुँवा र धुलो उस्तै।'


दुईदिन अघि रैथाने संगीत समूहले शिल्पी थियटरमा 'हाक्पारे' गायन कार्यक्रममा उनको प्रस्तुति रहेको थियो। गायनसँगै हाक्पारेमाथि छलफल कार्यक्रम थियो। कार्यक्रमकै लागि ५० वर्षीय वनेम काठमाडौं आएका हुन्, गायिका झुमा लिम्बुको निम्तोमा।


सामान्य कार्यक्रम, पाँच- दशजनाको जमघटबीच गाउने सोच राखेका थिए उनले। तर, थिएटर पुग्दा करिब दई सय दर्शक देख्दा छक्क परे।
'अचम्म लाग्यो। हामी लिम्बुले गाउने हाक्पारे सुन्न काठमाडौंमा यति धेरै मानिस देखेर,' उनले भने। 


डर र सम्भावना दुवै देखे उनले त्यस दिन। 


विभिन्न जातजातिका दर्शक र श्रष्टाहरुबीच गाउँदा केही बिग्रिएला कि भन्ने डर थियो। भाषा नबुझे पनि लिम्बुसँगै विभिन्न जातिका मानिसको उपस्थितिले हराउँदै गएको हाक्पारे गीत संरक्षण होला कि भन्ने सम्भावना पनि।


थिएटरमा उनको आवाज गुञ्जिदा कोहीकोहीले मात्रै उनको लय-तालमा ध्यान दिएका थिए होलान्। सबैले रैथाने भाकामा हाक्पारे सुन्दा उनको आवाजमा कसैले खोट देखेनन्। तर, लोकमान आफैलाई चित्त बुझेको रहेनछ, आफ्नै गायनबाट।  


भने, 'सपना पूरा भएन। दु:ख लागेको छ। अस्वस्थताका कारण मैले जति सक्थेँ त्यति गाउन सकिन त्यस दिन। हाक्पारे सुनाउने राम्रो अवसर गुमाएँ।'  


**‌*
ताप्लेजुङको ढुंगे साँघुको लेकुवा गाउँका लोकमान वनेम अग्रजहरुले हाक्पारे गाएको सुनेर हुर्किए। सुन्दासुन्दै आफूले पनि हाक्पारे भाका टिपेको बताउँछन् उनी। 


'पहिला पनि गाउँथे। सुरताल मिल्दैन थियो। तर १९ – २० वर्षको हुँदादेखि अलि राम्रो हाक्पारे गाउन गरेको जस्तो लाग्छ,' उनले भने।
लोकमानले हाक्पारे गाउन सुरु गर्दा गाउँभरी हाक्पारे गाउनेको संख्या धेरै थियो। लय-सुर-ताल राम्रो नभए पनि पुर्खौंदेखि गाइँदै आएको हाक्पारे सबैले गाउँदै हिँडेको उनी आज पनि सम्झन्छन्। 


तर, समय बदलिएको छ। गाउँमा हाल ८-९ जना मात्रै हाक्पारे गाउँछन्। युवायुवतीहरु लिम्बु भाषा बुझ्छन्। तर, धेरैलाई राम्ररी बोल्न आउँदैन। हाक्पारे गाउने त कुरै भएन।


'पश्चिमेली संगीतको आगमनसँगै नेपाली र अङ्ग्रेजी भाषा सिक्ने लहरमा आफ्नै भाषालाई कम महत्व दिँदै छौं। दुखको कुरो,' भाषा बोल्नमात्रै सके पनि हाक्पारे जस्ता रैथाने संगीतहरु जगेर्ना हुने विश्वास छ उनलाई।  


लोकमानका अनुसार हाक्पारे लेखेर, पढेर गाउने गीत होइन। प्रत्यक्ष रुपमा प्रकृतिसँगै गाउने गीत हो। त्यसैले पनि लिम्बु भाषाको ज्ञान महत्वपूर्ण छ।


यद्यपी,  लिम्बु युवाहरुलाई यसप्रति आकर्षित गर्न हाक्पारेमा नयाँ शैलीको प्रयोगले भूमिका खेल्न सक्ने उनको तर्क छ।  


***
उनले शिल्पीमै पहिलोपटक बाजा र धुनसहित हाक्पारे गाएका हुन्। 'बाजा प्रयोग गर्नु गलत होइन। तर, वास्तवमा हाक्पारेको बाजा त प्रकृति हो,' उनले भने, 'हुरी बतास चल्दा मान्छेमा मनमा अनेकौं कुराहरु खेल्न थाल्छ,  उकुसमुकुस हुन्छ। हाक्पारे ती भावनाहरु व्यक्त गर्ने माध्यम हो। प्रकृतिको संकेतलाई व्यक्त गर्ने संगीत हो।‘ 


लिम्बु जातिको उत्पत्तिदेखि नै हाक्पारेको अस्तित्व भेटिएको भन्दै हाक्पारे गाउँदा पहिला सम्बोधन गर्ने, त्यसपछि विभिन्न ठाउँहरुमा भइरहेका कुराहरु प्रस्तुत हुने र अन्त्यमा माया पिरतीलगायतका कुरा आउने र सम्मानका साथ विदाइ माग्ने उनी बताउँछन्। एकजनाले गीत गाएपछि केहीले त्यसमा थप्दै, स्पष्ट पार्दै, र केहीले प्रश्न गर्दै र विकल्प दिँदै संवादका रुपमा हाक्पारे अघि बढ्ने उनले सुनाए।


सम्बोधन र सम्मानबिना हाक्पारे साम्लो अर्थपूर्ण हुँदैन। यसको आफ्नै विशेषता छ। समूहमा गाउँदा पनि अनुशासनमा रहेर गाउने गरिन्छ। पुरुष र महिलाले एकअर्कालाई सम्मान गर्दै गाउँछन्। 


लोकमान भन्छन्, 'यसले लिम्बु भाषाको गीतमा मिठास ल्याउँछ। हाक्पारेलाई जीवन्त बनाउँछ।'
***
लिम्बुहरुको सुख र दु:खका अनुभूतिलाई लयात्मक स्वरमा दोहोरी, सामुहिक या एकल रुपमा गाइने गीत हो हाक्पारे। हाक्पारे गाउने निश्चित अवधि हुन्न। लिम्बु जातिमा जन्मनु अघिदेखि मृत्युपछिसम्म हाक्पारे गाउने प्रचलन रहेको छ। 


सुखका बेला 'नेतीकुफुङ चाङम् साम्लो' भन्दै आशिष दिँदै,  जीवनमा भलो होस् भन्दै हौसला प्रदान गर्दै हाक्पारे गाइन्छ। यस्तै दु:खका बेला 'टुखेवा साम्लो' भन्दै स्वर्गवास भएकाहरुको आत्मले शान्ति पाउन,  मृत्यु संसारको नियम हो, यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ भन्दै हौसला दिँदै हाक्पारे गाइने वनेम बताउँछन्।


जुनसुकै बेला हाक्पारे गाउन सकिने भएता पनि विशेष गरी लिम्बु जातिको जीवनको तीन क्षणमा हाक्पारे निकै महत्वपूर्ण हुने उनको कथन छ।

 
पहिला शिशु जन्मनुअघि हुने 'सापोक चमेङ' (भुँडी पुजा)। त्यसबेला जन्मने शिशुको स्वास्थ्यदेखि उसको भविष्यसम्मका लागि आशिष दिने गरिन्छ।


दोस्रो हुन्छ 'नालि थाङवेन मेन्छ्या फुङजाङमा' (केटाकेटीहरुहरु बीच फूल जगजगी बनाउने)। विवाह लगायतका समारोहमा गाइने यस प्रकारका हाक्पारेमा नव विवाहित जोडीलाई शुभकामना दिने,  माया पिरतीको कुरा हुने, आशिष दिने लगायतका कुरा हुन्छ। 


तेस्रो हो 'युगुचम्सी' (मृत्यु परान्त) यसमा मृतकका सम्झनामा दु:खका गीतहरु गाउने चलन छ। 


सुख र दु:ख दुवैमा गाउने हाक्पारेको धुनचाहिँ विरही प्रकारको हुने बताउँदै लोकमान भन्छन्, 'लिम्बुहरु भावनामा बग्ने जाति परेकोले यस्तो भएको जस्तो लाग्छ। भाषा बुझ्नेहरु हाक्पारे सुनेर भावविह्वल हुन्छन्। कति रुन्छन् नै।'


हाक्पारे जीवन दर्शन बुझाउने इतिहास भएकाले भाषा बुझ्ने वा नबुझ्नेले त्यसको संगीतबाटै गीतको सार पत्ता लगाउने लोकमान बताउँछन्। उनले मंगलवार भएको कार्यक्रममा सबैको मन एकीकृत भएको महसुस गरेको बताए।
***
तेह्रथुम जिल्लाको हाक्पारे गाउँबाट हाक्पारे गीतको सुरुवात भएको कथन छ। जिल्लाको एक भिरबाट अर्को भिरसम्म बोलेर हुने कुराकानी विस्तारै गीतमा रुपान्तरण भएको विश्वास गरिन्छ। व्यापारका लागि जाने क्रममा विभिन्न जिल्लाका मान्छेहरु हाक्पारे भन्ने स्थानमा जम्मा हुने र एक अर्काको सुखदु:खको खबरका बारे प्रश्न गर्ने क्रमबाट यो गीत सुरु भएको बताइन्छ। त्यही कुराकानी विस्तारै गीतमा रुपान्तरण भएको र त्यसलाई हाक्पारे भन्ने गरिएको मान्यता रहेको छ। लिम्बु भाषामा 'हाक भनेको भिर र पारे भने बोल्नु' अर्थ जनाउने भएकाले पछि गएर यो हाक्पारे रहन गएको लोकमान बताउँछन्।

रैथाने हाक्पारे गायक वेनमलाई हामीले सोध्यौं : हाक्पारे गाउँ पुग्नु भएको छ?


'हा हा, छैन। धेरैपटक प्रयास गरेको पुग्न सकेको छैन,' उनले हाँस्दै उत्तर दिए। सानो स्वरमा बोलिरहका लोकमानमा अचानक उत्साह थपिएको महसुस हुन्थ्यो, हाँस्दै गर्दा। 


भने, 'हाक्पारे गाउँ पुगेर छोड्छु। पुगेपछि भिरमा हाक्पारे गाउँछु। वारिपारीका भिर गुञ्जाइदिन्छु। मनको भाव बगाइ दिन्छु।'


गाउँघरमामात्र हाक्पारे गाउँदै आएका वनेमले काठमाडौंले हाक्पारेप्रति देखाएको प्रेमबाट अब हाक्पारे गाउँ पुगेर छाड्ने संकल्प लिएको बताउँदै भने, 'यहाँको कार्यक्रमले माग्यो। जनसहभागिताले माग्यो। संस्कृतिले माग्यो। हाक्पारे माग्यो।' 


अब केही वर्षमा हाक्पारे गाउने मान्छे नहुने र यस्ता संगीत लोप हुने खतरा बढ्ने तर्फ संकेत गर्दै उनले अब रैथाने संगीतलाई ब्युझाउने बेला भएको बताए। यसलाई जीवन्त बनाउन लिम्बुहरुले मात्रै नभइ सबै नेपाली लाग्नु पर्नेमा जोड दिए। 

***
हामीले वनेमसँग विदाइ माग्ने प्रयत्न गर्‍यौं।


'उनले रोक्दै भने, 'हाक्पारे जीवन्त हुनुमा यसका नियमहरु छन्। हामी हाक्पारे गाउँदै विदाइ माग्छौं।' 
यति भन्दै उनी हाक्पारे गीत सुनाउँदै विदा भए…


'ए…एएए
मेन्जिफूङ यम्माए सेममुई बेल्ला फोक्सेन्न
लुङमासो पहिम सेरीरो आल्ल
ए… साक्क'

(हजुर ठूलो मान्छे, छुट्ने बेला भयो नि
विरही चल्दै, छुटौं है।)
 



पहरोमै उब्जिएको हाक्पारे सुनियो राजधानीमा : काठमाडौंमा सुनाउँदा मख्ख लोकमान वनेम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट