PahiloPost

Mar 18, 2019 | ४ चैत्र २०७५

काठमाडौंका सडकमा लिडिङ लेडी : ट्याक्सीको स्टेरिङमा महिलाको नियन्त्रण

काठमाडौंका सडकमा लिडिङ लेडी : ट्याक्सीको स्टेरिङमा महिलाको नियन्त्रण

स्वेच्छा राउत/पहिलोपोस्ट


तेह्र वर्षअघि ईश्वरी थापा गैह्री गाउँमा मासु पसल चलाउँथिन्। मासुका लागि उनले सिन्धुपाल्चोकबाट ८५ वटा खसी, बोका ल्याएकी थिइन्। हरेक दिन दिउँसो तिनलाई चराउन तीनकुनेको खाली चौरमा लैजान्थिन्। सधैं उनी खसी लिएर पुग्दा अर्की महिला कार लिएर आउँथिन्। उनले चौरमा खसी चराउँदा ती महिला भने कार घुमाउँथिन्।

सडकमा महिलाले गाडी हाँकेको दृश्य निकै कम देखिन्थ्यो। त्यसैले हुनुपर्छ, गाडी सिकिरहेकी ती महिलाले ईश्वरीको ध्यान तानिन्।

‘उनले सक्छिन् भने म पनि सक्छु भन्ने लाग्यो,’ उनले सुनाइन्।

उनलाई गाडी हाँक्ने हुटहुटीले छोयो। बिहान बेलुकी समय निकालेर गाडी सिकिन्। मासु बेचेर कमाएको पैसा घर भाडा र रासन पानीमा खर्च हुन्थ्यो। यसपटक गाडी सिकाइमा २५ हजार खर्चिन्। पाँच महिना सिकेर ट्रायल दिइन्। पास भइन्, लाइसेन्स हातमा पर्‍यो। खुशीको सीमा रहेन।

‘लागेको थियो, हातमा सीप र लाइसेन्स भएपछि जिविको चलाउन गाह्रो हुँदैन। गाडी चलाएर कमाउने सोचेको थिएँ,’ ईश्वरी खुशीसँगै निम्तिएको निराशाको कथा सुनाउँछिन्, 'कुनै साहुले गाडी दिन विश्वास गरेनन्, महिला भएकै कारण।' 

उनले ट्याक्सी साहुहरुलाई आग्रह गरिन्। कसैले पत्याएनन्।

एकपटक चिनेको ट्याक्सी ड्राइभरले भर गरेर ट्याक्सी चलाउन दिए। तीनकुनेमा प्यासेन्जर कुर्दै थिइन्। एकजना आएर टिचिङ अस्पताल महाराजगंज जानुपर्ने बताए। ट्याक्सी लिन आउने युवक कामदार रहेछन्। उनले काम गर्ने घर पुग्दा गाली पो खाए। महिला चालक भएको ट्याक्सी ल्याएको भन्दै एक महिलाले उनीमाथि हात नै छाडिन्। तिनै महिलाको श्रीमानलाई शिक्षण अस्पताल लैजानुपर्ने रहेछ। उनी एउटा खुट्टा खोच्याउँदै आए र भने - महिलाले हाँकेको ट्याक्सी चाहिँ ठाउँमा पुग्दैन र? 

‘उनी आएर ट्याक्सीमा बसे। मिटरमा ६ सय रुपैयाँ उठेको थियो। हजार रुपैयाँ दिएर गए,’ उनले सम्झिइन्।

फाट्टफुट्ट अरुको ट्याक्सी चलाएर न कमाइ राम्रो हुन्थ्यो। न त घर नै चल्थ्यो। त्यसैले लाइसेन्स थन्काइन्। 
गुजारा चलाउन लुगा सिलाई देखि अनेक सीप सिकिन्, होटलदेखि किराना पसल खोलिन् तर कमाई भएन। अनि, किस्ताबन्दीमै लिएर भए पनि गाडी नै चलाउने अठोट गरिन्, लाइसेन्स निकालेको पाँच वर्षपछि।

मासु बेचेर कम्तिमा पनि एक डेढ लाख भयो होला भन्ने आशा थियो, उनको। हिसाब गर्दा पचास हजारमात्र रहेछ। सानो मन, ठूलो आशा लिएर पुगिन्, पेप्सिकोलाका जीवन खड्काकहाँ। उनी फाइनान्स मार्फत् गाडीहरु किनबेच गर्थे। 
सुरुमा ईश्वरी पुग्दा उनी पनि हच्किएका थिए। 

‘गाडी ठोक्ला, कसैलाई हान्देला भन्ने डर होला। त्यसमाथि मसँग पैसा पनि पचास हजार मात्र थियो,’ उनले सुनाइन्, 'मैले भनेँ, ल मैले आफै केही गर्न खोजेको हुँ। विश्वास लाग्छ भने दिनुस् होइन भने ठीक छ।‘ 

जीवन सकारात्मक बनिदिए। उनले - ‘मान्छे नहान्नुस् अरु जे गर्नु हुन्छ तपाईंकै जिम्मा’ भनेर गाडी दिए। त्यसको २२ दिनपछि एक लाख रुपैयाँ ऋण लिइन्। डेढ लाख रुपैयाँ दिएर गाडी लिएको कागज बनाइन्।

बा १ ज ८९२९ नम्बरको ट्याक्सी उनको भयो। त्यसयता भक्तपुर, बानेश्वर, कोटेश्वर वरपर उनी ट्याक्सी लिएर देखिन थालिन्- सायद, पहिलो महिला ट्याक्सी ड्राइभर।

काभ्रेपलाञ्चोक रोसी गाउँपालिकाकी ३६ वर्षीया ईश्वरीकी एक छोरी छिन्, १२ मा पढ्दै। श्रीमान बासु थापाले दोस्रो विवाह गरेपछि छोरीको सम्पूर्ण जिम्मेवारी उनको काँधमा पर्‍यो,। १३ वर्षको उमेरमा विवाह गरेर काठमाडौं आएकी ईश्वरीले ज्यामी कामदेखि नाङ्लो पसलसम्म सबै भ्याइन्। दु:ख मिहेनत गर्दा पनि जीवन सहज चलेन। संघर्षको विकल्प अरु केही थिएन पनि। तर, उनले न त श्रीमानको बाटो हेरिन् न त जिविका चलाउन कसैको भर परिन्।

‘एक्लो भएपछि जिम्मेवारी थपियो। ती जिम्मेवारीबाट भाग्ने सोच कहिले पनि आएन। त्यसैले यो नभए त्यो, त्यो नभए यो गरेँ, ’ उनले खुशी साटिन्, 'लास्टमा ट्याक्सीमा राम्रो भयो।

‘राम्रो भयो’को अर्थ उनले धेरै पैसा कमाइन् भन्ने चाहिँ होइन। ट्याक्सी पुरानो भयो, चलाउन पाउने अवधी ५ वर्षमात्र बाँकी छ। ट्याक्सीको लोन ७ लाख अझ तिर्नै बाँकी छ। 

‘त्यसपछि के हुन्छ सोचेको छैन।’ 

उनी बिहान ४ बजे नै ट्याक्सी लिएर निस्किन्छिन्। बेलुकी अबेरसम्म प्यासेन्जर कुर्छिन्। यसरी काम गर्दा दैनिक छ, सात सयदेखि दुई हजार रुपैयाँसम्म आम्दानी हुन्छ। ट्याक्सीको खर्च, लोन काटेर बचेको पैसाले उनको घर चल्दै आएको छ।

ट्याक्सीले ईश्वरी र उनको छोरीको मात्र दैनिकी सहज बनाएन। उनले जिम्मेवारी लिएका अनाथ तथा असहाय बालबालिकालाई पनि आश्रय दिइन्। आमा बुबा दुवैले छाडेर गएका पाँचजना बालबालिकालाई आफूसँगै राखिन्। ती सबै बच्चाले उनलाई 'मम्मी' भन्छन्।

‘मैले धेरै पैसा भएर ती बच्चाहरु ल्याएर राखेको होइन,’ उनले भनिन्, ‘आफूले जुन दु:ख भोगेँ त्यस्तै दु:ख अरु कसैले भोग्न नपरोस् भनेर ल्याएकी हु। म अरुको दु:ख देख्न सक्दिन।’ 

हाल ती बालबालिका खोटाङस्थित आवसायी विद्यालयमा छन्। लामो बिदा र चाड पर्वमा ईश्वरीकहाँ आउँछन्। त्यतिखेर उनी ट्याक्सी उनीहरुलाई घुमाउन निस्किन्छिन्। 

यी सब भइरहँदा ईश्वरीले अनेक अप्ठ्याराहरु पनि भोगेकी छिन्। 

कतिपटक यात्रुसँग खटपट पर्छ। कतिपटक मोटरसाइकल चालकसँग र ट्राफिक पुलिससँग पनि। तर, यस्ता विवादहरुमा अल्झिन र कमजोर महसुस गर्न छोडिसकेकी छिन्। १३ वर्षको सानो उमेरमै भागी विवाह गरेर आएकी उनले विवाह भएको केही वर्षपछि नै श्रीमानसँगको खटपट सहनु पर्‍यो। मिलाउने कोशिश गर्नुपर्‍यो। सकिनन्। अन्तत सहमतीमै छुट्टिइन्। श्रीमानले चाहेको महिलासँग पठाएर।

समय र परिस्थितिले उनलाई बलियो बनायो। उनी बलियो भइन् र त ट्याक्सी लिएर सडकमा निस्किइन्। उनी निस्किइन् र त अरु महिलालाई पनि हौसला मिल्यो। 


*** 

दोलखाकी कान्छी थापा ठेलामा तरकारी बेच्थिन्। हरेक बिहान कालिमाटीबाट तरकारी लिएर फर्कँदा बानेश्वर, मिनभवन आसपास ईश्वरी थापालाई देख्थिन्। ट्याक्सी चलाइरहेको अवस्थामा।

‘केटी मान्छेले पनि ट्याक्सी चलाउन पाउने रहेछन् भन्ने थाहा पाएँ। उहाँलाई देखेर म पनि सक्छु भन्ने भयो,’ कान्छीले सुनाइन्।

‘केटी मान्छेले पनि ट्याक्सी चलाउन पाउने रहेछन् भन्ने थाहा पाएँ। उहाँलाई देखेर म पनि सक्छु जस्तो लाग्यो’, कान्छीले सुनाइन्।

उनको श्रीमान रामशरण थापा अरनिको यातायात चलाउथे। दुबैले काम गर्थे। तर पनि तीनजना सन्तान पढाउनै मुश्किल।  त्यसैले उनले पनि गाडी नै चलाउने निर्णय गरिन्। श्रीमानले सिक्न सहयोग गरे।

यहाँ कान्छीको पनि व्यथा उस्तै। लाइसेन्स निकालिन् तर ट्याक्सी साहुले विश्वास गरेनन्। चलाउन दिएनन्।

तरकारी र चटपटे बेचेर जम्मा गरेको २ लाख रुपैयाँले किस्ताबन्दीमा गाडी लिइन्। एक वर्ष भयो उनले ट्याक्सी हाँक्न थालेको। उनको श्रीमानले पनि बस छोडेर ट्याक्सी नै चलाउन थाले। उनी आफ्नै ट्याक्सी चलाउँछिन्, श्रीमान् चाहिँ साहुको।

‘आफ्नोमा ऋणको प्रेसर छ नि। महिला चालकलाई पनि साहुले गाडी दिए ऋणबारे सोच्न पर्दैन थियो,’ कान्छीको गुनासो।

परिवारमा अभाव भने रहेन। ट्याक्सी चलाएरै तीन छोराछोरीलाई राम्रो स्कूल पढाएका छन्। ट्याक्सीको खर्च र किस्ता कटाएर दैनिकी राम्रो चलेको छ।

भनिन्, ’कमाई पनि छ। महिला चालक देख्नेलाई हौसला पनि हो जस्तो लाग्छ।’ 

उनलाई ट्याक्सी हाँक्दै गर्दा हेरेर मुस्कुराउने, नमस्कार गर्ने र ‘थम्ब अप्स’ गर्नेहरु देख्दा गर्व लाग्छ।

गाडी सिक्नदेखि यसैलाई आफ्नो पेशा बनाउनमा साथ दिने श्रीमान र परिवारसँग उनी खुशी छिन्। तर, सीप भएर पनि साथ र साहस नपाउनुका कारण लाइसेन्स थन्काउन बाध्य महिला साथीहरुका लागि दु:खी पनि।

‘ईश्वरी दिदीलाई देखेर मैले आँटे। मलाई देखेर अरु महिलाले आटुन्,’ उनको आशा सुनियो, 'धेरै महिला चालक भएपछि साहुहरुले हाम्रो सीपलाई पत्याउलान्। ट्राफिकले हेप्न छोड्लान्।’ 

*** 

ट्राफिकको व्यवहार र मिटरको कम रेट नै मुख्य समस्या भएको बताउँछिन् महिला चालक कर्म थिङ तामाङ पनि।

‘आफ्नो बलबुतामा उभिएका छौं। साहस गरेर ड्राइभर बनेका छौं। तर, पनि ट्राफिकको बोली बचनले निरीह महसुस गराउँछ,’ उनले केही आक्रोशित भावमा भनिन्, 'सिधैं तँ सम्बोधन गर्छन् ल।’ 

एकदिन बौद्ध नयाँ बस्तीबाट सर्पले डसेको प्यासेन्ट लिएर आउँदै थिइन्। टेकु पुर्‍याउने हतारोले गर्दा एमर्जेन्सी लाइट बालेर हुइँक्याइन्। पुतली सडकमा ट्राफिक प्रहरीले झ्याप्पै रोक्यो। र, भन्यो- 'बिरामी त एम्बुलेन्समा ल्याउनु पर्छ। तेरो यो एम्बुलेन्स हो?' 
कारण प्रष्ट पार्दा पनि चिट काट्ने धम्की दिए। 

‘बिरामीकै मान्छे निस्केर कराएपछि छोडिदिए। हामीलाई त कहाँ टेर्नु?,’ कर्मले ट्राफिक प्रहरीले आफूहरुलाई गर्ने व्यवहारको उदाहरण दिइन्। 
उनको पनि ड्राइभिङ यात्राको सुरुवात प्रेरणादायी लाग्छ।

स्वयम्भु बुद्धपार्कमा नाङ्लो पसल राख्थिन्। हरेक दिन आफू ग्राहक कुरेर बस्दा बाटोमा युएनको गाडी हाँक्ने महिलाहरु देखेर उनी छक्क पर्थिन्। उनलाई पनि एकपटक चार पाङ्ग्रे गुडाउने कोसिस गर्न मन लाग्यो।

हरेक दिन ग्राहक कम हुने समय पारेर गाडी सिक्न थालिन्। २०६९ सालको सुरुवातमै ट्रायल दिएर लाइसेन्स निकालिन्। तर, सार्वजनिक सवारी हाँक्न महिलालाई कसले पत्याउने? हातमा लाइसेन्स लिएर माइक्रोमा खलासी पो बनिन्।

केही समयपछि भने चिनजानको आधारमा उनले माइक्रो चलाउन पाइन्। स्वयम्भुदेखि पुरानो बसपार्क रुटको।

‘काम गरेर खान पनि आफ्नै काकाहरुदेखि बाटोमा आँखा ठूलो पारेर हेर्नेहरुसम्मको हप्की सहनु पर्‍यो,’ कर्मले भनिन्, 'अनेक लाच्छना लगाउनेहरु पनि थिए। तर, मलाई त्यस्ता कुराले असर गरेन।’ 

अरुको गाडी चलाउँदा तोकिएको समयमा निस्कनुपर्थ्यो। छोराछोरी सानै थिए। बिहान चार बजे उठेर खाना बनाइदिन्थिन् र काममा निस्किन्थिन्। पसलमा भन्दा आम्दानी केही राम्रो थियो। रहरले सिकेको सीप व्यवहारमा उत्रँदाको खुशी बेग्लै।

केही समय माइक्रो चलाइन्, दुई वर्ष इजरायली दूतावासको गाडी। ‘तलबले मात्र नपुगेपछि अब त आफ्नै किन्नुपर्छ भन्ने भयो,' उनले भनिन्।

एक वर्षअघि उनले २४ लाखमा फाइनान्सबाट ट्याक्सी झिकिन्। तुलनात्मक रुपमा माइक्रो चलाउनुभन्दा केही सहज भयो। कमाई पनि राम्रो। यात्रु पनि केही संयमित। ‘माइक्रोमा २० रुपैयाँको लागि झगडा गर्नेदेखि अपाच्य, अश्लिल शब्द बोल्नेहरुको सामना गर्नुपर्थ्यो। ट्याक्सीमा त्यस्तो कम हुन्छ,’ उनले सुनाइन्।

समस्या त २०६७ सालदेखि नबढेको मिटर रेटमा छ उनको। उनीहरु चाहन्छन् सरकारले २०६९ देखि यता बढेको महङ्गीमा ध्यान दिउन्। सोही अनुरुप मिटर भाडा बढाउन्।

‘हामीले ५० रुपैयाँ बढी माग्दा ट्राफिक कम्प्लेनको धम्की आउँछ। तर, हरेक वर्ष घरबेटीले कोठा भाडा बढाउँदा, बत्तीको पैसा बढी तिर्नुपर्दा कोसँग कम्प्लेन गर्न जानु? यति कुरा त सरकारले बुझ्न पर्ने होइन र?,’ उनको गुनासो।

काठमाडौंको सडक, भौतिक अप्ठ्याराहरु पनि उत्तिकै छन्। तर, खाल्डा खुल्डी र ट्रफिक समस्यालाई भयानक मान्दैन महिला चालकहरु। शारीरिक आक्रमणको घटनाहरु पनि नघट्ने होइन। कर्मले भनिन्, 'अभाव र दु:खको अगाडि डर केही होइन। पछाडिबाट कसैले घाँटी सेरेर मारे केही गर्न सकिन्न। अगाडिबाट आए आत्मरक्षा गर्ने ल्याकत छ। त्यति हिम्मत हुन्नथ्यो भने हामी पनि एक जार पानी उचाल्न श्रीमान् पर्खेर बस्नेहरुकै सूचीमा हुन्थ्यौ होला।' 

एकाधले पुरुष चालकले उनीहरुलाई जिस्काउँछन् पनि। ‘महिला बाटोमा निस्किए अब हामी विदेशिनु पर्छ’ भन्दै व्यङ्ग्य पनि गर्छन्। तर, धेरैले हौसला र बधाई दिने गरेको उनीहरुको कथन छ।
*** 
रामेछापकी हेमा घिसिङ २०६५ सालमा काठमाडौं आएकी हुन्। बानेश्वर खरी बोटमा बस्थिन्। उनी बस्ने घरको बाटो हुँदै ट्याम्पु चल्थ्यो। अधिकांश ट्याम्पुमा महिला चालक देख्दा सुरुमा त छक्क परिन्। पछि आफू पनि सिक्ने जाँगर गरिन्। काठमाडौं आएको तीन महिनामा नै उनी ट्याम्पु चालक बनिन्। 

‘काठमाडौंको सडकमा गाडी चलाउन सकिन्छ भने किन ट्याम्पुमै सीमित बस्नु जस्तो लाग्यो,’ उनले ट्याक्सी चलाउन सुरु गर्नुको कारण बताइन्। २०७३ सालमा उनले सिटिइभिटीमा गाडी चलाउन सिकिन्। केही महिनामा लाइसेन्स निकालिन् र ट्याम्पु बेचेर ट्याक्सी किनिन्। 
'दुई पाङ्ग्रेले पेल्ने र सडकको दुर्गतीले निम्त्याउने अप्ठ्यारा सबैलाई पर्छ नै,’ उनले दुई फरक सवारी हाँक्नुको अनुभव साटिन्, 'ठूलो समस्या त ड्राइभरलाई हेर्ने दृष्टिकोणमा हुने रहेछ। ट्याम्पु चलाए पनि ट्याक्सी चलाए पनि साह्रै हेपेर बोल्छन्, ट्राफिक प्रहरीदेखि प्यासेन्जरसम्म।' 

ट्याक्सी चालककै भिडमा पनि प्राय पुरुष हुन्छन्। समूहमा रहँदा उनीहरुले बोल्ने अश्लिल शब्दहरु नसुनेजस्तो गर्नुपर्ने बाध्यताको कथा पनि छ। ‘हरेक खालका मान्छेको संगत गर्नुपर्छ। राम्रो बोल्न आउनेलाई त्यस्तै जवाफ दिइन्छ। द्वीअर्थी कुरा गर्नेलाई हपार्नुपर्छ। चुप लागे हेपिहाल्छन् नि,’ उनको भनाइले तीतो यथार्थको संकेत गर्छ। 

ट्याम्पुदेखि ट्याक्सीसम्मको जम्प सजिलो पक्कै थिएन। सजिलो खोजिनन् र जिन्दगी चलाउन गाह्रो भएन। तीन सन्तानको जिम्मेवारी उनको एकल काँधमा छ। अहिले २१ वर्षको जेठो छोरा पनि ट्याक्सी हाँक्न सक्ने भएका छन्। ‘दिनभर म चलाउँछु। रातीको टिप उसले गर्छ।’
माइलो छोरा १२ को परीक्षा दिएर बसेका छन् भने कान्छी छोरी ११ मा पढ्दै छिन्। 

‘गाडी चलाउने साहस हुँदैन थियो भने यस्तो महङ्गो शहरमा बस्न कहाँ सम्भव थियो र?,’ भनिन्। 

गाडीको कमाइले परिवार चलाउन र ट्याक्सीको किस्ता तिर्न पुगेको छ उनले। 

'मैले कोसिस गर्दा धाप मारेर बधाई दिने मान्छेहरु हुन्नथे भने मैले ट्याक्सी चलाउन सक्दिनथेँ। समाजले महिला चालकलाई सकारात्मक रुपमा हेर्नुले आजभोलि धेरै महिला चालक देखिएका हुन्। बाटोमा अर्की महिला ट्याक्सी चालक देख्दा गर्व लाग्छ।'

*** 

स्टेरिङ र ब्रेकसँगै जीवन चलाइ रहेका यी पात्रहरु उपत्यकाकै सडकमा कतै भेटिन्छन्। ‘एकपटक आँटे पटक पटक गर्न सकिन्छ’ भन्ने सुत्र अपनाएकी कर्म थिङ हुन् वा आफू दु:ख गरेर असायको दु:ख मेट्न लागि परेकी ईश्वरी थापा। ईश्वरी देखेर साहस जुटाउने कान्छी हुन् या तीन पाङ्ग्रेमा सिमित हुन नचाहेर चार पाङ्ग्रे अपनाएकी हेमा- यी सबैको अभाव, बाध्यताको कथा उस्तै छ। अनि, उस्तै छ साहस र हिम्मतको कथा पनि। यी तयार छन् हरेक अप्ठ्यारा र चुनौती स्विकारेर ट्याक्सीको मिटर चालु राख्न।

‘बाटोमा हामीलाई देख्नेले एकपटक फर्केर त हेर्छन् हेर्छन्।‘  

सबै सामुहिक स्वरमा भन्छन्- फर्की फर्की  हेर्नेहरुले आफ्नो जीवनमा जोडिएका महिलालाई पनि हामी जसरी निस्किने वातावरण, साथ र सहयोग दिउन्।  



ट्रेन्डिङ पोस्ट