PahiloPost

Jun 20, 2019 | ५ असार २०७६

विपिनको अस्पताल अनुभव : फिल्मको एउटा पात्र नै भेटे आफूमा तर 'लाउड'

विपिनको अस्पताल अनुभव : फिल्मको एउटा पात्र नै भेटे आफूमा तर 'लाउड'

रीना मोक्तान/पहिलोपोस्ट


‘मलाई उठाइदिनुस्। सहयोग गरिदिनुस्। ट्याक्सी बोलाइदिनुस् न प्लिज…’

बाइक दुर्घटनामा परेपछि विपिन कार्कीको मुखबाट फुत्केको चित्कार यस्तै थियो।

वरिपरि मान्छे जम्मा हुन थालेपछि उनी झनै रुन्चे स्वरमा सबैलाई गुहार्दै थिए। आँखा बन्द थियो। सडकमा लडेका उनले सहयोग माग्न छाडेनन्- ‘मलाई उठाइदिनुस्…।’

मंसिर ४ गते उनी सवार बाइक दुर्घटनामा पर्‍यो। घरबाट निक्लेको १५ मिनेटमात्र भएको थियो। बालाजु स्टुडियोमा ‘जात्रै जात्रा’को सुटिङ सेड्युल थियो। सुटिङका लागि कालिमाटी हुँदै जाँदा अगाडिबाट आएको अर्को बाइक अनियन्त्रित देखिएपछि उनी छेउ लागे। 

‘बाइक स्पीडमा आफैतिर आएर ठ्याकै खुट्टामा लाग्यो। दाहिने खुट्टा टेक्न खोज्दा, बाइक ढल्यो। म पनि ढलेँ। मलाई खुट्टा भाँचिएको आभाष भयो,' उनले सुनाए। 

विपिनलाई ठक्कर दिएका युवक घटनास्थलबाट भागिसकेका थिए। विपिन भने सडकमै छट्पटिँदै थिए। वरपरबाट मानिसहरु जम्मा हुन थाले। ‘यी त भष्मे डन हुन्,’ एक ट्राफिकको बोली उनको कानमा ठोक्कियो, 'कलाकार हुन्, कलाकार।' 

केही बेरपछि नजिकको वयोधा अस्पतालको इमर्जेन्सी वार्डमा पुगे उनी। अस्पताल जाँदै गर्दा फिल्मको प्रोडक्सन टिमलाई फोन गरे। फस्ट टेकका लागि टिम उनलाई नै कुर्दै थियो।  उनले श्रीमतीलाई पनि दुर्घटनाबारे जानकारी गराए। अस्पताल छेउमा घर भएकी दिदीलाई पनि फोन गरे। 

दुर्घटनाको अवस्थाबारे सुनाए, ‘ठीक हुन्छु कि हुँदैन भन्ने डर थियो।'

अप्रेसन गर्ने कुरा भयो। डर पनि थियो तर उनलाई जे होस्, छिटो होस् भन्ने थियो। प्रि अप्रेसन वार्डमा पुग्दा डाक्टर आइपुगेका थिएनन्।
 
अप्रेसनका लागि तयार हुँदै गर्दा नर्सहरुले उनलाई चिनिसकेका थिए। एकैछिनमा अप्रेसन गर्ने डाक्टरहरु पनि आए। विपिनकोआत्मबल बढ्दै थियो, पीडा कम हुँदै गएको थियो उनलाई। हाफ 'एनएस्थेसिया' दिइयो। अप्रेसनको अगाडि डाक्टरले त्यहाँका नर्सहरु उनका फ्यान रहेको बताए। यति घुलमिल भए कि अप्रेसन भइरहँदा समेत डाक्टरसँग उनी जिस्किन थालेका थिए। 

‘अप्रेसन गर्दा ड्रिल, मेसिनको आवाज आयो। ड्याङ ड्याङ सुनियो। मैले त सोधेँ- तपाइँहरुले काठको खुट्टा बनाएर हाल्न लाग्नु भएको कि क्या हो? यो त कारखानाको काम जस्तै रहेछ। सबैजना हाँसेका थिए,' उनले भने, 'सबैजना देख्दा अब म निको हुन्छु भन्ने आत्मबल बढिसकेको थियो।'

अप्रेसनपछि डाक्टरको अनुरोधमा उनले नर्सहरु र अप्रेसन गर्ने डाक्टर अभय यादवको टिमसँग सेल्फी पनि खिचाए, अप्रेसन थिएटरभित्रै, गाउन नै लगाएर। 

विपिनलाई दुर्घटना सामान्य हो जस्तो लाग्थ्यो। आफूलाई परेपछि त्यस्तो लाग्न छोडेको बताउँछन्। 

‘दुर्घटना सबै डरलाग्दो नै हुने रहेछ। र, यो कुरा दुर्घटना भएपछिमात्रै थाहा हुने रहेछ,’ उनले सुनाए, ‘त्यो पल साँच्चै डर लाग्दो थियो। बाँच्छु कि बाँच्दिन भन्नेसम्म द्विविदा थियो। अत्यास लाग्दो, अस्थिर मन। केही सोच्न पनि नसकिने रहेछ।'

अस्पतालमा उनलाई भेट्न थुप्रै शुभचिन्तक आए। फ्यानहरुको मेसेज पनि निरन्तर आइरहँदा उनलाई खुशी लाग्थ्यो। 

‘मेरो वरिपरि मानिसहरु हुनुहुँदो रहेछ। मलाई माया गर्नुहुँदो रहेछ। दर्शकले फेसबुकमा धेरै मेसेज पठाउनु भयो। भेट्न आउनुहुन्थ्यो। खुशी पनि लाग्यो। मैले यति मान्छे कमाएको रहेछु। यति धेरै मान्छे रहेछन् मलाई हेर्नेहरु, माया गर्नेहरु भन्ने लाग्यो।'

उनी यसअघि अस्पताल भर्ना भएका थिएनन्। पहिलो पटकको अस्पताल बसाई, त्यो पनि पूरा १० दिन। उनले भने, ‘फस्ट एक्सपेरियन्स थियो हस्पिटल बसाई चाहिँ। डाक्टर र नर्सहरुको केयरले बस्न धेरै गाह्रो भएन।'

अस्पताल रहरले बसिन्न रहेछ भन्ने अनुभव बटुले। डिस्चार्जको म्याद लम्बिँदा भने केही झर्को लागेको सुनाए।

उनलाई ८ हप्ता आराम गर्न डाक्टरले सल्लाह दिएका थिए। डिस्चार्जको खबरले अस्पतालको बेडमा उनी जुरुक्क उठ्न खोजेका थिए। श्रीमतीले पनि लामो समयपछि विपिनको यसरी खुशी भएको देखेकी थिइन्। उनलाई अस्पताल बस्दा फिनेलको गन्ध अनि अन्य कुराले मोनोटोनस बनाइसकेको थियो। घर जाने कुराले उनको अनुहारमा नयाँ चमक थप्यो। अस्पताल बसुन्जेल उनले फिल्मको छायाँकन मिस गरे।

‘मेरो कारणले कति जनाको काम रोकियो। मैले गर्दा कसैलाई प्रभाव नपारोस् भन्ने भयो। निको हुने अनि फिल्मको छायाँकनमा जाने हतारो थियो,' उनले अस्पतालमा हुँदाको हुटहुटी सुनाए।

डिस्चार्ज भएपछि उनी फिल्म छायाँकनमा गइहाले, वैसाखीको सहारामा। तर, सकेनन्। आराम नै गर्नुपर्ने भयो। उनले ८ हप्ता नै आराम गर्ने निर्णय गरे। 

हिँड्नका लागि वैसाखीको सहारा लिनु उनको बाध्यता थियो। वैसाखीले उनलाई खुट्टाको महत्व बुझायो। 

‘एउटा खुट्टा नहुँदा कति गाह्रो हुँदो रहेछ। शरीरमा सबैभन्दा महत्वपूर्ण चिज नै खुट्टा रहेछ भन्ने लाग्यो। तपाईं हामी अरु बेला मुटु कलेजो घाँटी, टाउकोलाई महत्व बारे बोलिरहेका हुन्छौं। त्यतिखेर मेरो लागि खुट्टा महत्वपूर्ण थियो। शरीरको एउटा भाग नहुँदा ज्यानलाई कति गाह्रो हुँदो रहेछ भन्ने अनुभव भयो,' उनले भने।

दुर्घटनापछि उनमा एक फिल्मको पात्र जन्मियो। आफूले भोगेको अवस्थामा चाहिने पात्रको मनोभाव, पीडा, आवश्यकता सबै उनले भोगेका छन्।  'लाउड सुनिने क्यारेक्टर बन्छ। तर, चाहिने त्यस्तै नै रहेछ,' उनले भने। 

ठक्कर दिने बाइक चालक पुलिसमार्फत् पक्राउ परे। उनको उपचारमा भएको खर्चको केही क्षतिपूर्ति पनि तिरे। ठक्कर दिएर भाग्ने युवक उनको उपचार पछि भने साथी भएका छन् - दुर्घटनाले जोडेको अनौठो नाता।  

उनको फिल्म गोपी प्रदर्शनको तयारीमा छ। फिल्मको प्रचारमा उनी कतिपटक वैसाखीमै हिँडे। फिल्मको कथावस्तु मन परेका कारण उनले यो फिल्म गरेका बताए। 

‘यो फिल्ममा मैले गरेको काम नै मलाई मन परेको छ। मलाई कहिले हेरौं भएको छ फिल्म। दर्शकलाई मेरो काम देखाउन आतुर पनि छु,' उनले भने। 

फिल्ममा एक स्नातकोत्तर तहमा पढिरहेको स्वावलम्बी नेपालीको कथा छ, जसको मुख्य पेसा गाईपालन हो। विपिनका कति साथी बिहान कलेज पढाउने अनि दिउँसो गाई पाल्ने गर्छन्, वास्तविक जीवनमा नै। त्यसैले उनलाई पात्र जन्माउन सकस लागेन। 

फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन्।



ट्रेन्डिङ पोस्ट