PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नागढुङ्गा-नौबिसे सुरुङमार्ग चैतबाट निर्माण सुरु गरिँदै, तीन बर्षमा तयार पार्ने लक्ष्य



पहिलोपोस्ट

नागढुङ्गा-नौबिसे सुरुङमार्ग चैतबाट निर्माण सुरु गरिँदै, तीन बर्षमा तयार पार्ने लक्ष्य

काठमाडौँः नागढुङगा नौविसे सुरुङमार्ग चैतबाट निर्माण हुने भएको छ। सडक विभागको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले दुई महिनाभित्र कम्पनी छनोट गरेर चैतबाट निर्माणको काम सुरु गर्ने तयारी थालेको आयोजनाका इन्जिनियर छविलाल पौडेलले जानकारी दिए।

कम्पनी छनोटका लागि प्राविधिक प्रस्तावमाथि अहिले महाशाखामा छलफल भइरहेको छ। सुरुङमार्ग निर्माण गर्नका लागि महाशाखाले साउनमा ग्लोवल टेण्डर निकालेको थियो।

दुई महिनाको समयावधि राखेर निकालिएको टेण्डरमा कुनै पनि कम्पनीले आवेदन दिएनन्। त्यसपछि १५ दिनको समय थपेर रिटेण्डर निकालियो। ६ वटा कम्पनीले आवेदन दिए। जसमा पाँचवटा चिनियाँ कम्पनी र एउटा जापानी कम्पनी रहेको छ। त्यही आवेदन दिएका मध्येबाट उत्कृष्ट कम्पनी छनोट गर्न लागिएको हो।

इन्जिनियर पौडेलका अनुसार महाशाखाले निकालेको वोलपत्र १५ नेपालीसहित करिव ५० कम्पनीले खरिद गरेको भए पनि ६ वटा मात्रै आवेदन दिएका थिए। उच्च प्रविधि प्रयोग गरेर सुरुङमार्गको काम गर्नुपर्ने भएकाले नेपाली कम्पनीले आवेदन नदिएको हुने सक्ने अनुमान गरिएको छ।

आवेदन दिएका ६ वटा कम्पनीको प्राविधिक प्रस्तावमाथि छलफल भइरहेको महाशाखाका इन्जिनियर पौडेलले जानकारी दिए। अहिले महाशाखाले आवेदन दिएका मध्येबाट एउटा कम्पनी छनोट गरेर सुरुङमार्ग निर्माण सुरु गर्न लागिएको हो। छनोट भएको कम्पनीले ३ बर्षमा सुरुङमार्ग निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गर्नुपर्नेछ।

अहिले आवेदन दिएका कम्पनीको प्राविधिक प्रस्तावमा छलफल भइरहेको महाशाखाले जनाएको छ। प्राविधिक प्रस्तावमाथि छलफल पास भएका कम्पनीसँग आर्थिक प्रस्ताव मागिने छ। सबैभन्दा कम रकम कबुल गर्ने कम्पनीले ठेक्का पाउने छ। न्युनतम लागत उच्चतम प्रविधि प्रयोग गर्ने कम्पनीलाई सुरुङमार्ग निर्माणको जिम्मा दिने पौडेलले जानकारी दिए।

टनेल निर्माणका लागि जापानको निप्पन इन्जिनियरिङले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो। त्यही डिपिआरका आधारमा सुरुङमार्ग निर्माण गर्न लागिएको हो। डिपिआर अनुसार सुरुङमार्ग नागढुङगा नौविसेको सडकखण्ड अन्तर्गत आयल निगमको डिपो नजिकैको बस्नेतछापदेखि सिस्नेखोलासम्म २.७ किलोमिटर निर्माण हुनेछ।

टनेलका लागि १ अर्ब ६० करोड रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा ७० करोड रुपैयाँ वितरण गरिसकेको छ। २ सय ६७ रोपनी अधिग्रहण गर्नुपर्ने छ। अहिले धमाधम मुआब्जा वितरण भैरहेको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell