PahiloPost

Aug 22, 2019 | ५ भदौ २०७६


अध्यागमन, कहिले बन्ला अन्तर्राष्ट्रियस्तरको? यसरी हुँदैछ सुधार


सविन ढकाल

अध्यागमन, कहिले बन्ला अन्तर्राष्ट्रियस्तरको? यसरी हुँदैछ सुधार

काठमाडौँ: हाल प्रचलनमा रहेको नेपाली भिसा स्टिकर सुरक्षाको हिसाबले गुणस्तर नभएको भन्दै अध्यागमन विभागले मेसिन रिडेबल भिसा ल्याउने तयारी गरेको छ।

चालु आर्थिक वर्षभित्रमा नै केही भिसाहरूलाई अन्तर्राष्ट्रिय स्तरको मेसिन रिडेबल बनाउने अध्यागमनका महानिर्देशक इश्वरराज पौडेलले जानकारी दिए। महानिर्देशक पौडेलले भने, ’अहिले हस्तलिखित भिसाको कारण विभिन्न समस्या आएका छन्। अब केही महिनाभित्रमा नै हामी मेसिन रिडेबल भिसा प्रचलनमा ल्याउँदै छौँ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्ड अनुसारको अध्यागमन हुन्छ।‘

विभागले भिसामा मात्र होइन अन्य पक्षमा पनि अध्यागमनको सुधार गर्ने तयारी थालेको जानकारी दिइएको छ। अध्यागमनका प्रविधि, भौतिक, कर्मचारीको आचरण र सुरक्षा व्यवस्थामा सुधारको लागि काम सुरु भइसकेको महानिर्देशक पौडेलले दाबी गरेका छन्। ‘७/८ महिनामा नै अध्यागमन अन्तरार्ष्ट्रियस्तरको हुन्छ, हेर्दै गर्नुहोला। हामीले यसको लागि सबै कामहरू सुरु गरिसकेका छौँ।‘

सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको अवस्था छ। अध्यागमन सुधारको लागि अर्थमन्त्रालयबाट अध्यागमन सुधारको लागि २३ करोड ५८ लाख रुपैयाँ बजेट छुट्ट्याएको महानिर्देशक पौडेलले जानकारी दिए। पौडेलले भने, ’अहिलेसम्म ६ करोड रुपैयाँ बजेट आइसकेको छ। यो चालु आर्थिक वर्षभरिमा १४ करोड रुपैयाँ आउँछ। त्यसैले हामी काम गरिरहेका छौँ।‘

अध्यागमनमा सुरक्षा व्यवस्था कमजोर हुँदा विदेशमा आपराधिक गतिविधि गरेर लुक्न आउने विदेशीको सङख्या पनि बढ्दै गएको छ। अध्यागमनको तथ्याङक हेर्ने हो भनेपनि छ महिनामा  ८४ जना विदेशी नागरिकलाई अध्यागमनले निश्चित अवधिभर प्रवेश नपाउने गरी निष्कासन गरिसकेको छ। अध्यागमनसँग आपराधिक गतिविधिको ‘रियल टाइम डाटाबेस’ प्रणाली छैन। हामी आपराधिक गतिविधि भएका व्यक्तिको जानकारीको लागि प्राविधिक पक्ष हेरिरहेका छौँ। अध्यागमन डेक्सलाई पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउँदै छौँ। केही समयभित्र नै भित्रिने र बाहिरिने यात्रुको लागि बायोमेट्रिक प्रणाली लागु गर्छौँ।‘ महानिर्देशक पौडेलले भने।

  

विदेशीको निगरानी र जानकारी लिन होटल, अस्पताललगायतका क्षेत्रमा पनि उनीहरूको जानकारी दिने सफ्टवेयरको जडान गरी विभागसँग समन्वय गर्ने तयारी भइरहेको पौडेलले दाबी गरे।

सन् २०१८ मा ११ लाख ७३ हजार ३५८ जना विदेशी आएको र ११ लाख ८० हजार २५९ जना बाहिरिएको अध्यागमनको तथ्याङकले देखाएको छ। १२ लाख ६२ हजार ५९५ जना नेपाली नेपाल प्रवेश गरेको र १२ लाख ६९ हजार ७२५ जना नेपाली विदेश भएको उल्लेख छ। चालु आर्थिक वर्षको छ महिनामा मात्रा  एक अर्ब ३० करोड ७० लाख  रुपैयाँ राजस्व सङ्कलन भएको छ।

पछिल्लो समय सुन र मानव तस्करीमासमेत अध्यागमनका कर्मचारीको संलग्नता भएको देखिँदै आएको छ। ६ महिनाको अवधिमा मात्र १० जना कर्मचारीलाई तस्करी र अन्य गतिविधि गरेको आशंकामा कारबाही भइसकेको विभागको तथ्याङकले नै देखाउँछ। महानिर्देशक पौडेलले भने अब कर्मचारी कुनै पनि तस्करीमा संलग्नता भेटिए तत्काल कारबाही हुने बताउँछन्। भने, ’अब कुनै किसिमको तस्करी हुँदैन। हामी कर्मचारीको पनि अनुगमन गरिरहेका छौँ। कुनै गलत काम गरेको देखिएमात्र ड्युटीबाट हटाइन्छ। बरु जहाज गनेर बस्न लगाउँछु।‘



अध्यागमन, कहिले बन्ला अन्तर्राष्ट्रियस्तरको? यसरी हुँदैछ सुधार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट