PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

च्याम्पियन मनाङको खल्लो अन्त्य



गोविन्दराज नेपाल

च्याम्पियन मनाङको खल्लो अन्त्य

काठमाडौँ : दुई बाँकी छँदै शहिद स्मारक ए डिभिजन लिग २०७५ को उपाधि पक्का गरिसकेको मनाङ मर्स्याङ्दी क्लबले लिगमा सुखद अन्त्य गर्न सकेन। फ्रेण्ड्स विरुद्ध खेल्नुअघि लगातार १२ खेल जितेर उच्च मनोवलमा रहेको मनाङ अन्तिम खेलमा पराजित भयो।

यस सिजन च्याम्पियन मनाङलाई पराजित गर्ने एक्लो टोली बनेको फ्रेण्ड्सले मनाङलाई इन्जुरी टाइमको गोल मद्दतमा हराइदियो।

एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा विकास लामाले इन्जुरी टाइममा हेड मार्फत गोल गरेपछि मनाङको सबै खेल जितेर लिग जित्ने नयाँ कीर्तिमान बनाउने लक्ष्य अधुरै बन्यो।

हारपछि मनाङको अपराजित लिग जित्ने योजना समेत पुरा भएन।

खेलपछि मनाङका प्रशिक्षक सुमन श्रेष्ठले फ्रेण्ड्ससँग जित्नकै लागि खेलेर तर राम्रो प्रदर्शन गर्न चुकेको स्वीकारे। 'आज ब्याड लक भयो। हामीले खेल हार्छौँ र बराबरी खेल्छौँ भनेर एक प्रतिशत पनि सोचेका थिएनौँ। तर राम्रो खेल्न नसक्दा अन्तिममा गएर पराजित भयौँ।' श्रेष्ठले भने। 'हामी कीर्तिमान बनाउन भनेर खेलेका थियौँ। तर अन्तिम समयमा गोल खाएर हार्नुपर्दा दु:ख लागेको छ। अली खल्लो भयो।'

उनले ओलावालको गोल अफसाइड हुनु, दोस्रो हाफमा पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नु परेको बताए। आज खेलाडीहरुले राम्रो खेल्न सकेनन्। पहिलो हाफमा खासै राम्रो भएन। दोस्रो हाफमा फर्मेसन चेन्ज गरेर खेल्दा अली सुधार भएको थियो तर गोल निस्केन।

श्रेष्ठले ए डिभिजन लिगको डेब्यु सिजनमै मनाङलाई च्याम्पियन बनाउन पाउदा भने खुशी व्यक्त गरे। उनले यसअघिका नकआउट टुर्नामेन्टहरुमा पनि राम्रो खेलेकाले त्यसले सहयोग मिलेको बताए।

लिगअघि सिक्कसिममा भएको गभर्नस गोल्डकपमा पनि सुमनकै प्रशिक्षणमा मनाङले उपाधि जितेको थियो।

लिगमा लगातार ११ खेल जितेर दुई खेल अगावै उपाधि पक्का गरेपछि प्रशिक्षक सुमनले त्यसपछिको लक्ष्य बाँकी खेल जितेर नयाँ कीर्तिमान बनाउने प्रतिक्रिया दिएका थिए। तर च्यासल विरुद्ध १२औँ चरणको खेल जित्दै त्यसको नजिक पुगेपनि अन्तिम खेलमा भने मनाङले पुरानो खेलको प्रदर्शन दोहोर्‍याउन सकेन।

अन्तिम खेल हारेपछि मनाङका कप्तान विराज महर्जनले कहिलेकाँही खेलमा यस्तो खालको नतिजा आउने बताए। 'हारेर पनि धेरै कुरा सकिन्छ। हामीले अगाडी लिग जितिसकेका थियौँ। आज फ्रेण्ड्सले पनि राम्रो खेल्यौँ।'

मनाङले यस सिजन लिगमा खेलेका १३ मध्ये १२ वटै खेलमा गोल गर्दा अन्तिम खेलमा गोल पनि गर्न सकेन। मनाङका गोलकिपर विशाल श्रेष्ठले ६ खेलमा क्लिनसिट राखे भने ७ खेलमा गोल खाए।

सबै खेल जितेर नयाँ कीर्तिमान बनाउन नसकेपनि कीर्तिमानी आठौँ पटक लिग जितेको मनाङले लिग ट्रफी र नगद ५० लाख हात पार्‍यो। यस्तै लिग विजेताको हैसियतमा मनाङले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने मौका समेत पाउनेछ।

मनाङलाई डेब्यु सिजनमै च्याम्पियन बनाउने सुमन श्रेष्ठ लिगको उत्कृष्ट प्रशिक्षक घोषित भए। साथै सबैभन्दा कम गोल (७) खाएका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर र हेमन गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भए।

लिगअघि मनाङको मुख्य प्रशिक्षकमा विदेशी फुजा तोपे थिए तर काजगी प्रक्रिया नमिल्दा उनको स्थानमा सुमनले मुख्य प्रशिक्षकको जिम्मेवारी पाए। पुजाकै सहयोगमा सुमन आफ्नो जिम्मेवारी भने पुरा गरे।


मनाङको च्याम्पियन यात्रा

विरुद्ध ब्रिगेड ब्वाइज ३-१ ले विजयी

विरुद्ध एनआरटी २-० ले विजयी

विरुद्ध थ्री स्टार २-१ ले विजयी

विरुद्ध एपीएफ २-१ ले विजयी

विरुद्ध सरस्वती २-० ले विजयी

विरुद्ध जावलाखेल १-० ले विजयी

विरुद्ध मछिन्द्र १-० ले विजयी

विरुद्ध आर्मी १-० ले विजयी

विरुद्ध च्यासल ३-१ ले विजयी

विरुद्ध पुलिस १-० ले विजयी

विरुद्ध संकटा ३-१ ले विजयी

विरुद्ध हिमालयन शेर्पा २-१ ले विजयी

विरुद्ध फ्रेण्ड्स १-० ले पराजित


 

मनाङको लागि धेरै गोल गर्ने खेलाडी

आफिज ओलावाले : ७ गोल

अन्जन विष्ट : ५ गोल

एडालाजा सोमिडे : ४ गोल

विशाल राई : २ गोल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell