PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ट्विटरको प्यारोडी अकाउन्ट : फेक ट्विट पत्याउने उत्तिकै, सक्कलीमा भन्दा नक्कलीमा बहस



स्वेच्छा राउत

ट्विटरको प्यारोडी अकाउन्ट : फेक ट्विट पत्याउने उत्तिकै, सक्कलीमा भन्दा नक्कलीमा बहस

बुधवार बिहान राजेश हमाल नामको ट्विटर अकाउन्टबाट ट्विट आयो - फिल्मको पोष्टरमा मेरो फोटो मात्रै देखे पनि स्कुल नै छाडेर फिल्म हलतिर कुद्ने भुराभुरीहरुले समेत अहिले मलाई फलो ब्याक दिएनन् बा! 
 

ढाका टोपी, दौरा र कोट लगाएको हमालको फोटो डिस्प्ले पिक्चरमा छ। धेरैलाई लाग्न सक्छ चर्चित अभिनेताले यस्तो ट्विट किन लेखे होलान्? तर, जब उक्त प्रोफाइल खोलिन्छ तब त्यहाँ प्रष्टसँग लेखिएको छ- ‘अफिसियल प्यारोडी अकाउन्ट अफ भेट्रान नेपाली एक्टर’। 

उक्त अकाउन्टमा बुधवार नै पहिलो ट्विट भएको छ। हमालको नाममा ट्विटर अकाउन्ट पनि यही महिना नै खुलेको छ। 

राजेश हमाल ट्विटरमा सक्रिय छैनन्। उनको आधिकारिक फेसबुक लिंक गरिएको अकाउन्ट छ, जसमा उनलाई करिव आठ हजारले फलो गरेका छन्। तर, त्यहाँ फेसबुकमा पोस्ट गरिएका फोटोहरु बाहेक केही पनि देखिँदैन। 


प्यारोडीको लहर
यतिखेर माइक्रोब्लगिङ साइट ट्विटरमा प्यारोडी अकाउन्टको सङ्ख्या बढ्दो छ। कलाकारसँगै लोकप्रिय राजनीतिक व्यक्तित्वको नाम र फोटो प्रयोग गरेर बनाइने यस्ता 'फेक' अकाउन्टहरु झट्ट हेर्दा सक्कली झै लाग्छन्। 

सेन्स अफ ह्युमर धेरै भएकाले चलाउने प्यारोडी अकाउन्ट ट्विटर प्रयोगकर्ताबीच निक्कै लोकप्रिय छन्। तिनमा इन्टरएक्सन पनि धेरै देखिन्छ। तर, चर्चित व्यक्तिका नाममा खुलेका कतिपय प्यारोडी अकाउन्ट भने अरुलाई वद्‍नाम गराउने उद्देश्यले प्रेरित मात्र भएको देखिन्छ।   
नोभेम्बर २६ का दिन केपी शर्मा कोली नामको ट्विटर अकाउन्टबाट एउटा ट्विट आयो- 

‘प्रतिपक्षले, मिडियाले, पेटिकोट समुहले- "खै सरकार", "सरकार हरायो", "सरकार लुक्यो" जस्ता आरोप लगाएकोले हामीले हाम्रो फोटो सहरभरी लगाइबक्सेका हौँ। अब सरकार प्रष्टसँग देखिएको छ - के दिन के रात। जसले "सरकार खै" भन्छ, उसले बाहिर निस्केर हेर्नु। पोलपोलमा छ सरकार अब।' 
त्यसताका उपत्यकाको पोलहरुमा प्रधानमन्त्रीको फोटोसहित ‘नयाँ युगको सुरुवात’ लेखिएको पोस्टर झुन्ड्याइएका थिए। सामाजिक सञ्जालमा पोस्टरको आलोचना तीब्र भएको थियो। अचानक प्रधानमन्त्रीको फोटो भएको अकाउन्टबाट उक्त ट्विट आउँदा धेरैजना झुक्किए। 

नक्कली अकाउन्ट, सक्कली प्रतिक्रिया
प्रधानमन्त्री ओलीको ट्विटर ह्यान्डलको हुबहु देखिने केपी शर्मा कोहलीको ट्विटमा देखिएका केही कमेन्ट यस्ता छन् : 

भरत कुँवर लेख्छन्- ‘राम्रो काम गरेको देखेपछि त्यसको विज्ञापन अरूले गर्छ। जो चोर हुन्छ उसको ठूलो स्वर हुन्छ। केही गर्न नसकेर पोले प्रधनमन्त्री हुन खोज्या होला। सबैले बुझिसके अब।' 

विद्या अधिकारी नाम गरेको प्रयोगकर्ताले प्रश्न गरेका छन् - ‘लौ, सरकार टोलटोल, बाटो बाटोको पोलमा देख्न पाउने भएपछि मुलुक समृद्धिको बाटोमा लागेछ भन्ने बुझ्नु पर्ने भो, यही कारणले हो कि सुन काण्ड र निर्मला पन्तका अनुसन्धान बाटैमा हराएका, कि पोलपोलमा सरकारको उपस्थितिले ती पनि कुलेलाम ठोकेका हुन्, एकपटक सुसूचित हुन पाए हुन्थ्यो कि?’ 

सायद गम्भीर भएर कमेन्ट गर्नेले बुझेनन्, त्यो केपी ओलीको प्यारोडी अकाउन्ट हो। जसको बायोमै लेखिएको छ- ‘यो रमाइलोको लागि खोलिएको प्यारोडी अकाउन्ट हो। यसलाई ट्विटरको प्यारोडी नीति अन्तर्गत् संचालनमा ल्याइएको हो।’

ट्विटरमा ‘केपी’ ओली खोज्दा सुरुमै केपी शर्मा कोली ह्यान्डल भएको अकाउन्ट देखाउँछ। त्यसपछि मात्र केपी शर्मा ओलीको सक्कली अकाउन्ट। 

ओरिजिनल ह्यान्डलमा तीन लाख ४८ हजारजनाले पछ्याएका छन्, प्यारोडीमा तीन हजार दुई सय जनाले। तर, पनि प्रमको ट्विटहरुमा भन्दा उनको प्यारोडीमा बढी लाइक, रिट्विट र कमेन्टहरु देखिन्छ। 

कमेन्टहरु पढ्दा प्रष्ट हुन्छ- प्यारोडी अकाउन्टहरुले ट्विटर प्रयोगकर्तालाई साँच्चै झुक्काएका छन्। 

प्यारोडीलाई ट्विटरको बैधता
प्रधानमन्त्रीमाथि ब्यङ्ग्य गर्दै चलिरहेको यो अकाउन्ट बन्द गराउन नेपाल प्रहरीले ट्विटरसामु आग्रह गरेको पनि खबर सार्वजनिक भयो। सँगै ट्विटरले बन्द नगरेको खबर पनि आयो। 

प्यारोडीमा कसैको शैली वा तरिका अपनाएर लेखिन्छ, व्यङ्ग्य गरिन्छ। यसको विशेषता हसाउनुमात्रै हो। तर, नेता तथा मन्त्रीहरुको नाममा खोलिएका प्यारोडीमा व्यङ्ग्य कम आक्रोश, रीस, हेय, द्विअर्थी भावका ट्विट पनि प्रवाह भएको देखिन्छ। 

नेपाली काङ्ग्रेसका नेता रामशरण महतको प्यारोडी अकाउन्टमा बीस हजारभन्दा बढी फलोअर्स छन्। ओरिजिनल ठानेर प्रोफाइल खोल्नेहरु उनको बायो देखेर छक्क पर्न सक्छन्। लेखिएको छ- ‘त्यस्का बाजे पाउरोटी अकाउन्ट।’ 

उनको अकाउन्टमा प्राय सरकार र प्रधानमन्त्रीलाई गाली र व्यङ्ग्य गरेका ट्विटहरु लेखिएका छन्। 

‘आफ्ना हनुमानलाई ठेक्का दिने भनेर ५० अर्ब भन्दा धेरै रकमका काम सिधैं प्रमले दिने रे। खाने मेसो नि कति मिलाएका हुन् यी ओली र रिमाल बन्धुले। देश खाडलमा हाल्ने भए म यही चिन्ताले सकिन्छु कि जस्तो लाग्छ आजकाल त। उता रबिन्द्रेले एनसेलबाट भुक्रुम खायो, वाइड वडीको कुरो नगरुँ चिन्ता थपियो।‘ 

‘के ताल हो यो ओली सरकार को? नक्कली डा हतौडालाई अर्थमन्त्री बनायो: चामल उत्पादनमा कर, किन्दा कर, भात बानाएर खादा नि कर आची मा पनि कर, ढल निकास कै पनि कर! हे बाबा एउटै कुरामा ५-६ ठाउमा कर! त्यस्का बाजे हनुमान पाल्न जनतालाई सेक्ने ओली सरकारको पतन निश्चित छ। फु गर्न नपरोस नि।' 

रामशरण महतको ओरिजिनल अकाउन्टमा भने तीन लाख सत्तरी हजार फलोअर्स रहेका छन्। 

नेपाली काङ्ग्रेसकै युवा नेता गगन थापाको प्यारोडी अकाउन्ट ‘गनगन थापा’को नाममा चलाइएको छ। डेढ सय मात्र फलोअर्स रहेको उक्त अकाउन्ट राजनीतिक व्यङ्ग्य र ठट्टाको लागि खोलिएको जनाइएको छ। 

ट्विटरले प्यारोडी अकाउन्टविरुद्ध कुनै कारवाही भने गर्दैन। नेपाल प्रहरी केपी ओलीको प्यारोडी बन्द गराउन नसक्नुको कारण पनि त्यही हो। 

‘हाम्रा प्रयोककर्ताहरुको वाक स्वतन्त्रताको सम्मान गर्दै हरेक खालका सामाग्रीलाई स्थान दिन्छौं’ 

जसका लागि केही शर्तहरु ट्विटरले आधिकारिक वेबसाइटमा राखिदिएको छ। जसमा बायोमा अकाउन्ट सक्कली नभएको प्रष्ट हुनेगरी लेखिनु पर्छ भन्ने उल्लेख गरिएको छ। त्यस्तै जसको नक्कल गरिएको हो उसको नाम हुबहु राखिनु हुन्न। जस्तै: केपी शर्मा ओलीको ठाउँमा केपी कोली लेखिएको छ। शेरबहादुर देउबाको प्यारोडी शेरबहादुर लेउबा राखिएको छ। 

कसैले ट्रेडमार्क कम्प्लेन गरेको हकमा मात्र अकाउन्टविरुद्ध कारवाही हुने प्रयोगकर्ताको पोलिसीमा उल्लेख छ। 

गत १६ तारिखमा महेश महर्जनले थाइल्यान्डमा भएको १० औं वर्ल्ड बडी बिल्डिङ च्याम्पियनसीपमा स्वर्ण पदक जितेको खबर सार्वजनिक भयो। सँगै पदक थाप्नुअघि राष्ट्रगान बजाउँदा भने ‘श्रीमान् गम्भीर नेपाली...’ बजेको समाचार आयो।

सो विषयमा विभिन्न टिका टिप्पणी भइरहँदा ज्ञानेन्द्र शाहको नाममा ट्विट आयो :

‘नेपालका पुत्र बाबु महेश्वर महर्जन, हाम्रो आफ्नै पुरानै मौलिक राष्ट्रगानको धुनसँगै विश्व बिजेता बन्नु भएकोमा हामी लगायत वडामहारानी हर्षले विभोर होइबक्सेका छौं!’ 
उक्त ट्विटमा इभा सिंहले कमेन्ट लेखेकी छिन्, 'यो नेपालको बेइज्जत गरिएको हो, राष्ट्रगान परिवर्तन भएको कुरा थाहा पाउनु पर्थ्यो।’ 

सायद उनले अकाउन्ट फेक भएको ठम्याइनन्। 

त्यसो त, प्यारोडी अकाउन्टमा आउने रमाइला कमेन्ट, रिट्विट र लाइकका कारण पनि त्यस्ता अकाउन्टहरु धेरै देखिएका छन्।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, जनमोर्चाका नेता चित्रबहादुर केसी, नेकपाका नेता माधव कुमार नेपालको ‘माकुले’ र ‘माधवकुमार लेपाल’, शेखर कोइरालाको ‘शेखर कोइलाला’, बाबुराम भट्टराईको ‘भारुराम भट्टराई’, खगेन्द्र संग्रौलाको ‘बेलाकोगोली’, राजेन्द्र महतोको ‘लाजेन्द्र महतो’ लगायत फेक अकाउन्टहरु सक्रिय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell