PahiloPost

Jan 16, 2019 | २ माघ २०७५


चलचित्र 'प्रसाद'को सन्देश के? दलित र महिलाले जस्तोसुकै परिस्थिति स्वीकारेर बस्नुपर्ने?


पहिलोपोस्ट

चलचित्र 'प्रसाद'को सन्देश के? दलित र महिलाले जस्तोसुकै परिस्थिति स्वीकारेर बस्नुपर्ने?

  • ध्रुवसत्य परियार -
‘यो पुस्तक ती अबोध शूद्रहरूका लागि लेखिएको हो, जसलाई यो थाहा छैन कि आफूहरूको यो हालत किन भयो।’

‘शूद्र कौन ?’ पुस्तकमा डा. बीआर अम्बेडकरको कथन हो यो। 

प्रदर्शन भइरहेको नेपाली कथानक चलचित्र ‘प्रसाद’मा प्रमुख दलित पात्र छ, बाबुराम परियार, जो यति सोझो, अबोध, चेतनाहीन र कमजोर छ– उसलाई जात–व्यवस्थाले सिर्जना गरेका अन्याय, अपराध स्वीकार्य छ । ऊ यतिसम्म कमजोर छ– आफ्नी पत्नीलाई बलात्कार गर्नेलाई सजाय दिलाउने कानुनी वा विवेकसम्मत बाटो त सोच्नै सक्दैन, हतियार लिएर भिड्न जाँदा पनि निहत्था बलात्कारीसँग हार्छ र कुटाई खाएर फर्कन्छ।
 
यो चलचित्रमा ‘हिरो’ बाबुराम नै हो जस्तो देखाइएको छ। आजसम्मका चलचित्रको मानक हो, ‘हिरो’ले जित्नु। तर, यहाँनेर प्रश्न उब्जन्छ– यो फरकधारको चलचित्र भएकाले यहाँ ‘भिलेन’ले जितेको हो? कथामा त ‘हिरो’ र ‘भिलेन’सँग पनि जात जोडिएको छ, के बाबुराम ‘जात’का कारण कमजोर भएकाले ‘भिलेन’को कुटाइ खाएको हो? दिनेश राउत निर्देशित, सुशील पौडेल लिखित चलचित्र ‘प्रसाद’ले यस्ता धेरै प्रश्न उब्जाएको छ। तर, पंक्तिकारले यहाँ चलचित्रको समग्र पक्षको समीक्षा गर्दै छैन, चलचित्रले बोकेको भाव र यसले दिने सन्देशमाथि सानो टिप्पणी मात्रै हो।
 
०००
प्रश्न व्यवस्थाको हो । विभेदकारी व्यवस्था हटाएर सामाजिक न्याय कायम गर्ने प्रयत्नको हो । होइन, हामी मनोरञ्जनका लागि फिल्म बनाउँछौं, कुनै मुद्दा वा सामाजिक न्यायको मतलब गर्दैनौं भन्ने हो भने सदियौंदेखि अन्याय खेप्दै आएका दलितलाई किन जोड्ने ?
०००

चलचित्रले उठाउन खोजेको बाँझोपन र ‘टेस्ट ट्युब बेबी’को जुन मुद्दा छ, त्यो जातभात, धर्म–संस्कृति भन्दामाथि भौतिक शरीर र विज्ञानको गम्भीर विषय हो ।  जातीय भेदभाव तथा छुवाछुत जस्तो अर्को गम्भीर मुद्दालाई हल्का ढंगले चलचित्रमा प्रयोग गर्नु सदियौंदेखि जातीय विभेदमा परेका दलितलाई अपमान गर्नु हो ।
०००

अम्बेडकरको कथन जस्तै यो टिप्पणी देशका ती तमाम दलितहरू, जसलाई जात–व्यवस्थाको विभेदकारी लामो इतिहासले अबोध र कमजोर बनाएको छ, जसले आफ्नो मुक्तिको सही बाटो देखेका छैनन्, उनीहरूका लागि हो। र, ती  ‘बाबुराम परियार’हरूका लागि पनि हो, जसलाई ‘प्रसाद’ चलचित्रका लेखक, निर्देशकहरूले फेरि अबोध र कमजोर बनाउँदै छन्। दलितको वास्तविक मुक्तिको मुद्दा बंग्याउँदै छन् र दलितलाई दयाको पात्र बनाउँदै छन्।
 
‘प्रसाद’को ‘थिम’ छ– बाबुरामले बाग्लुङदेखि क्षत्री वडाध्यक्षकी छोरी नारायणीलाई भगाएर काठमाडौं लैजान्छ। काठमाडौंमा बाबुरामका दुइटा साथी छन्– एउटाले उसलाई सहयोग गर्छ र अर्कोले उसको गरिबी र चेतनाहीनताको फाइदा उठाउँदै नारायणीलाई बलात्कार गर्छ।

यो आलेख, ती अबोध स्त्री जातिका लागि पनि हो, वैवाहिक बलात्कारको कानुन आइसक्दासम्म पनि जोसँग महिलाहिंसा, बलात्कारविरुद्ध सही ढंगले बोल्ने आवाज वा चेतना छैन । 

००० 

फिल्ममा मुद्दा पनि छ– निसन्तान वा बाँझोपन र टेस्टट्यब बेबी सम्बन्धमा। बाबुरामलाई डाक्टरले सन्तान जन्माउन योग्य नभएको बताएको हुन्छ, तर उसले यो कुरा श्रीमतीलाई नभनी गोप्य राख्छ। यता, नारायणीमा सन्तानको रहर र निसन्तान हुनुको पीडा बढ्दै जान्छ। बाबुरामले ‘टेस्टट्युब बेबी’का लागि डाक्टरसँग सल्लाह लिन्छ र पैसा खोज्न गाउँ जान्छ। उसले पैसा संकलन गर्दागर्दै यता नारायणी बलात्कृत हुन्छे। अन्ततः बलात्कारबाट जन्मेको सन्तानलाई ‘भगवानको प्रसाद’ सम्झेर बाबुराम र नारायणीले स्वीकार गर्छन्।  

फिल्मले उठाउन खोजेको बाँझोपन र टेस्टट्युब बेबीको जुन मुद्दा छ, त्यो जातभात, धर्म–संस्कृति भन्दामाथि भौतिक शरीर र विज्ञानको गम्भीर विषय हो, कुनै जातसँग जोडिएर आउने मुद्दा होइन। र, जातीय भेदभाव तथा छुवाछुत जस्तो अर्को गम्भीर मुद्दालाई हल्का ढंगले चलचित्रमा प्रयोग गर्नु सदियौंदेखि जातीय विभेदको शोषणमा परेका दलितलाई झनै अपमान गर्नु हो। 

दलितले समाजमा भोगेको जातीय विभेदबाट चलचित्रको कथानक सुरु भएको छ। तर, विभेदको अन्त्य कसरी हुन्छ भन्ने कुनै समाधान चलचित्रले देखाएको छैन। उल्टै जातीय विभेदको चपेटामा परेका हामी निर्दोषलाई साथ दिन ‘भगवान्’ आए र हामी निसन्तानलाई प्रसाद (सन्तान) दिएर गए भनेर बलात्कारलाई स्वीकारिएको छ। बलात्कार गर्नेलाई सजाय दिन पनि कुनै कानुन वा विधिको शासन आवश्यक परेको छैन, एउटा ट्रक (सायद भगवान्) आएर बलात्कारीलाई किचेर मार्छ। अहिले टिपर आतंकको चर्चा छ। तर, चलचित्र अनुसार यस्तो लाग्छ, अपराधीलाई वा जो–कोहीलाई पनि किचेर मार्न ट्रक स्वतन्त्र छ।
 
हामी रहेको यो भूगोलमा इतिहासदेखि नै राज्यले कानुन बनाएर दलितमाथि जातीय विभेद तथा छुवाछुत गरेको हो। १९१० को मुलुकी ऐन, वि.सं. १४३६ मा जयस्थितिले लेख्न लगाएको ‘मानव न्यायशास्त्र’ यसका उदाहरण हुन् । यस भन्दाअघि जाँदा हिन्दूहरूले बनाएको मनुस्मृति आउँछ, जसमा शूद्र र महिलालाई मान्छे नै मानिएको छैन।
 
आज राज्यले कानुन नै बनाएर विभेद हटाउने प्रयत्न गरिसकेको छ। तर, आजको समाज देखाएको भनिएको चलचित्र (कुनै पौराणिक कथा वा लोककथामा आधारित भए कुरा बेग्लै हुन्थ्यो) को कथानकले ‘कानुन कुन चराको नाम हो’ भनेर सोध्ने समेत सामर्थ्य राख्दैन।
 
आज कोही दलित, जनजाति, अल्पसंख्यक भएर विभेद खेप्नुमा न दलित दोषी छ, न त गैरदलित। यसमा त एउटा इतिहास, सिंगो कालखण्ड दोषी छ। जतिबेला वर्ण–व्यवस्थाको सिर्जना गरियो र केही चलाख ब्राह्मणले आफू अनुकूल सामाजिक नियम बनाउँदै अन्ततः एउटा समुदायलाई अछुत बनायो। अछुत वा जातीय विभेदको कथा तहगत छ, जैसी र उपाध्यायबीच भान्सा नचलेर विवाहमा समस्या आएका कयौं उदाहरण छन्। नेवार समुदायभित्र सानो र ठूलो थरीको कुरा छ। कानुन बनाएर, स्मृतिग्रन्थ लेखेर गरेको विभेदलाई स्वीकार्दै आएका दलितभित्र पनि सानो–ठूलो भेद छ।
 
प्रश्न व्यवस्थाको हो। विभेदकारी व्यवस्था हटाएर सामाजिक न्याय कायम गर्ने प्रयत्नको हो। होइन, हामी मनोरञ्जनका लागि फिल्म बनाउँछौं, कुनै मुद्दा वा सामाजिक न्यायको मतलब गर्दैनौं भन्ने हो भने सदियौंदेखि अन्याय खेप्दै आएका दलितलाई किन जोड्ने?
डेढ सय वर्ष यताको कुरा गरौं, जमिनको पुर्जी वा लालपूर्जा कुन जातले बाँड्थ्यो ? कसैलाई छात्रवासमा बसेर पढ्न केले रोक्थ्यो?  कुरा जातकै आउँछ। दलितहरूले कसरी राज्यका स्रोत, साधन, सेवा–सुविधा पाएनन्? किन राज्य संयन्त्रका निकायमा सेवा गर्ने अवसर पाएनन्? कुरा अछुत जातिकै आउँछ। तसर्थ, दलितहरूको मुक्ति र उनीहरूलाई सामाजिक न्यायका निम्ति राज्यले विशेष अधिकारसँगै क्षतिपूर्ति दिनुपर्नेछ। कानुन बनिसके पनि, संविधानमा मौलिक हकले बोलिसके पनि दलितले व्यवहारमै अधिकार र क्षतिपूर्ति पाएका छैनन्। यो नितान्त सामाजिक न्यायको मुद्दा भएकाले यसमा दलित र गैरदलित सबैले एक स्वर गर्नुपर्छ। 

चलचित्रका कथा, आख्यानमा प्रेम र विवाहका प्रसंग आउँछन् नै । तर, त्यसले तत्कालीन समाजलाई भुल्नु हुँदैन। समाजमा प्रेम र विवाहसँगै जात, धर्म, वर्ग, देश आदि जोडिएर आउँछ। दलितले अन्तर्जातीय विवाह गर्दैमा विभेद हट्छ, न्याय मिल्छ भन्ने ढंगले बुझ्नु दलित अधिकारका लागि घातक हो। दलितको न्याय वा मुक्ति विवाहसँग मात्रै जोडिएको छैन। दलितहरूले पढ्नका लागि वातावरण पाउँछन्, कुनै प्रतिष्ठापूर्ण जागिर गर्न वा व्यवसाय गर्न सक्षम हुन्छन्, अथवा वडा, गाउँपालिका, नगरपालिका र राष्ट्र नै हाँक्ने पदमा पुग्छन् भने जातीय विभेद त्यसै हटेर जान्छ। समस्या त राज्यका स्रोत, साधन र सेवा–सुविधामा पहुँच नभएर पो भएको छ।
 
अर्को कुरा, अहिले दुवैको विचार मिलेको खण्डमा दलित युवाले गैरदलित युवतीसँग विवाह गर्न कुनै समस्या छैन, मौलिक हक र कानुनले नै साथ दिन्छ। उसले विवाह गरेर घरमा भित्र्याउन सक्छ। तर, दलित महिलाहरूलाई गैरदलित पुरुषले घरमा भित्र्याउन समस्या छ। त्यहाँ रोक्ने जात छ, कुल देवता छ। त्यसैले विवाह वा वैवाहिक सुरक्षासम्बन्धी कानुन अपुरो छ भने त्यसलाई पूर्ण बनाउन आजका आख्यान, चलचित्रले सूत्र खोज्नुपर्छ।
 
संवादसहित चलचित्रको निष्कर्ष छ– बाबुराम र नारायणीलाई ‘भगवान्’ले सन्तान (प्रसाद) दिए। यहाँनेर बुझ्नैपर्नै कुरा यो हो– हिन्दू समाजमा जातीय विभेद तथा छुवाछुतको जग ‘भगवान्’का नाममा बनाइएका अनेक मिथक हुन्। भगवानका पनि अनेक रुप र चरित्र छन्। रामायणमा उल्लेख छ, शूद्र भएर पनि तपस्या गर्‍यो भनेर रामले शम्बुक ऋषिलाई मार्छन्।
 
यसर्थ, दलितका लागि राम भगवान हुन सक्दैनन्। त्यस्तै, सदियौंदेखि यहाँ दलितलाई मन्दिरभित्र पस्न दिइएन। देवता–कुलदेवता रिसाउँछन् भनेर जातीय छुवाछुत गरियो, गरिन्छ। धर्म र भगवान् नितान्त व्यक्तिको आस्थाको कुरा हो, तर दलितको न्यायको हकमा यो प्रसाद, भगवान्, भाग्यवाद भन्ने सबै बकबास हुन्।
 
चलचित्र अनुसार, डाक्टरले प्रजननका लागि अयोग्य ठहर्‍याएको बाबुरामले प्रजननका वैज्ञानिक उपाय खोज्दै थियो। बीचमै ‘दुर्घटना’स्वरुप सन्तान जमिन्यो र उसले स्वीकार्‍यो, ठीक छ। तर, बलात्कृत भएर जन्मेको वा कुनै काण्डवश बाबुको परिचय नखुल्ने गरी जन्मेको सन्तानलाई पहिचान दिने यो तरिका ठीक होइन। हामीले त बाबुबिनाका सन्तानलाई सम्पूर्ण समाज, राज्यले स्वीकार्ने वातावरण बनाउन आवश्यक छ। 
नारायणीले बलात्कारपछिको गर्भ तुहाउन नमान्नु ठीक छ। तर, ‘बलात्कारबाट बच्चा हुनु र टेस्टट्युबबाट बच्चा हुनु एउटै जस्तै हो’ भन्ने खालको संवाद उचित होइन। नारीले सन्तान चाहलान् तर बलात्कार स्वीकार्दैनन्।
 
अर्को कुरा, चलचित्रमा ‘जात जनाउँछ’, ‘रक्सी नखाएर म बाहुन हुने होइन’ जस्ता संवाद छन्। ‘जात जनाउँछ’ भन्ने संवाद रक्सी खाएर होस गुमाएको बाबुरामलाई कथित उच्च जातको बलात्कारीले भनेको हुन्छ। यहाँ लक्षणा वा मानसिकता यस्तो बुझिन्छ, चेतना नभएका दलितलाई जे भने पनि हुन्छ। विभेद गर्ने, अन्याय गर्नेले जात जनाउँछ कि शोषणमा पर्नेले? यो ख्याल गर्न आवश्यक छ, संविधानको मौलिक हक र जातीय भेदभाव तथा छुवाछुत ऐनले जातीय रुपमा उचनिच देखाउने यस्ता संवाद भन्ने छुट दिँदैन।
 
अर्को कुरा, दलितलाई कुनै ‘बाहुन’ हुनु छैन, उसको आफ्नै जात र थर छ। फेरि कस्तो ‘बाहुन’ हुने हो, उही विभेद गर्ने? के यहाँ ‘बाहुन’ भनेका उच्च, सर्वश्रेष्ठ मानव हुन् र दलितले रक्सी खान छाडेर ‘बाहुन’ हुनुपर्‍यो? अनि, रक्सी खाने ‘बाहुन’लाई के बनाउने? हामी सबै यहाँ समन्याय, सहअस्तित्व, सद्‍भाव स्वीकार्ने मान्छे बन्ने हो। बाहुन बनेर कुनै दलितले न्याय पाउने वा उसको मुक्ति हुने होइन।
 
चलचित्रका पात्र बाबुराम र नारायणीले सहमतिमा नैतिकता र कानुनी पाटो ख्याल गरेर विवाह गरेका छन् भने उनीहरूलाई राज्यका नियम–कानुनले जोगाउँछन्, किन गाउँ छाडेर भाग्नुपर्‍यो ? खैर, बाबुरामले गाउँ छाडेर भागेको घटना नयाँ कानुन, संविधान आउनुभन्दा अघिको हो, त्यसैले विद्रोहको आवाज बेग्लै हुनुपर्थ्यो। तर, चलचित्रमा कुनै विद्रोहको स्वर, नयाँ चेतनाको आभास नदेखाई दलितलाई निरीह मात्रै देखाइएको छ। चलचित्रको सन्देशबारे प्रश्न उठ्छ– के दलित र महिलाले अन्याय र अत्याचारले निम्त्याएको जस्तोसुकै परिस्थिति स्वीकारेर बस्ने? 
 



चलचित्र 'प्रसाद'को सन्देश के? दलित र महिलाले जस्तोसुकै परिस्थिति स्वीकारेर बस्नुपर्ने? को लागी ७ प्रतिक्रिया(हरु)

Prdp [ 2019-01-12 15:27:35 ]
Agreed with Dhrubasatya's analysis. Well analyzed.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


सुमन [ 2018-12-19 10:51:36 ]
यो जस्तो वाहियात समिक्षा केही देखिएन ।समाजमा घटेका र घट्न सक्ने घटना लाई आधार बनाइएको चलचित्र हो यो।दलित भएकै कारण आफ्नै साथिबाट कसरी हेपिन्छ ??त्यो देखाउनु कसरी गलत?? अरुलाइ मार्न भनेर लापरबाही तरिकाले बाइक चलाउदै हिडेको ब्यक्ती ट्रक ले किचेर मर्छ त्यो असम्भव छ र? त्यहाँ त्यो ट्रक लाई भगवान या राक्षस मान्नु पर्ने कुनै कारण छ ?
मसला फिल्म मा जस्तो हिरोले नै भिलेन लाई कुट्नै पर्ने अथवा दलित भएको कारण बबुराम परियार लाई जिताउनु पर्ने??? समाज मा अहिले पनि गरिब ले धनी संग कानुनी लडाइ लड्न सक्दैन त्यसमाथी उनिहरुलाइ बच्चा चाहिएको पनि छ... अनि त्यो स्वभाबिक अवस्था लाई चलचित्रमा देखाउदा दलित माथी को पुर्वाग्रह कसरी हुन सक्छ???
समग्र चलचित्र हेर्दा दर्शक ले बाबुराम परियारलाइ सहानुभुती अनि समाजको भेदभाबपुर्ण वर्ण ब्याबस्थालाइ धिक्कारी रहेका हुन्छन चलचित्रको मर्म अनि सफलता नै यहि हो।
यतिहुदा हुँदै पनि हुदो न खादो को बखेडा झिकेर यो विश्लेषण गर्ने बिद्वान पनि पुर्वाग्रही र बिछिप्त देखिन्छन।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Manoj [ 2018-12-19 09:34:07 ]
फुर्सदमा प्रसाद हेर्ने सोचमा थिए
अव सोच परिवर्तन भयो
लेखमा उठाएका केहि कुराले साह्रो मन छोयो
हो, दलित, महिला, आदिवासी वा मधेशी भएर विभेद खेप्नु उनिहरुको दोष छ न त गैर दलित, महिला...
तथापी, यस विभेदलाई प्रसय दिने चाँहि जो कोहि दोषी नै छ
हो, गैर दलित महिलालाई दलितसँग विहे गर्न समस्या छैन, तर दलित महिलालाई गैर दलित पुरुषको जात, कुल, पुजा, देउताले गर्दा धेरै समस्या छ
हो दलितलाई कहिलै बाहुन हुनु छैन, दलितलाई सम्मान पूर्वक दलित भएर बाँच्नु छ ।
मलाई चलचित्र भन्दा लेखमा उठाएका विषय वस्तु मन पर्यो । सायद चलचित्रकर्मिले यस तर्फ पक्कै ध्यान पुर्याउँछन् । नयाँ बन्ने चलचित्रमा समुदायलाई ठेस पुग्ने विषय समेटिने छैन ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sunny Singh chisir [ 2018-12-19 09:26:37 ]
Very interesting movie parsad

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Chirag thapa [ 2018-12-18 20:26:57 ]
From which site we can watch this movie online?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sabita khanal [ 2018-12-18 19:02:48 ]
Societyko pratinidhi banne kasaile pani jaat, linga, barga, rangalai leeyera bived ra galat tipanni gareko civilized society hoina.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


madab [ 2018-12-18 12:02:23 ]
film ma 1/1 sin ma galti bhetaune le aafno aafno aksher ajai ekpatak padne ki,
maile sabda sabda ma galti bhetauchhu, tara bahas garnu chhaina, lekh ramro chha

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट