PahiloPost

Aug 21, 2019 | ४ भदौ २०७६


घाटमा शव जलाउन नपाउँदा नेवार बस्तीमा 'भूकम्प', नारा उठ्यो : 'जिगु नं हि क्वा: !'


सहयोग रञ्जित

घाटमा शव जलाउन नपाउँदा नेवार बस्तीमा 'भूकम्प', नारा उठ्यो : 'जिगु नं हि क्वा: !'

मंसिर २३ गते आइतवार। 

काठमाडौंको चा:वही: (चावहिल) की ४९ वर्षया भीममाया डंगोलको मृत्यु भयो। 

चा:वही: का डंगोल समुदायका गुठियारहरुले भीममायाको शवलाई अन्तिम संस्कारका लागि ओम अस्पताल पछाडि रहेको पिंग द्य: (गंगाहिटी) मा लैजाने तयारी गरे। त्यस स्थानमा रहेको दिपमा चा:बहीका डंगोलहरुले वर्षौंदेखि आफ्नो समुदायका दिवंगतहरुको दाहसंस्कार गर्दै आएका छन्। नेवारी बोलिचालीमा 'घाट' लाई  'दिप' भनिन्छ।  

आइतबार बिहान करिब ११ बजे, भीममायाको शव पिंग द्य: स्थित दिपमा ल्याइपुर्याइँदा त्यहाँको वातावरण एकाएक अशान्त हुन पुग्यो। 

दिप रहेको स्थानका वरिपरि बस्दै आएका स्थानीयले भीममायाको शवलाई घाटमा राख्न दिएनन्। उनीहरुले चारैतिर मानववस्ती भएको कारण बस्तीको बीचमा शव जलाउनु हानिकारक हुने तर्क गरे। दाह संस्कार नै गर्न नदिने भन्दै विरोध भयो। 

तर, डंगोल समुदायले उनीहरुको कुरा मानेनन्। पुर्खादेखि चलिआएको परम्परा अनुसार उनीहरुले जहाँ शव पुर्‍याएका थिए त्यहाँ नै दाह संस्कार हुँदै आएको थियो। र, उनीहरु त्यसबाट पछि हट्न चाहेनन्। 

चा:वही स्थित पिंग द्य:मा रहेको डंगोलहरुको दिपमा दाहसंस्कारका क्रममा सुरक्षा दिदै प्रहरी, फोटो: सचिन शाक्य


मृत्युको पीडा एकातिर हुँदा आफन्तहरु भने शव जलाउने ठाउँमा उठेको समस्याले बेचैन देखिन्थे त्यहाँ। परम्परागत रुपमा शव जलाउने ठाउँमा पुगेकाहरु र स्थानीयबीचको बहसले अवस्था प्रतिकूल हुँदै गयो। केही स्थानीयले त दिप प्रवेश गर्ने बाटैमा गाडी तेर्साइदिए। 

दुई समूहबीच झडपको स्थिति बन्यो। गौशालाबाट प्रहरीको टोली आयो, अवस्था नियन्त्रण गर्ने भन्दै। तर, दुवै पक्ष आफ्नो अडानबाट पछि हटेनन्। त्यसपछि त बौद्ध वृत्तबाट समेत प्रहरी बोलाउनु पर्ने अवस्था आयो।दिपको विषयमा वडा कार्यालय र प्रहरीको रोहोबरमा यस पटक शव जलाउन दिने र केही दिनमा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यकहाँ गएर यसको छिनोफानो गर्ने सहमति भयो।

कसैको मृत्यु भएपछि उसको दाहसंस्कारका लागि चिता तयार पार्नुभन्दा अघि शव अलपत्रै छाडेर प्रहरीको घेरामा दाहसंस्कारका लागि सहमति पत्र बन्यो र हस्ताक्षर  पनि भयो।  

***
 २०७४ साल माघ २ गते

डंगोलहरुको घाट रहेको स्थानभन्दा पूर्वपट्टि ओम अस्पतलको पर्खाल छेउमै रहेको चा:वही: का शाक्यको शव जलाउने ठाउँ छ, बीच सडकमा। 

गुठियारहरु कान्छी शाक्यको शवयात्रा सहित त्यही ठाउँमा पुगे। त्यहाँका स्थानीयले त्यो बेला पनि विरोध गरे। तर, अवस्था पिंग द्य:को जस्तो धेरै गम्भीर थिएन। आपसी सहमतिमा यो विषयलाई टुंग्याउन सबै तयार भए। 


शाक्यहरुको शव जलाउने दिप रहेको स्थान

जुन ठाउँमा विवाद भयो, दुवै दिप नै थियो। दिप भएको ठाउँमा आवास बसाइएको थिएन। स्थानीयका अनुसार हाल शाक्य र डंगोलहरुको घाट रहेको धोबीखोला छेउमात्रै ७ वटा दिप थिए। डंगोल र शाक्य बाहेक श्रेष्ठ, कपाली लगायतका नेवारहरुको छुटाछुट्टै दिप थियो। काठमाडौंमा अव्यवस्थित शहरीकरणसँगै दिपहरु विस्थापित भए। डराएर कोही पनि नबस्ने घाट छेउको जमीन आवसीय क्षेत्र बन्न थाल्यो। दिप रहेको पिंग:द्य परिसरमा हाल दुईवटा घाट बाँकी छ। मानिसको मृत शरीरलाई पञ्चतत्वमा बिलिन गराउने घाट आज आफै बस्ती बिस्तारले बिलिनको संघारमा छ। 

***

आइतवार विहान भएको घटनाका तस्विर र भिडियोहरु सामाजिक संजालमा एकाएक भाइरल भयो। नेवार समुदायमा एक किसिमको 'भूकम्प' नै आयो। यस विषयमा उनीहरु 'आक्रमक' नै देखिए। परम्परादेखि चलाउँदै आएको रिति रोक्ने कामलाई 'सांस्कृतिक अतिक्रमण' भन्ने जमात तयार भयो।

काठमाडौं उपत्यका एवम् देश विदेशमा रहेका नेवारहरबीच अतिक्रमणको यो विषयले 'नेवारी सभ्यता' नै समाप्त हुने भन्दै ठूलै बहस भयो। फलस्वरुप फेसबुकबाट दिपको संरक्षण गर्न समर्थन बढ्दै गयो। रैथाने नेवार समुदायले फेसबुकमार्फत् दिपमा नै गएर विरोध सभा गर्ने आह्वान गर्‍यो। सुरक्षाका कारण दिपमा नभइ बुधवार चारुमति स्तूप (धन्दो चैत्य) मा दिप संरक्षणमा एकबद्धता जनाउन करिब ३०० जना जम्मा भए। धेरै जसो चा:बही क्षेत्र बाहिरका नेवारहरुको उपस्थिति थियो त्यहाँ। 

सबैको एउटै तर्क – घाट देख्दा देख्दै घर बनाउने अनि अहिले आएर प्रदुषण भयो भन्ने कुरा न्यायोचित भएन। एकवद्धता कार्यक्रममा पाटन, खोकना, भक्तपुर, असन, लगन, वसन्तपुर, हरिसिद्धि लगायत स्थानका नेवार अगुवाहरुको उपस्थिति रह्यो।
 
कार्यक्रममा चावहिलको यो घटनाका कारण अरु स्थानमा रहेका दिपहरुको अस्तित्व र त्यस क्षेत्रमा देखापरेका यस्ता समस्याबारे छलफल भयो। भेलाको निष्कर्ष –चलिआएको दाहसंस्कारको परम्परालाई यथावत् त्यही स्थानमा संचालन गर्ने। कुनै पनि दबाबका आधार संस्कृति माथि अतिक्रमण हुने सम्झौता नगर्ने। नेपाल मण्डल (काठमाडौं उपत्यका) मा रहेका ऐतिहासिक सम्पदाको संरक्षण र सुरक्षाका लागि परे आन्दोलन गर्ने। 

कार्यक्रमपछि भेला भएका अगुवाहरु पिंग द्य:मा रहेको दिपमा मौन र्‍यालीमा सहभागी भएका थिए। कार्यक्रममा 'जिगु नं हि क्वा:' (मेरो रगत पनि तातै छ) भन्ने नेवार युवाहरुलाई घटनास्थलमा संयमित गराउनु आयोजकका लागि चुनौती बनेको देखियो। तर, र्‍याली शान्तिपूर्वक सम्पन्न भयो।  

कहाँ कहाँ छ यस्तो समस्या ?  
४५ वर्षे महेशराज खड्गी केही साथी सहित बुधवार चारुमति स्तूप पुगे। फेसबुकबाट घटनाका बारेमा थाहा पाउने बित्तिकै उनले २० वर्ष अघिको यस्तै घटना सम्झे।

'बीस वर्षअघि मैतिदेवी मन्दिर पछाडि रहेको दिपमा पनि यस्तै समस्या आयो। त्यो समयमा खड्गी, मुनिकार, कपाली, श्रेष्ठ, माली लगायतका दिप थिए। दिप पछाडि रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीमा डर उत्पन्न भएको र दिप क्षेत्रमा घर बनाइ बस्न आएकाहरुले दाहसंस्कारबाट प्रदुषण र स्वास्थ्यमा असर परेको भन्दै दिप हटाउनु पर्ने माग गरे। तर, हामीले दिएनौं,' उनले भने।

दिप हटाउने विषयले त्यो बेला मैतिदेवी क्षेत्रमा ठूलो विद्रोह मच्चियो। 'सांस्कृतिक अतिक्रमण'को खतरा देखेर पञ्चकुमारी सेवा खल: का गुठियारहरु एकजुट भए र दिप वरिपरि ट्रस्ट बनाए। पछि वातावरण मन्त्रालय, संस्कृति मन्त्रालयका अधिकारीहरुसँग दिपलाई संरक्षण गर्ने र वर्षौंदेखि चलिआएको परम्परालाई निरन्तरता दिने सहमति भएको खड्गीले जानकारी दिए। त्यसयता त्यहाँ कसैले विरोध नगरेको उनको भनाइ छ।

मैतिदेवी मन्दिरमा रहेको दिप

यस्तै, काठमाडौंको टेकुमा रंजितहरुको दाहसंस्कार गर्ने छुटै दिप छ। तर, केही समयअघि काठमाडौं महानगरपालिकाले दिपलाई नै हटाएर खोलामा सार्ने र पार्क निर्माण गर्ने योजना अघि ल्याएको चिंकमुगलका राम रंजितले बताए। तर, शाक्य, मानन्धरहरुको समेत चिहान रहेको सो स्थानमा त्यसको विरोध गर्दै पार्क निर्माण गर्न नदिएको उनी बताउँछन्। 

चावहिलमा भएको घटनाले नेवार समुदायलाई आफूमा रहेको कमीकमजोरी पत्ता लगाउने अवसर दिएको भन्दै रामले हाल घर बनेकाले दिप हटाउनुपर्ने कुरा मान्य नहुने बताए। 'घाट देख्दादेख्दै घर बनाउने। अहिले धुँवा आयो, बच्चाले देख्यो भन्ने कुरा गरेर दिपलाई नै हटाउँ भन्नु त जंगलको छेउमा गएर घर बनाएकाले बाघ, भालु आयो भनेर जंगल नै सार्नु पर्छ भनेको जस्तै भयो,' उनले भने। 

चावहिलको घटनाले काठमाडौं उपत्यकामा रहेका अरु दिपहरुको संरक्षणका लागि समेत आवाज उठ्न थालेको छ। गौशालाको पिंगलास्थान, बालकुमारी, कंकेश्वरी, शोभा भगवती लगायतका स्थानमा रहेको दिप क्षेत्रमा पनि बेलाबखत यस्तो समस्या आउने गरेको छ। 



के भन्छन् स्थानीय ?
दिप वरीपरी बस्ने स्थानीय भने त्यहाँ 'शव मात्रै नजलाउन' आग्रह गरेको बताउँछन्। बस्तीमा घरहरू बढ्दै गएको कारण परम्पराको नाममा बस्तीको बीचमा दाह संस्कार गर्ने संस्कारको विकल्प खोज्नु पर्ने उनीहरुको तर्क छ।

एक वर्ष अघिदेखि दिप नजिकै घर किनेर बस्दै आएका मिलन जोशी भन्छन्, 'यो धेरै पहिलादेखिको समस्या हो। दायाँबायाँ घर भएपछि उहाँहरुले पनि बुझ्नुपर्ने कुरा हो यो।' 


चा:वहिका डंगोलहरुको दिप

दिप देख्दादेख्दै घर किन्ने र अहिले आएर अन्तिम संस्कार रोक्न मिल्छ भन्ने प्रश्नमा मिलन भन्छन्, 'उहाँहरुले जग्गा बेचेर जानुभयो। हामीले घर बनायौं, किन्यौं। समाजमा धेरै परिवर्तन आइसक्यो। उहाँहरुले पनि त्यो परिवर्तन स्वीकार गरे राम्रो हुन्छ। मानिस भएर मानिसको भावना बुझ्नु पर्‍यो।'

मिलनका अनुसार हाल त्यस क्षेत्रमा बस्दै आएका मानिसहरुले शाक्य र डंगोलहरुलाई पशुपति क्षेत्रमा छुट्टै दाहसंस्कार गर्ने स्थान बनाउन आग्रह गरिदिने, आफूहरुकै खर्चमा दिपको संरक्षण गरिदिने वाचा गरेको बताए। 

आफूहरुले दिपमा शव नजलाउन मात्र भन्दा 'आप्रवासी' को उपमा पाएकोमा उनले दु:ख व्यक्त गरे। यस्तै वडा अध्यक्ष नेवार समुदायबाटै भएका कारण हाल त्यस क्षेत्रमा बस्दै आएकाहरु प्रति विभेद गरेको आरोप पनि उनले लगाए। वडा अध्यक्ष 'समुदाय विशेषको नभइ सबैको हुनुपर्ने' उनको तर्क थियो।

यता, काठमाडौं वडा नम्बर ७ का अध्यक्ष शुद्ध कुमार डंगोलले स्थानीय तहलाई आफू मातहत रहेको घाट, चिहान, मठ मन्दिर, पाटीपौवा संरक्षण गर्ने अधिकार रहेको बताए। वातावरणको बहानामा चलिआएको परम्परालाई अवरोध गर्न नपाउने उनको तर्क छ। यो विषयले नेवार समुदायमा धेरै चर्चा भएको भन्दै यसलाई जटिल बनाउन खोजे सांस्कृतिक द्वन्द्व हुनसक्ने अवस्था रहेको उनको दावी छ। 

स्थानीयले नेवार भएकै कारण हाल त्यस क्षेत्रमा बस्दै आएकाहरु प्रति विभेद गरेको आरोप उनले खण्डन गरे। भने, 'संविधानमा लेखे अनुसार गरेको हुँ। दिपको संरक्षण गर्ने दायित्व हाम्रो हो। मेयरसँग पनि त्यही कुरा भएको छ। बरु अब दिप हटाउने होइन, त्यसलाई व्यवस्थित बनाउने तर्फ हाम्रो ध्यान जानुपर्छ।' 


नेवार समुदायमा दिपको महत्व
'नेवारहरुको समाज मृत्युको समाज हो।'- जिरार्ड तोफ्याँ

योगेश राजद्वारा लखित 'हिन्दू नेवारहरुको मृत्यु चेतना' किताबको भूमिकाको पहिलो लाइन हो यो।

वास्तवमा नेवारहरुले जीवनभर मनाउने विभिन्न संस्कारहरु मध्ये मृत्यु संस्कार महत्वपूर्ण र विशेष हुन्छ। नेवारहरुको मृत्यु संस्कारबारे अध्ययन गरेका योगेशले घाटका बारे यसो लेखेका छन् -

'मृतकको दाहसंस्कार गरिने मसानका अधिष्ठाता भैरव हुन्। मसानवासी, लासको खरानी जीउभरी दलेर जाँड, भाङ र धतुरो खाइ लडीबुडी खेल्ने महादेव हिन्दू नेवार संस्कृतिमा अझै डरलाग्दो मसान भैरव बनेका छन्।' 

जीवनका अन्य संस्कारमा झै मृत्यु कर्ममा नेवारहरुले शिवतत्वलाई विशिष्ट तवरले समाहित गरेको योगेश लेख्छन्। 


बालकुमारी क्षेत्रमा रहेको दिप

योगेश जस्तै नेवारहरुको मसान दैविक शक्तिसँग जोडिएको बताउँछन् संस्कृतिविद ओम धौभडेल। नेवारको बसोबास रहेको नेपालमण्डल (काठमाडौं उपत्यका) को चारै तिर यस्ता दिपहरु बन्ने प्रक्रिया हजारौं वर्षअघि यहाँ शहरको निर्माण हुँदैदेखि भएको बताउँछन् उनी। 

नेवार समुदायले अस्टमात्रिकालाई 'अजिमा' अर्थात 'बज्यै'का रुपमा पुज्ने गर्छन्। अस्टमात्रिका स्थापना गरेको स्थानमा नेवारहरुको दिप हुन्छ। 
धौभडेल भन्छन्, 'नेवारहरु अस्टमात्रिका देवीका सन्तान हुन्। मान्छे मरेपछि उहाँहरुकै शरणमा गएर हामीले हाम्रो मृत शरीरलाई बिलिन गराउने चलन परापूर्व कालदेखि चलिआएको हो। पञ्चतत्वले बनेको शरीरलाई पञ्चतत्वमै मिसिनुपर्छ भन्ने मान्यत सहित हाम्रा पुर्खाहरुले दिपको विकास गरेका हुन्।'

नेपाल मण्डलको संरचनासँग दिपको सम्बन्ध रहेको बताउँछन् धौभडेल। उपत्यकाको स्थापना गर्दा चारैतिर अस्टमात्रिका र शिवलिङ्ग निर्माण गरिएको थियो। खोला भित्रको शहरलाई सांस्कृतिक रुपमा बलियो बनाउन देवी देवताहरुको स्थापना गरियो। कान्तिपुरलाई खण्डकार, पाटनलाई चक्रकार र भक्तपुरलाई त्रियन्त्रकार आकारमा निर्माण गरियो। 

ओम भन्छन्, 'नेवारहरुले गर्ने संस्कारहरुमध्ये मृत्यु संस्कारमा उनीहरु कट्टर छन्। यद्यपि, समयसँगै उनीहरुले आफूलाई परिमार्जन गर्दै लगेका छन्। तर, चलिआएको संस्कारलाई रोक्नु भएन।'

***

नेवार समुदायमा व्यक्तिको मृत्युपछि उसको दाहसंस्कार गर्ने रिति अरुको भन्दा फरक छ। लिच्छवीकालदेखि नेवार समुदायभित्र 'सी गुठी' संचालन हुँदै आएको छ। नेवारभित्रका पनि अनेक जातिहरुको आ-आफ्नै 'सी गुठी' हुन्छ। गुठीमा रहने मानिसबीच कामको वर्गीकरण गरिएको हुन्छ। कसैलाई काठको व्यवस्था गर्ने काम हुन्छ तर कसैलाई शव जलाउने आदि।
 
शहरीकरणका कारण अहिलेका घाट शहर भित्र घुसेको छ। त्यसो भन्दैमा त्यसलाई हटाउने कुरा न्यायोचित नरहेको धौभडेलको तर्क छ। 'पहिला घाटहरु शहर बाहिर थिए। अहिले शहरीकरण बढ्यो। शहर बाहिर रहेका घाट घरहरुले घेरिन थाले। हजारौं वर्ष अघि बनेका घाटसँग नेवारहरुले गहिरो सम्बन्ध छ। ती सभ्यतामाथि आक्रमणहुँदा चुप लागेर बस्ने कुरा हुँदैन,' उनले भने।

ओमका अनुसार यमराज र राजाले रोक्न नसकेको दाहसंस्कार जस्तो पवित्र काम रोक्ने काम २१ औं शताब्दीकै दुखद् घटना हो।

घाटको वरिपरि नेवारहरुले कहिल्यै आवासीय क्षेत्र बनाएनन्। त्यसलाई खेतीका लागि प्रयोग गरे। तर, समयक्रमसँगै जमिन किनबेच हुनथालेपछि घाटतिर पनि घर बन्न सुरु भए। 


बालकुमारी मन्दिर अघि रहेको खड्गीहरुको दिप

शहरीकरणको प्रभाव : भू-उपयोगको आवश्यकता 
शहरी विकासमा लामो समय सक्रिय रहेका इन्जिनियर किशोर थापा काठमाडौं उपत्यकाको सभ्यता ३ हजार वर्षभन्दा पुरानो रहेको बताउँछन्। यहाँका मसान घाटहरु पनि हचुवाको भरमा नभइ उचित स्थान छानेर बनाइएको उनको बुझाइ छ। 

चावहिलमा भएको घटना शहरीकरणको उपज भएको थापा बताउँछन्। भन्छन्, 'काठमाडौंमा शहरीकरण भएको करिब ४० वर्ष भयो। शहरीकरण बढ्दै गएको अवस्थामा त्यहाँ बसोवास गर्ने मानिसहरुले त्यहाँ रहेका मसानघाट लगायतका संरचना नदेखेका पक्कै होइनन्। मसान देख्दा देख्दै घर बनाएपछि यो समस्या त आउने नै भयो। उनीहरुले पहिला नै विचार गर्नुपर्थ्यो ।' 

मसानलाई डरलाग्दो ठाउँका रुपमा लिइने भएकाले त्यस्तो ठाउँमा बस्ती थिएन। किशोर भन्छन्,  मसान भनेको घर बनाउने स्थान होइन। हामीले बुझ्नुपर्ने कुरा यही हो। जमिन किन्यो भन्दैमा मसानमा घर बनाउने अनि अहिले कसैलाई परापूर्वकाल देखि चलिआएको परम्परालाई रोक्ने कुरा त मानवअधिकारको उल्लंघनको विषय हो।'



शहरीकरणसँगै भूमाफियाले मसानघाटको जमिन बेचेको र अतिक्रमण सुरु भएको भन्दै सरकारले यस्ता सांस्कृतिक विषयमा राजनीति नगरी समुदायको हितमा बोल्नुपर्ने उनको तर्क छ। 

घटना भएको स्थानका समुदायबीच आपसी छलफलमा नै यस विषयको हल गर्नुपर्ने उनको सुझाव छ - 
पहिलो : पिंगमा परापूर्वकालदेखि दाहसंस्कार गर्दै आएको समुदायले स्वेच्छाबाट कसैको दबाब बिना त्यहाँ दाहसंस्कार नगर्ने विषयमा सहमति गर्ने।   

दोस्रो : समुदायले त्यहीँ जलाउने भन्छ भने त्यसलाई कसैले रोक्न सक्दैन। बरु त्यस स्थानबाट आउने धुँवा लगायतको प्राविधिक व्यवस्थापन गर्ने। जस्तै : लास नदेखिने गरी पर्खाल लगाउने, विद्युतीय शवदाह गृह निर्माण, घाट देखिने ठाउँमा झ्याल नराख्ने,लगायत।  

काठमाडौंलाई केले बनाउँछ 'अमर शहर'?
मल्लकाल, लिच्छवीकालमा नै विकसित भएको काठमाडौंलाई अरु शहरसँग तुलना गर्नु ठिक नहुने थापाको भनाइ छ। 'यो त इटर्नल सिटी (अमर शहर) हो। यहाँका सभ्यता हजारौं वर्षदेखि जीवन्त रहेको छ। यहाँका सम्पदा र संस्कार सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्छ।' 
उनका अनुसार त्यो बेला शहर निर्माण गर्ने क्रममा घाट बनाएकाले नै लास व्यवस्थापन सहज हुन पुगेको थियो। नत्र पशुपतिमात्रैले अहिलेसम्म दाहसंस्कार धान्न सम्भव नभएको उनी बताउँछन्।  

'सरकारले सोच्नुपर्ने कुरा हो यो। स्थानीय सरकारको कुरा हो। मान्छे बढ्दै गएपछि घाट पनि बढ्नु पर्योर नि,' उनले भने। 

अहिलेको विवादपछि काठमाडौं महानगरपालिकाले नगरमा रहेका मसानहरुको संख्या र अवस्थाका बारे अनुसन्धान गर्ने योजना बनाएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। चावहिलको घाटका बारेमा महानगरमा छलफल भइरहेको तर चलिआएको परम्परालाई रोक्ने अवस्था नरहेको उनले बताए। 

ईश्वरमानका अनुसार महानगरमा रहेका घाटहरुलाई वातावरणमैत्री बनाउने प्रयास सुरु भइसकेको छ। शोभा भगवतीमा रहेको कर्ण दिपमा कम दाउरा प्रयोग गर्ने र कम धुँवा फाल्ने प्रविधि स्थापना गरिएको छ। यस्तै बाँकी अन्य घाटहरुमा पनि यस्तै प्रविधिको विकास गर्न महानगरले काम सुरु गरेको उनले बताए। 


संजय अधिकारीका अनुसार मानवको सम्मानपूर्वक बाँच्न पाउने अधिकार जस्तै मृत्युपछि आफ्नो चलन अनुसार दाहसंस्कारको सुनिश्चितता हुन्छ। मृत्युपछि शव जलाउन रोकिनु कुनै जाति विशेष माथिमात्रै भएको अन्याय नभइ सबै नेपालीहरुको मानवअधिकारमाथि प्रश्न खडा गरेको बताए। 

घाटका विषयमा सर्वोच्च अदालतका केही स्थापित नजिर : 

  • २०५६ सालमा वुद्धनगरदेखि प्रसुतीगृह छेउको पान्चायन घाटसम्म सडक बनाउन दिँदा बागमती नदी, मठ, मन्दिर, घाटको बीचमा रहेको अन्योन्याश्रित सम्वन्ध खत्तम हुने र तिनीहरुको अस्तित्वमा समेत असर पर्ने र राज्यको संस्कृतिको मूल्य र मान्यतामा समेत नकारात्मक असर पर्ने फैसला गरेको थियो। सर्वोच्चले प्रसुति गृहको नाममा सार्वजनिक घाट, भकारी एवं नदीको क्षेत्रमा प्रतिकूल असर पर्ने कुनै कार्य नगर्नु नगराउनु भनेर परमादेश दिएको थियो।

 

  • यस्तै २०५६ मा अर्को एक मुद्दामा पवित्र धार्मिक, पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरु रहेको नदी क्षेत्रको जग्गालाई अतिक्रमण गरी उद्यान निर्माण गर्ने निर्णयबाट त्यस क्षेत्रको संरक्षण नभई अवमूल्यन हुने प्रष्ट छ भन्दै हिन्दुहरुको पवित्र वागमती नदी र यसको किनारामा भएका रहेका भकारी, सीढी, घाट, मठ, मन्दिर, एवं सत्तलको अस्तित्व नै नष्ट पारिन लागेबाट हामीहरुको धर्म सम्वन्धी हक एवं संस्कृति माथि अतिक्रमण भएको छ भनेर सर्वोच्चले उल्लेख गरेको थियो। 


***
मृत्यु सत्य हो। यसलाई सबैले स्वीकार्नुपर्छ। चावहिलकी  भीममायाको मृत्युले शहरीकरण र सांस्कृतिक सभ्यतामाथि पुर्नविचार गर्न बाध्य तुल्याएको छ। यो घटनाले सुरु गरेको नयाँ बहसले शहरीकरणलाई व्यवस्थित गर्दै यहाँको सभ्यताहरुको संरक्षण गर्नुपर्ने तर्फ सचेत गराएको छ।



घाटमा शव जलाउन नपाउँदा नेवार बस्तीमा 'भूकम्प', नारा उठ्यो : 'जिगु नं हि क्वा: !' को लागी ५ प्रतिक्रिया(हरु)

Surendra Maharjan [ 2018-12-17 06:35:42 ]
एक दिन सबैलाई मर्नु छ धर्ती छोडेर जानू नै छ तर बुझ्दैनन मान्छेहरू । यो घटना दुखद हो घाटमा मुर्दा जलाउन नदिने टोल अनि बस्तीले प्राय: अहिले दिनहुँ दु:ख खेप्नु परेको समाचारले दुखित बनायो । मुर्दा जलाउने ठाउँमा बस्ती बढेपछि । यस्तो नमूना यहाँ मात्र हैन शहर कै प्रसिद्ध मन्दिरमा पनि घाट छ । मुर्दा जलाउन नपाइने तर मौन छ सरकार ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


प्रकाशामान शिल्पकार [ 2018-12-16 15:49:55 ]
- 😎 सन्दर्भ-😎
पिगं चिहानमा लास जलाउदा स्थानिय आप्रवासिलाई
आपति
पशुपतिको आर्यघाट र भष्मासुर घाटमा दैनिक असंख्यमा लास जलिन्दा वातावरण प्रदुषण भै पशुपतिका बाँदर( हनुमान)हरुलाई नरधुमबाट समस्या भएकाले अायिन्दा त्यस आर्यघाट र भष्मासुर घाटमा लास जलाउनुको सट्टा पवित्र काशिमा लगेर लास जलाउन लानु पर्छ आजको आधुिनक युगमा पनि सनातन परम्पराका नाममा पशुपति क्षेत्रको कुनै घाटमा लास जलाउन पाउदैन भन्दै धर्मनिरपेक्षे लोकतान्त्रिक अधिकार प्रयोग तथा पाखुरावाका गुन्दाहरु समेत प्रयोग गर्दै लास जलाउन अबरोध गर्दै बुलन्द आावाज गर्दै आण्डोलित हुने भएका छन् ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


SanjayM [ 2018-12-16 10:32:44 ]
RS jee ko kura Sahi Ho.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Mega [ 2018-12-16 00:04:24 ]
Tya ghat can banner tha huda Judaism Ghar kinne ani arko ghar ni lad jalaune thau ma kinne kina vane ghar sasto ma pauo jabba samma Ali para basyo problem nahhune Milan ji lai aba Ghar mahango ma bechna las jalauna didina vanne what a strategy

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


RS [ 2018-12-15 20:02:51 ]
मिलनज्यू घाट देख्दा देख्दै जग्गा किन्नु भयो घर वनाउनु भयो । लोभले वनाउनु भयो कि पापले वनाउनु भयो त्यो थाहा भएन । तपाईको सुविधाको लागी आफ्नो पहिचान, संस्कृति र परम्परा सारा समाजले छोडनु पर्ने किन हो ??? मानिस भएर मानिसको भावना वुझ्नु पर्छ शहि कुरा हो । यो त तपाईले पनि वुझ्नु पर्ने हो ? अरुको घाट छेउ आफु खुशी घर वनाउने अनि तपाईको भावना समाजले वुझ्नु पर्ने ? समाज परिवर्तन हुनुपर्छ सकारात्मकको लागी । घाट छेउ घर नबनाउने सकारातम्क समाजिक परम्पराको परिवर्तन तपाई जस्ताले गर्दाखेरी अाज देशको पहिचान र परिस्थिति कहा पुग्यो ? भर्खरै समप्न्न एसिया प्यासेफिक सम्मेलनले संकेत गर्छ । अरुको परम्परा र संस्कृतिलाई पशुतपति छेउ सार भनेर अर्ति उपदेश दिएर तनाव सिर्जना गर्नु भन्दा आफ्नो घरको झ्याल, ढोका को मोहडा परिवर्तन गर्ने, कोठामा ए सी लगाउने जस्ता अन्य प्रविधी अपनाई कहिले काहि हुने दाह संस्कारको नकारात्मक असरवाट मुक्त हुने कि ? वनाउने नहुने ठाउमा घर वनाई गल्ती गरी सके पछी समाजिक तनाव सिर्जना गर्नु भन्दा आफू थप जिम्मेवार भई आफुलाई परेको समस्या आफै समाधान गर्ने कि????

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट