PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आर्मीलाई हराएपछि मनाङ उपाधि जित्नेमा ७५ प्रतिशत कन्फिडेन्ट, उपाधि होडबाट टाढियो आर्मी



गोविन्दराज नेपाल

आर्मीलाई हराएपछि मनाङ उपाधि जित्नेमा ७५ प्रतिशत कन्फिडेन्ट, उपाधि होडबाट टाढियो आर्मी

काठमाडौँ : 'हामी अब उपाधि जित्नेमा ७५औँ प्रतिशत कन्फिडेन्ट छौँ।' सहिद स्मारक ए डिभिजन लिगमा आर्मीलाई शुक्रवार १-० ले पराजित गरेपछि सञ्चारकर्मीको जिज्ञासामा मनाङका प्रशिक्षक सुमन श्रेष्ठको भनाई हो यो।

यस सिजन लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको मनाङले आर्मीको अपराजित यात्रा टुङ्याउँदै लगातार ८ खेल जितेको हो। मनाङ लिगमा शतप्रतिशत नतिजा निकाल्ने र अपराजित रहने अब एक्लो टिम बनेको छ।

एन्फा कम्प्लेक्समा भएको खेलमा ३१औँ मिनेटमा विशाल राईले गरेको गोल नै मनाङलाई ३ आर्मी विरुद्ध ३ अंक दिलाउन निर्णायक बन्यो।

मनाङले तेस्रो चरणमै चिरपरिचित प्रतिद्वन्दी थ्री स्टारलाई पराजित गरेको थियो। मनाङले यस सिजन पाँचौँ क्लिनसिट राखेको हो। मनाङले ब्रिगेड ब्वाइज, थ्री स्टार र एपीएफ विरुद्धको खेलमा मात्र गोल खाएको थियो। अहिलेसम्म मनाङले १४ गोल गर्दा ३ गोल मात्र खाएको छ।

आर्मी विरुद्धको खेलपछि मनाङका प्रशिक्षक सुमन श्रेष्ठले अझै केही खेल बाँकी रहेकाले अहिले नै उपाधि पक्का भयो भनेर भन्न नमिल्ने प्रतिक्रिया दिएका हुन्। 'हामी ७५ प्रतिशत पक्का छौँ तर शतप्रतिशतभन्न सकिन्न। यहाँ जतिबेला जे पनि हुन सक्छ।'

उनले यस पटक रेलिगेशनको सिस्टम नरहेको भएपनि जुनसुकै टिमले जस्तो सुकै खेल खेल्दिन सक्ने बताए। उनले यस पटक एन्फाले म्याचफिक्सिङको लागि छुट्टै व्यवस्था गरेपनि जतिबेला पनि सेटिङ हुन सक्ने बताए। 'तल रहेका क्लबहरुले पनि ठूला क्लका कुन खेलाडीलाई डबल येल्लो कार्ड बनाउन सक्छन् खेलाडीलाई इन्जुर्ड बनाउन सक्छन्। यहाँ पैसाको मात्र सेटिङ हुँदैन।'

यस्तै श्रेष्ठले मनाङको खेल हुँदा रेफ्रीले इन्जुरी टाइम बढी थपेकोमा समेत असन्तुष्टी जनाए। आर्मी विरुद्धको खेलमा पहिलो हाफमा ८ र दोस्रो हाफमा ६ मिनेटको इन्जुरी टाइम थपिएको थियो। त्यसलाई इंकित गर्दै उनले भने, 'अधिकांश खेलमा मनाङले लिड लिइरहेको बेला रेफ्रीले ६ देखि ८ मिनेट थपेको छ। यस खेलमा मात्र होइन यसअघिका खेलहरुमा पनि त्यसै भएको थियो। हाम्रो खेलमा मात्र किन यस्तो हुन्छु? म त यो देखेर सरप्राइज्ड भइरहेको छु।'

मनाङले यस सिजन उपाधि दाबेदार रहेका दुई ठूला क्लब थ्री स्टार आर्मीलाई पराजित गर्दै उपाधि होड बलियो बनाएको छ। मनाङले अब नवौँ चरणमा च्यासल युथ क्लब र दशौँ चरणमा पुलिससँग खेल्न बाँकी छ। यस्तै यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको संकटासँग पनि खेल्न बाँकी छ। एन्फाले दशौँ चरणसम्मको मात्र खेल तालिका सार्वजनिक गरेको छ भने ११औँ देखि १३औँ चरणसम्मको खेल तालिका सार्वजनिक गर्न बाँकी छ।

उता आर्मीका प्रशिक्षक तथा मनाङकै पूर्व खेलाडी समेत रहेका नवीन न्यौपानेले मनाङको उपाधि होड यही तीन क्लबसँगको खेलमा निर्धारण हुने बताए।

सिजनको पहिलो हारपछि उनले आर्मी उपाधि होडबाट टाढिएको समेत बताए। 'अब आर्मीको उपाधि होड अरु टिमको खेलमा निर्भर हुन्छ। हामी अहिले मनाङ भन्दा ७ अंकले पछि परिसकेका छौँ। अब हामीले मनाङलाई भेट्टाउन मनाङले ३ खेल हार्नुपर्छ र हामीले सबै खेल जित्नुपर्छ। मनाङले ३ खेल हार्नु भनेको गाह्रो नै छ।' आर्मीका प्रशिक्षक न्यौपानेले मनाङका ४ विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेको भन्दै उनीहरु राम्रो खेलाडी रहेको बताए। 'आफिज ओलावाले र एडालेजा सोमिडेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। त्यसले पनि मनाङलाई बलियो बनाएको छ।'  

यस्तै उनले अब लिगमा बाँकी रहेको पाँच खेल नै महत्वपूर्ण रहेको बताए। 'बाँकी खेलहरु हाम्रो लागि भाइटल छन्। हाम्रो अबको लक्ष्य यी खेलमा राम्रो गर्दै टप थ्री हो।'

लिगको उद्घाटन खेलमै एनआरटीसँग अंक बाँडेको आर्मीले फ्रेण्ड्ससँग पनि बराबरी खेलेको थियो। मनाङसँग हारेपछि आर्मीले सम्भावित २४ मध्ये ७ अंक गुमाइसकेको छ र ८ खेलबाट १७ अंकका साथ लिगमा चौथो स्थानमा छ। आर्मी समान खेल खेलेको संकटा २१ अंकसहित दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको थ्री स्टार १८ अंकसहित तेस्रो स्थानमा छ।

यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको संकटाले आर्मीसँग मात्र हारेको थियो भने पुलिस, हिमालयन शेर्पा र च्यासल युथ क्लबलाई पराजित गरिसकेको छ। अन्डर डगको रुपमा देखा परेको संकटाले अब ठूला क्लबमध्ये मनाङ र थ्री स्टारसँग खेल्न बाँकी छ। आर्मीका लागि अब थ्री स्टार संकटा पनि चुनौतीको रुपमा रहकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell