PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कसले जित्ला द भ्वाइस? कोचहरु नै भन्छन् : भोटिङका कारण छुटेका छन् राम्रा गायक



रीना मोक्तान

कसले जित्ला द भ्वाइस? कोचहरु नै भन्छन् : भोटिङका कारण छुटेका छन् राम्रा गायक

गायन रियालिटी सोका अन्तर्रराष्ट्रिय फ्रेन्चाइज 'द भ्वाइस अफ नेपाल'को कतारमा आज ग्रान्ड फिनाले हुँदैछ। चार कोचबाट माझिएका शीर्ष चार जनामध्ये एक जना बिजेता बन्नेछन्। प्रारम्भिक अडिसन यताको ७ महिनापछि देशले पहिलो 'द भ्वाइस अफ नेपाल' पाउने भएको हो। प्रतिस्पर्धीहरु आज मैदानमा अन्तिम पटक प्रतिस्पर्धामा उत्रने छन्। भोटिङका आधारमा अब कसले जित्ला त फिनाले? चर्चित गायकहरु कोच रहेको यो लोकप्रिय रियालिटी सोका बारे कोचहरु के भन्छन् त?

सबै कोचहरु आफ्नो टिमले जितोस् भन्ने चाहन्छन्। आफूले जसलाई सिकाएको हो उसले जितोस् भन्ने चाहनु स्वभाविक पनि हो। 

प्रमोदलाई फिनाले शीर्ष चारका मात्र नभइ कोचहरुबीचको प्रतिस्पर्धा भए झै लागेको छ। भन्छन्, 'शीर्ष चारको फाइनल होइन, यो त कोचहरुको पनि प्रतिस्पर्धा हो।'

प्रतिस्पर्धाको यो चरणमा आइपुग्दा हरेक कोचबाट एकजना फाइनलिस्ट छन्। जुन कोचको फाइनलिस्टले जित्छ त्यो कोचको पनि जित हुने भएकाले प्रतिस्पर्धा उनीहरुबीच पनि छ।


को होला त 'द भ्वाइस अफ नेपाल'?

प्रमोदले अनुमान लगाउन चाहेनन्। उनी फिनाले नतिजका लागि उत्साहित छन्। किनभने यहाँ जे हुन्छ भोटिङले नै हुन्छ। प्रमोदको टिममा श्रृजे थपलिया छन्। श्रृजेका विषयमा उनले भने, 'अब श्रृजेलाई दर्शकले कति भोट दिन्छन् थाहा छैन। विजेता अब भोटमै भर पर्ने कुरा हो। हामी पनि अनभिज्ञ छौं। हेरौं चार कोचहरुका ढोका खुल्ला छ को जित्छ त्यो अनुमान गर्न सकिन्न।'  

श्रृजेलाई उनले स्टिल राउण्डबाट आफ्नो टिममा लिएका हुन्। श्रृजेले सुरज तामाङ जस्ता फ्यान फलोवर्स भएका प्रतिस्पर्धीलाई पनि पछि पारेको बताउँछन् प्रमोद।

त्यस्तै उनले नेपाल र आसामबाट पनि भोट पाइरहेकी सुरेखा क्षेत्रीलाई पनि पछि पारेका थिए। दश वर्ष साधना गरेका सुशील गर्तौला जो सिजनकै लोकप्रिय थिए, उनलाई पनि पछि पारे श्रृजेले भोटिङकै कारण। यतिका धेरै फ्यान फलोवर्स भएकालाई पछि पार्ने श्रृजेको पनि फ्यान बढेको बताउँछन् प्रमोद। भन्छन्, 'अत्याधिक भोट पाइरहेकाहरुलाई पछि पारेर श्रृजेले सबैलाई चकित पारे। उसको फ्यान फलोइङ भित्र भित्रै बढेको हो कि?'

त्यसो त फाइनलिस्टमा पुग्नेहरु कोही कम छैनन्। तर आफूले कोच गरेकै कारण हुनुपर्छ प्रमोद श्रृजेप्रति अलि बढी नै आशा गर्छन्। 'उ स्टाइलिस्ट छ, झोला बोक्छ। उसको हेरस्टाइल, उसको प्रस्तुतिले नै भोटिङ बलियो बन्दै आएको छ। हेरौं दर्शकको साथ र उसको भाग्यले कत्तिको साथ दिन्छ। उसले नै द भ्वाइस अफ नेपाल जित्न सक्छ,' उनले भने।

रक विधामा प्रसंशा पाएका श्रृजेसँगै फिनालेमा प्रमोदले प्रस्तुती दिनेछन्।

अभया चाहन्छिन् :  महिलाको टिमले जितोस्

कोच अभया सुब्बा भने कुशल आचार्यले जित्नेमा आशावादी छिन्। 

'मेरो टिममा पहिला १२ जना थिए, अब जित्ने एकजनाले हो। आफ्नै टिमबाट एकजनालाई विजय बनाउनुपर्छ,' उनले भनिन् 'यदि तपाईँ सबै जनालाई प्रेम गर्नुहुहन्छ भने एकजनाले जितोस् भन्न गाह्रो हुन्छ।'

आफूले सबैसँग नजिक भएर सिकाएको बताउँदै उनले गायनलाई मुटु र आत्माका रुपमा व्याख्या गरिन्। 'अरु मान्छेको मुटु र आत्मा नचिनेसम्म गाह्रो हुन्छ सिकाउन। कत्ति जनालाई सिकाउन सजिलो भयो कत्तिलाई गाह्रो,' भ्वाइसको अनुभव सेयर गरिन् उनले, 'आवाज त सबैको छ नि होइन? गम्भीर भएँ कतिपटक त।'

कुशलले जितोस् भन्ने उनको कामना। 'म कुशलले जितोस् भन्ने चाहन्छु। उ विजेता हो। उसले सफ्ट, रफ सबै गीत गाउन सक्छ। अरु पनि राम्रै थिए मेरो टिममा। तर, भोटिङका कारण पछि परे। म महिला कोच हुँ। म चाहन्छु महिलाको टिमले जितोस्,' उनले भनिन्।

कुशलको जितप्रति बढी आशक्ति देखाएपछि हामीले सोध्यौं : कुशल हार्दा तपाईँ हारेको अनुभूति हुने हो?


'हार्ने जित्ने भन्ने कुरा सोको प्रक्रिया हो। मैले १२ जनालाई सिकाएको छु। यो मानेमा मैले जितिकसकेँ। म विजेता हुँ। म हार्दिन कहिल्यै,' अभयाले भनिन्।


सनुप भन्छन् : जसले जिते पनि खुशी

कोच सनुप सामाजिक सञ्जालमा त्यति सक्रिय छैनन्। त्यसैले हुनुपर्छ, सामाजिक सञ्जालमा उनले आफ्नो टिमका सप्तक दुतराजका लागि भोट अपिल गरेनन्। तर, अन्य कोचहरुले भने आफूले सिकाएका गायकलाई जिताउन सक्दो सेयर गरेका थिए।

शान्त स्वभावका सनुपको नजरमा को बन्ला त बिजेता?

उनी भन्छन्, 'सोका हिसाबले प्रतिस्पर्धा शीर्ष चारबीच हुन्छ। तर, यो चार कोचको पनि प्रतिस्पर्धा हो। आखिर जित्ने त उत्कृष्टले नै हो। ट्यालेन्टहरुबीच जित्नै पर्ने प्रतिस्पर्धा छ। कोचहरुबीच भने रमाइलो प्रतिस्पर्धा हो।'

सनुपलाई शीर्ष चारकै गायन मनपर्छ। उनले अब विजेता छान्ने काम दर्शकको हातमा छोडेका छन्। 'टप ४ भन्नु नै ठूलो हो। या टप १६ सम्म त हामीले गाली र ताली दिँदै आएका हौं नि। टप १६ नै खतरा नै छन् भनेर देखाको हो हामीले। यहाँबाट हामीले निर्णय गर्नु एक किसिमको अन्याय हुन्छ। अब दर्शको हातमा छ। कसलाई जिताउने,' उनले भने। 

सप्तक रक विधासँग नजिक छन्। 'सप्तकले संगीतको जनरा रकलाई धेरै प्रेम गर्छ। सायद मैले मेरो टिममा धेरै गाली गरेको छु त्यसैले उ आज यहाँ छ। उसले एकदम मेहनेत गरेको छ। उनको तीन ओटा प्रस्तुती उत्कृष्ट छन्। उसको प्यासन छ रकमा,' कोच सनुपले भने, 'अबको दिनमा नेपालबाट उसले प्रतिनिधित्व गर्न सक्छ। उनले लोकगीत त गाइहाल्छ। अन्तर्राष्ट्रिय गायनमा पनि भाग लिन सक्छ।' 


दीप दु:खी, कारण राम्रा गायक पछि छुट्नु  

दीप श्रेष्ठ केही चिन्तित सुनिए। उनलाई भोटिङ चित्तबुझ्दो लागेको रहेनछ। भोटिङका कारण राम्रा गायक पछि परेको भन्दै सुनाए, 'द भ्वाइसको यात्रा रमाइलो भयो। दावेदार त को हुन्छ भन्न सकिँदैन। मेरो टिमकोले जितोस् भन्ने पनि हो। भोट गर्नेले चाहिँ ध्यान पुर्‍याएर गर्दिए हुन्थ्यो। राम्रा गायक भोटका काण पछाडि छुटे।' त्यसले उनलाई दु:ख लागेको छ। 'मेरा ट्यालेन्ट पनि अन्य कोचका भन्दा भर्सटाइल नै छ,' उनले दावी गरे।

उनको टिममा सिडि विजय अधिकारी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell