PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इपीएल : सुपर ओभरमा विराटनगरले पोखरा राइनोजलाई हरायो, पोखराको लगातार तेस्रो हार



पहिलोपोस्ट

इपीएल : सुपर ओभरमा विराटनगरले पोखरा राइनोजलाई हरायो, पोखराको लगातार तेस्रो हार
photo : wicketnepal.com

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल २०१८) को पहिलो सुपर ओभर खेलमा विराटनगर वारियर्स विजयी भएको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा मंगलवार भएको खेलमा विराटनगर र पोखरा राइनोजले निर्धारित २० ओभरमा ८४ रन बनाएपछि खेलको नतिजा सुपर ओभरबाट निकालिएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पोखरा राइनोजले २० ओभरमा ७ विकेट गुमाएर ८४ रन बनाएको थियो। ८५ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा सबै विकेट गुमाएर ८४ रन मात्र बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा विराटनगरका करण केसीले उत्कृष्ट ब्याटिङ गरे। करण केसीको दुई छक्काको मद्दतमा सुपर ओभर पहिले ब्याटिङ गरेको विराटनगरले २० रन बनायो। करण केसीले दुई छक्का प्रहार गरेपछि विराटनगरले एक ओभरमा २० रन बनायो। करण र पारस खड्का सुपर ओभर ब्याटिङ गर्न आएका थिए। सुपर ओभरमा पोखराका लागि विदेशी खेलाडी पउल कघलिनले बलिङ गरेका थिए। करणले तेस्रो र चौथो बलमा छक्का प्रहार गरे। अरु चार बलमा करणले २-२ रन लिए।

जितका लागि २१ रनको लक्ष्य पछ्याएको पोखराले १३ रन मात्र बनाउन सक्यो। सुपर ओभरमा पोखराका लागि रिचर्ड लेभी र विनोद भण्डारीले ब्याटिङ गरेका थिए।

विराटनगरका रोलोफ भान डेर मर्वेको पहिलो बलमा लेभीले रन बनाउन सकेनन्। दोस्रो बलमा लेभीले एक रन मात्र बनाउन सके। त्यसपछि स्ट्राइकमा आएका विनोद भण्डारीले छक्का प्रहार गरे। चौथो बलमा भण्डारीले एक रन मात्र जोडे। पाँचौ बलमा लेभीले एक रन बनाए भने छैटौँ बलमा भण्डारीले चौका प्रहार गरे।

उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्सलाई पराजित गरेको साविक विजेता विराटनगरले दुई जितबाट अपराजित रहँदै ४ अंक जोडेको छ। तीन खेल खेलिसकेको ललितपुरले पनि दुई खेल जित्दै ४ अंक नै जोडेको छ।

उता लगातार तेस्रो हारपछि पोखराको शीर्ष चारमा रहदै क्वालिफायर पुग्ने सम्भावना कठिन बनेको छ। विदेशी खेलाडीको भर परेको पोखराले यसअघिका दुई खेलमा रिचर्ड लेभी र कायल कोत्जरको उत्कृष्ट ब्याटिङ मद्दतमा उच्च स्कोर बनाएपनि पराजित भएको थियो। भैरहवा विरुद्ध इपीएलकै उच्च स्कोर २१५ रन बनाएको पोखराले डिफेण्ड गर्न सकेन।

लगातार तेस्रो हारपछि पोखराका विदेशी कप्तान कायल कोत्जरले अब बाँकी दुई खेल जित्दै क्वालिफायरमा स्थान बनाउन प्रयास गर्ने बताए।
 

दुवै टोलीको उत्कृष्ट बलिङ

सुपर ओभरमा पुग्नुअघि दुवै टोलीले उत्कृष्ट बलिङ प्रदर्शन गरे। टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले खराब सुरुवात गर्‍यो। यसअघिका दुई खेलमा आक्रमक सुरुवात दिलाएका रिचर्ड लेभी र कप्तान केल कोत्जर चाँडै आउट भए। पहिलो ओभरको अन्तिम बलमा कोत्जरलाई रोलेफ भान डेर मर्वेल विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ गराए।

दोस्रो ओभरमा पउल भान मिकेरेनले सुबेन्दु पाण्डेलाई आउट गरे भने भान मर्वेले तेस्रो ओभरमा लेभीलाई आउट गरे। यी तीन खेलाडी सुरुको दुई ओभरमा आउट भएपछि पोखराको इनिङ्स धर्मराएको थियो। यसअघिको दुई खेल खेलेका सुनिल धमलाको स्थानमा आज सुबेन्दुलाई खेलाइएको थियो। सुनिललाई ड्रोप गरेको मुल्य पोखराले चुकायो।

त्यसपछि क्रिजमा पुगेका विनोद भण्डारीलाई बसन्त रेग्मीले आउट गरे। सुरुको चार ओभरमा चार विकेट लिएपछि विराटनगरले खेलमा पडक बनाएको थियो।

विदेशी खेलाडी पउल कघलिन र राजेश पुलामी मगरले पाँचौ विकेटका लागि ४० रनको साझेदारी गर्दै रन उकासे।

२७ बलमा २० रन बनाएका कघलिनलाई भान मिकेरेनलले आउट गरे। राजेशले ३५ बल खेल्दै १७ रन बनाए। उनलाई स्मिथ पटलले आउट गरे। सुशन भारी ८ रन बनाएर आउट भए। विक्रम सोब ५ र शक्ति गौचन ३ रनमा नटआउट रहे।

बलिङमा विराटनगरले उत्कृष्ट बलिङ गर्‍यो। भान मिकेरेनले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। भान मर्वेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। यस्तै बसन्त र स्मिथले समान १ विकेट लिए। किफायती बलिङ गरेका स्मिथले १० रन मात्र खर्चे। करण केसीले विकेट नलिएपनि ४ ओभरमा १४ रन मात्र खर्चे।

८५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले पनि ब्याटिङमा राम्रो सुरुवात गर्न सकेन। कप्तान पारस खड्का आफैँ अनिल शाहसँग ओपनिङ गर्न आएका थिए। पहिलो ओभरमै पोखराका सुशन भारीले अनिल शाहलाई शुन्यमै पवेलियन फर्काए।

दोस्रो ओभरमा विपिन खत्रीले कप्तान पारस खड्कालाई विकेटकिपर सुबेन्दुर पाण्डेबाट क्याचआउट गराए। तेस्रो नम्वरका ब्याटिङ गरेका आसिफ शेखले १३ बलमा ४ चौका प्रहार गर्दै १९ रन बनाए। आसिफलाई शक्ति गौचनले कायल कोत्जरको हातबाट क्याचआउट गराए। आसिफले तेस्रो विकेटका लागि स्मिथ पटेलसँग २३ रनको साझेदारी गरे। स्मिथ पटेलले ८ रन बनाएर आउट भए। रोलेफ भान डेर मर्वेले ११ तथा रोविन क्षेत्रीले १२ रन जोडे। पटेललाई सुशन भारीले किशोर महतोको हातबाट क्याचआउट गराए भने मर्वेलाई बोल्ड गरे। सुमित महर्जन ४ रन बनाएर आउट भए।

नवौँ नम्वरमा ब्याटिङ गरेका करण केसीले १९ बल खेल्दै १ चौका र १ छ्क्काको मद्दतमा १५ रन बनाए। त्यसपछि बसन्त रेग्मी र पउल भान मिकेरेन १-१ रन बनाएर आउट भए भने हरीबहादुर चौहान १२ रनमा नटआउट रहे।

बलिङमा पोखराका विपिन खत्रीले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिए। पउल कघलिन र सुशन भारीले २-२ विकेट लिए। ४ ओभर बलिङ गरेका कघलिनले १८ तथा भारीले २२ रन खर्चे।

विराटनगरले भोली भैरहवासँग तेस्रो खेल खेल्नेछ। पोखराले भने शुक्रवार काठमाडौँ किंग्स ११ सँग आफ्नो चौथो खेल खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell