PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जनयुद्धसँगको कथामा सुपर मंक : मौलिक फिल्ममा बालकहरुको लोभलाग्दो अभिनय



स्वेच्छा राउत

जनयुद्धसँगको कथामा सुपर मंक : मौलिक फिल्ममा बालकहरुको लोभलाग्दो अभिनय

उमेरले १३ वर्षमा हिँडिरहेका तासी बौद्ध शिक्षाका लागि सोलुखुम्बुको जुन्बेसी गुम्बामा छन्। गुम्बाको नियम अनुसार उसले सत्य, शान्ति, बन्धुत्व, मित्रता र सद्भावको बाटो अपनाउनु पर्छ। कडा अनुशासन पालन गर्नुपर्छ।

तर, उनी गुम्बाबाट भागेर परपर गाउँमा अरु मानिसहरुको भिडमा मिसिएर 'एक्सन फिल्म' हेर्न जान्छन्। सिनेमाको हिरोले जस्तै फाइट सिक्न चाहन्छन्। बन्दुक बोक्न चाहन्छन्। हिरोजस्तै देखिन कपाल लामो बनाउने रहर पनि छ, उनमा।  

कस्तो देखिन्छ होला एउटा ढावाले बन्दुक समाएको दृश्य? यहाँ तासीको साहसको व्याख्या जरुरी छ।

कर्फ्यु लागेको होस् या बम् बारुद पड्किएको आवाज, उसलाई कुनै डर छैन। उनी फिल्म हेर्न निस्कन्छन्। बाटोमा अरुले सुसेलेको देखेपछि  सुसेलेरै जवाफ दिन पनि खोज्छन्। घोडा देख्दा आफैँ घोडसवार जस्तो बनेर कुद्छन् पनि। बन्दुक बोकेर बसेका आर्मी देख्दा पनि उनको व्यवहारमा कुनै परिवर्तन देखिन्न।  

त्यसैले तासी ‘सुपर मंक’ हो। 

नेपाली सेनाबाट बच्‍न गुम्बामा शरण लिन पुगेका एक बाल सैनिकको तासीले उद्दार गर्छन्। बन्दुक बोकेर छिरेको उसलाई भिक्षु बनाएर गाउँ पुर्‍याइदिन्छन्। 

कथा सोलुखुम्बुको हो। १० वर्ष लामो 'जनयुद्ध'सँग जोडेर खेन्पो सेनाङ ग्याम्जोले लघु फिल्म लेखे र निर्देशन गरे - सुपर मंक। यही फिल्मको नेपाल प्रिमियरका लागि तासी र बाल सैनिक दुवै काठमाडौंमा छन्। 

लोकार्नो फिल्म फेस्टिभल स्विट्जर्ल्यान्ड र बुसान फिल्म फेस्टिभल साउथ कोरियामा सहभागी भइसकेको सुपर मंकले पेरिसको फिल्म फेस्टिभलमा ‘बेस्ट सर्ट फिल्म’को अवार्ड जित्यो। जारी काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा देखिइएका फिल्महरुमध्ये यो एउटा प्रभावशाली फिल्म हो।  

नेपाल प्रिमियर समारोहमा लेखक तथा निर्देशक ग्याम्जोले सुपर मंकलाई आफ्नो बाल्यकालको अनुभव र सुनेको घटनाको फ्युजनको रुपमा व्याख्या गरे। 

‘म पनि गुम्बामा बस्दा त्यस्तै त थिएँ चञ्चल, उत्सुक। चाहेर नचाहेर आफ्नै अनुभवलाई उतारेको हुँ,’ उनी कथाको बारेमा सुनाउँछन्, 'पूरै चाहिँ यथार्थ घटना होइन। केही फ्याक्ट र फिक्सन मिसाएको हो।‘ 

आफूले सोचेको कथा र पात्रहरुलाई जिवन्तता दिने श्रेय भने उनी मुख्य कलाकारहरुलाई दिन्छन्। 

‘ठ्याक्कै चाहिएको जस्तै गरे। साँच्चै ढावा बनिदिए,’ पात्रहरुतर्फ हेरेर मुस्कुराउँदै भन्छन्, 'यस्तै कामको लागि म बालबालिकासँग काम गर्न रुचाउँछु। उनीहरु खाली कागज जस्तै हुन्छन्, जहाँ चाहेको कुरा लेखेर भर्न पाइन्छ।’
 
किम्फमा फिल्मको प्रिमियरपछि उनले चुनेका दुवै पात्रले निकै तारिफ र प्रशंसा बटुले। सबैले पालैपालो आफूहरुसँग फोटो खिच्न आउँदा दङ्ग देखिन्थे उनीहरु।

*** 

तासी बनेका नोरदेन लामा र बाल सैनिक बनेका किरण गौतम मिल्ने साथी हुन्। जुन्बेसी माध्यमिक विद्यालय कक्षा ६ मा पढ्ने उनीहरु १३ वर्षका छन्। एकदिन यी दुवै साइकल खेल्दै थिए। अचानक नोर्देनका बुबा कर्मसँग नयाँ मान्छेहरु आए। खेलिरहेका उनको धेरैवटा फोटो खिचे अनि केही बेर कुराकानी पनि गरे। सोधे - 'भविष्यमा तिमीहरुलाई के बन्ने मन छ?' 

नोर्देनले ‘फुटबल खेलाडी’ र किरणले  ‘हिरो’ बन्ने बताए। किरणको बोली खस्‍न नपाउँदै नोर्देनले थपे, 'म फुटबलर पनि बन्ने, हिरो पनि बन्ने।' 

उनीहरुले गुपचुप अडिसन भएको पत्तो पाएनन्। नौलो मान्छेहरु गएपछि साँच्चै फिल्म खेल्न पाउने थाहा पाए। त्यसपछि साइकल, फुटबल केही चाहिएन। एकजना बलिउड फिल्म ‘क्रिस’को ऋतिक रोशन र अर्को ‘फ्लाइङ् जेट’को टाइगर श्रफ बनेर डायलग बोल्न थाले, अग्लो ठाउँबाट हाम फाल्न, ख्याल ख्यालको कुस्ती पनि खेल्न थाले।
 
अडिसन भएको १० दिनपछि निर्देशक ग्याम्जो र टोली पुन: सोलुखुम्बु पुग्यो। फिल्म युनिटका कास्टिङः डिरेक्टर केदार श्रेष्ठले उनीहरुलाई अभिनय सिकाउँदै थिए। सुरुमै प्रष्ट पारे- ऋतिक र टाइगर होइन ढावा र माओवादी बन्न पर्ने कुरा। एकछिनलाई दुवैजना हच्किए। 

‘फिल्मको कहानी सुनाएपछि चाहिंँ मज्जा आयो। अनि माओवादी जस्तै बन्न प्राक्टिस गर्‍यौं,’ किरणले सुनाए।
 
कुरा काट्दै नोर्देनले थपे, 'तँलाई पो मज्जा आयो त मलाई त आएन नि। ताक्ले बन्नु पर्ने रे! साथीहरुको अगाडि लाज हुन्थ्यो नि होइन?’
 
कपाल नभएपछि स्कूलमा साथीहरुले जिस्क्याउने डर उनलाई थियो। तर, गुम्बाका अन्य विद्यार्थी बन्ने सहायक भूमिकामा कक्षाकै साथीहरु थिए। उनीहरुको पनि कपाल मुण्डन गर्ने थाहा पाएपछि भने राजी भए।
 
‘कपाल फेरि आइहाल्छ नि चान्स आउँदैन भनेर पुरै कपाल काट्न ओक्के भन्देको,’ उनको बोली चञ्चल सुनिन्छ।
 
दश दिनको वर्कसप र रिहर्सलपछि मात्र नोर्देन र किरण फिल्म युनिटसँग घुलमिल हुँदै गए। उनीहरुलाई वर्कसप गराएका केदार श्रेष्ठले सुनाए, ’सुरुमा त गाह्रो भयो। कहिले कपाल काट्न नमान्ने कहिले बोल भन्दा पनि नबोल्ने। उनीहरुको घरमै गएर चिया नास्ता गर्न थालेपछि बल्ल खुले।'
 
सबै तयारीपछि फिल्म मैदानमा उत्रियो, छायांकनका लागि। दुवैको सुटिङ अनुभव रमाइलो छ। रिहर्सलदेखि डबिङसम्म उनीहरुले फरक जिन्दगी बाँचे। स्वतन्त्र रहेर बसेका उनीहरुलाई पनि गुम्बाको कडा नियमहरु बुझाइयो, पालना गर्न लगाइयो। 
 
‘गुम्बामा भन्दा घरमा बस्न रमाइलो। बाबा मम्मीसँग बस्दा आफुले भन्याजस्तो गर्न पाइन्छ। त्यहाँ त नियमको पालना गर्नुपर्छ। फिल्ममाजस्तो भाग्‍न सजिलो पनि हुँदैन,’ नोर्देनले भने। उनलाई ढावा बनेर अभिनय गर्नुले ज्ञानी बन्नुपर्छ भन्ने चाहिँ बुझाएको छ। अनि, हिरो बन्न सजिलो छैन भन्ने पनि सिकाएको छ। भन्छन्, 'ट्‍वाइलेट सफा गरेको सिनका लागि ३५ टेक दिनुपर्‍यो। चिया बनाएकोजस्तो गर्न पनि ३/४ पटक लाग्यो। उड्न, घोडा चड्न, फाइट गर्न झन् कति गाह्रो हुन्छ होला है?' 

'भोलिपर्सि म हिरो बन्छु अनि कति गाह्रो हुँदोरै'छ तँलाई भन्छु,' किरणले भने। उनी हिरो बन्न चाहन्छन् किनकि उनलाई लाग्छ फिल्ममा देखिएपछि सबैले देख्छन्, सबैले चिन्छन्। उनलाई बच्चैमा छाडेर जाने आमाले पनि।

किरणको परिवार कपन, सरस्वतीनगरमा बस्थ्यो। उनलाई पारिवारिक अवस्था कस्तो थियो? आमा कस्ती थिइन्? याद छैन। तर, सानैमा आमाले छाडेर गएको थाहा छ।  तर कता? त्यो पनि याद छैन। उनी बुबा कृष्ण गौतमसँग बस्थे। कपनकै विद्यासदन स्कूलमा पढ्थे। एकदिन बुबाले पनि दोस्रो विवाह गरे। त्यसपछि भने किरणको जिन्दगी सहज रहेन। चिनजानको आधारमा कसैले उनको अभिभावकत्व ग्रहण गर्‍यो। उनी सोलुखुम्बु पुगे अनि बने सुपर मंक। 

जुन्बेसीका तेन्जी लामा र याङ्जी लामाले उनलाई सोलुखुम्बु लिएर गएका हुन्। उनीहरुले नै फिल्मका लागि किरण सिफारिस गरे। फिल्म युनिटले पनि उनमा त्यो बाल सैनिकमा खोजेजस्तै हाउभाउ देखे र अवसर दिए।
 
किरण भन्छन्, 'सुपर मंक खेलेपछि एक्टिङ अझै सिक्न मन लागेको छ। अब सुपर हिरो बन्ने हो।' 

नोर्देन र किरण स्कूलमा बिदा लिएर आएका हुन्। किम्फको कार्यक्रम सकिए लगत्तै फर्कनु छ। स्कूलका साथीहरुलाई फिल्म प्रदर्शनपछिको चर्चा सुनाउनु छ। बाबा आमालाई फोटो देखाउनु छ। 

***

शान्तिको नारा बोक्ने बुद्धको ज्ञान र आतंक मच्चाउने युद्धको समिश्रण देखाएको फिल्म अझै धेरै फेस्टिभलहरुमा देखाउने सोचेका छन् निर्देशक ग्याम्जोले। राजनीतिक एवं सामाजिक अवस्थाले बाल मनोविज्ञानमा पार्ने असरबारे बुझाउन चाहेको बताए उनले।
 
यसअघि २०७३ सालमा उनले ‘ज्या ल्हो’ बनाएका थिए। उक्त फिल्म मानवअधिकार फिल्म महोत्सवमा उत्कृष्ट घोषित भएको थियो। ग्रामिण अनि दुर्गम भेगका कथाहरुलाई फिल्ममार्फत् देखाउन सुरु गरेका उनी अन्तर्राष्ट्रिय स्तरमा नेपालको मौलिक कथाहरु पुर्‍याउन चाहन्छन्। भन्छन्, 'अझ धेरै सुपर हिरोहरु बाहिर देखिन बाँकी छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell