PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

के सचिवहरुको सरुवा गर्दैछ सरकार?



पहिलोपोस्ट

के सचिवहरुको सरुवा गर्दैछ सरकार?

काठमाडौँः गएको सोमबार अबेर मन्त्रिपरिषद् बैठक सकिएको थियो। सरकारले औपचारिक रुपमा निर्णय सार्वजनिक नगर्ने नीति लिएपछि धेरैले के निर्णय भए भनेर चासो लिएनन्। सरकारका प्रवक्ताले प्रत्येक बिहीबार निर्णय सार्वजनिक गर्ने भएपछि त्यसबीचमा के-के निर्णय भए भन्ने तिर सञ्चारकर्मीको पनि चासो पनि कम भइसकेको थियो।

तर, मंगलबार बिहानबाट एउटा अनौपचारिक रूपमा एउटा सूचना भाइरल हुन थाल्यो। ‘सरकारका सचिवहरूको सरुवा।'

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सरकारले एकैपटक ३० जना सचिवको सरुवा गरेको थियो। त्यसयता फाट्टफुट्ट एक दुई जनाको जिम्मेवारी हेरफेर भए पनि ठूलो सङ्ख्यामा सचिवको जिम्मेवारी हेरफेर भएको थिएन। 

अनौपचारिक रुपमा बाहिरिएको सूचना सही भएको अवस्थामा अहिलेसम्म करिब एक दर्जन सचिवहरुको जिम्मेवार परिवर्तन भइसकेको हुने थियो। तर, सरकारका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा पनि नभनेको र कुनै सचिवले अहिलेसम्म सरुवाको पत्र नबुझेकाले यो हल्ला वास्तविकतामा परिणत नभइसकेको देखिएको छ।

निजामती प्रशासनभित्र चलेको चर्चा अनुसार गृह सचिव प्रेमकुमार राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगिँदैछ। राईलाई केही समयपछि मुख्य सचिव बनाउने गरी प्रधानमन्त्री कार्यालय लैजान खोजेको चर्चा सचिवहरुबीच नै हुन थालेको छ। राई तत्कालीन नेकपा एमाले निकट कर्मचारी हुन्।

गृहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट महेश्वर न्यौपाने जाने लगभग तय भएको छ। न्यौपानेको ठाउँमा काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत यादव कोइरालालाई लैजाने तयारी छ। महानगरमा सचिवको दरबन्दी सिर्जना भएपछि कोइरालालाई त्यहाँ लगिएको थियो।

सचिव लक्ष्मण मैनालीको अवकाशपछि राईलाई निमित्त मुख्य सचिव बनाउने तयारीस्वरुप उनलाई त्यहाँ लैजान खोजिएको हो। हालका मुख्य सचिव लोकदर्शन रेग्मीको कार्यकाल अझै करिब २२ महिना भए पनि उनलाई राजदूत बनाएर पठाउने र उनको ठाउँमा राईलाई बढुवा गर्ने तयारी सरकारको छ।

मुख्यसचिव रेग्मीले राजदूत पाए जाने तर देशभित्रका अन्य राजनीतिक नियुक्ति नखाने बताउने गरेका छन्। उनलाई सरकारले कुन देशको राजदूत बनाउँछ त्यो भने टुंगो भएको छैन।

रेग्मीलाई तत्काल व्यवस्थापन गरे मुख्य सचिवका प्रबल दाबेदार मानिएका मधु रेग्मी रेसबाट करिब करिब बाहिरिएका छन्। उनका लागि अनुकूल वातावरण नबनेको उनकै सहकर्मीहरू चर्चा गर्न गरेका छन्। 

सरुवाको लिस्टमा छन् अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना। ढुंगाना कहाँ पुग्छन् टुंगो छैन तर चर्चाअनुसार रक्षा वा संस्कृति, पर्यटतन तथा नागरिक उड्डयन मन्त्रालयमा उनको जिम्मेवारी तोकिने सम्भावना छ।

ढुंगानाको ठाउँमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव डा. वैकुण्ठ अर्याल वा राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मणप्रसाद अर्यालमध्ये एकजनाको सरुवा हुने तय भएको छ। दुईमध्ये वित्त आयोगका अर्यालयका लागि राजस्व प्रशासन नौलो जिम्मेवारी हुनेछ।

सहसचिवका रूपमा अर्थ मन्त्रालयमा करिब ७ वर्ष बसेका अर्यालले आर्थिक नीति विश्लेषण महाशाखा, वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा, बजेट तथा कार्यक्रम महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखका रूपमा काम गरेका छन्।

योजना आयोगका सचिव अर्याल राजस्वकै बलिया क्याडर हुन्। हालका अर्थसचिव डा. राजन खनाल महानिर्देशक र अर्याल उपमहानिर्देशकका रूपमा आन्तरिक राजस्व विभागमा बस्दा नक्कली भ्याट बिल छानबिन गरेका थिए।

पर्यटनका कृष्णप्रसाद देवकोटालाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गर्ने तयारी भएको छ। यद्यपि, उनले आफू त्यसका लागि तयार नरहेको निकटस्थहरूसँग बताउने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell